NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

हिउँदेवर्षाले ल्यायो हुस्सु र कुहिरो, जनजीवनदेखि उडानसम्म प्रभावित

काठमाडौं । हिउँदेवर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ । वर्षाले निम्त्याएको हुस्सु र कुहिरोले चिसो बढाएपछि जनजीवन प्रभावित भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको जनाएको छ ।

वर्षासँगै हुस्सु र कुहिरो लाग्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढेको छ ।

हुस्सु र कुहिरोका कारण हवाई उडानसमेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहानदेखि उडान तथा अवतरण हुन सकेको छैन । त्यस्तै, भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलको उडान प्रतिकूल मौसमका कारण प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा अहिले पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यही मौसमी प्रणालीका कारण बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना देखिएको छ । तराई भू–भागका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो रहनेछ। यी क्षेत्रमा अहिले पनि हुस्सु र कुहिरो लागिरहेका छन् ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसमी बुलेटिनअनुसार आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु जारी नै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा भने रातिको समयमा हल्का हिमपात र वर्षाको सम्भावना औंल्याइएको छ ।