NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अस्ट्रेलिया बसेर नेपालमा हाजिर हुने उपसचिवलाई बर्खास्त गर्ने प्रक्रिया सुरु

काठमाडौं । अस्ट्रेलिया बसेर नेपालमा कीर्ते हाजिर हुने नेपाल सरकारका पशुपन्छी सेवातर्फका उपसचिव डा. नवीन उपाध्याय घिमिरेमाथिको कारबाही प्रक्रिया अघि बढेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै पशु सेवा विभागमा पदाधिकार रहेका डा. घिमिरेलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको हो ।

डा. घिमिरे गत भदौ ५ देखि लगातार ९० दिनभन्दा बढी समय बिना जानकारी अनुपस्थित भएकाले माघ २ गतेको सचिवस्तरीय निर्णयानुसार उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा गत शनिबार जारी सूचनामा डा. घिमिरेलाई सजाय हुन नपर्ने उचित आधार र कारण भएमा त्योसहित १५ दिनभित्र उपस्थित हुन भनिएको छ । अन्यथा निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही हुने मन्त्रालयले मन्त्रालयले स्पष्ट पारेको छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) मा कुनै कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय आफू पदाधिकार रहेको कार्यालयमा लगातार अनुपस्थित भएमा सेवाबाट हटाउन सकिने उल्लेख छ ।

गत चैत २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अस्ट्रेलिया प्रवेश गरेका डा. घिमिरे तत्पश्चात विभागमा उपस्थित नभए पनि विभागको म्यानुअल हाजिरी रेकर्डमा ०८२ असार २९ देखि ०८२ साउन ९ गतेसम्म उनी हाजिर भएको रेकर्ड फेला परेको थियो । उक्त हाजिरीमा डा. घिमिरेको हस्ताक्षरसमेत फरक–फरक रहेको भेटिएको तथ्य नेपालवाचले यसअघि नै प्रकाशित गरिसकेको छ । स्रोतका अनुसार पशु सेवा विभागका तत्कालीन महानिर्देशक डा. राम नन्दन तिवारीकै मिलेमतोमा यो घटना भएको थियो । यसबारे सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन तथा प्रसारण भएपछि मन्त्रालयले डा. तिवारीलाई त्यहाँबाट हटाएर नयाँ महानिर्देशक नियुक्त गरिसकेको छ । ख

कीर्ते हाजिर गर्ने र गराउनेमाथि कारबाही हुनुपर्ने माग राख्दै विभागका कर्मचारीले राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा समेत उजुरी दिएका छन् । तर हालसम्म कीर्ते गर्ने उपसचिव र त्यो कार्यलाई साथ दिने कर्मचारीमाथि भने हालसम्म कुनै कारबाही भएको छैन ।

महसुर उपसचिव : बसाइँ अस्ट्रेलियामा, हाजिर नेपालमा