NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

इरानलाई ‘ढुंगे युग’मा फर्काइदिने ट्रम्पको चेतावनी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कडा अभिव्यक्ति दिँदै ह्वाइट हाउसबाट सम्बोधन गरेलगत्तै विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ । यो सम्बोधन इरानमा जारी युद्धसँग सम्बन्धित थियो ।

ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र इरानमा कडा सैन्य कारबाही हुने चेतावनी दिएका छन् । ‘हामी उनीहरूलाई अत्यन्त कडा प्रहार गर्नेछौं,’ भन्दै उनले इरानलाई ‘ढुंगे युग’मा फर्काइदिने अभिव्यक्ति समेत दिएका छन् ।
बीबीसीका अनुसार, ट्रम्पले सम्बोधन सुरु गर्नुअघि बेंचमार्क ब्रेन्ट क्रुड तेलको मूल्य करिब प्रति ब्यारेल १०० डलरको हाराहारीमा थियो । सम्बोधन समाप्त भएपछि भने तेलको मूल्य करिब ४ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल १०५.३८ डलर पुगेको छ ।

ट्रम्पले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) सम्बन्धी कुनै घोषणा गर्न सक्ने अपेक्षा गरिएको थियो । तर त्यसबारे कुनै अपडेट नआएपछि तेलको मूल्य बढेको देखिएको बीबीसीले जनाएको छ ।

होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने विश्वको करिब २० प्रतिशत ऊर्जा व्यापार यही साँघुरो समुद्री मार्गबाट हुने गर्छ ।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले संयुक्त आक्रमण सुरु गरेयता यो मार्ग लगभग बन्दजस्तै अवस्थामा छ, किनकि इरानले अमेरिकी र इजरायली हवाई आक्रमणको जवाफस्वरूप यस मार्ग हुँदै जाने जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष