कुमा : समलिङ्गी पुरुषलाई मात्र राख्ने जेल

काठमाडाैं । कुमा जेल, अष्ट्रेलियाको सबैभन्दा चिसो र स्वच्छ हावा भएकाे एक सहरमध्येमा बनेकाे जेल हाे । न्यु साउथ वेल्सकाे कुमा सहरमा धेरै यस्ता गम्भीर रहस्यहरु रहेका छन् ।
कुमा जेल सन् १९५७ मा समलिङ्गी पुरुषहरुलाई कैद गर्ने विशेष उद्देश्यका साथ खोलिएको थियो । यसको एउटै उद्देश्य समाजबाट समलैंगिकता हटाउनु थियो ।
हालै सार्वजनिक नयाँ पोडकास्टका अनुसार कुमा जेल संसारको एकमात्र समलिङ्गी जेल थियाे । यस कारागारमा समलिङ्गी कैदीहरूलाई अलग्गै राख्नुको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन । धेरै कारागारका कर्मचारीलाई पनि यसबारे थाहा छैन ।
अहिले ६६ वर्ष पुगेकी लेस स्ट्रेजेलेकी १९७८ मा हिरासत सेवा अधिकारीको रुपमा जेलमा काम गर्थिन् । पछि उनले कुमामा ‘करेक्टिभ सर्भिस म्युजियम’ पनि स्थापना गरिन् । सुरक्षालाई ध्यानमा राखेर बन्दीलाई त्यहाँ राखिएको उनकाे विश्वास छ ।
‘कुमा एक सुरक्षा निकाय थियो । हामीले समलिङ्गी कैदीहरूलाई रातो एन\ए स्ट्याम्प लगाएर राख्थ्यौं । उनीहरूलाई सामान्य जेलमा राख्न सकिँदैन भन्ने यसको अर्थ हुन्थ्यो । उनीहरू सिड्नीको लङ वे जस्ता प्रमुख जेलहरूमा हिंसाको जोखिममा थिए,’ उनी भन्छिन् ।
यस कारागारमा कार्यरत क्लिफ न्यूले यहाँ कैदीहरूलाई कडाइका साथ राखिएको दाबी गरेका छन् । उनले पोडकास्ट शृंखला ‘द ग्रेटेस्ट मेनेस’ सँग भने, सन् १९५७ मा जेल पुनः खोलिएपछि मनोवैज्ञानिक र मनोचिकित्सकहरू त्यहाँ पुगेका थिए । कैदीहरूलाई धर्म परिवर्तन गर्ने उद्देश्यले त्यहाँ एकल कक्षमा राखिएको उनको बुझाई छ ।
ऐतिहासिक अभिलेखअनुसार न्यू साउथ वेल्सका न्यायमन्त्री रेग डाउनिङले कुमा जेलको स्थापना गरेका थिए । उनले सन् १९५७ मा सिड्नी मर्निङ हेराल्डबाट आफ्नो यस परियोजनाप्रति खुशी व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘युरोप वा अमेरिकामा समलिङ्गी पुरुषलाई अन्य कैदीबाट अलग राख्ने जेल छैन ।’
रेग डाउनिङले सन् १९५८ मा पत्रकारलाई दिएको वक्तव्यमा कुमा जेल समलिङ्गी कैदीलाई राख्न बनाइएको विश्वको एउटामात्रै जेल भनिएको थियो ।
सन् १९८४ सम्म न्यू साउथ वेल्समा समलैंगिकतालाई एक अपराध मानिन्थ्यो । कुमा जेलमा समलैंगिकतासँग सम्बन्धित मुद्दाका कैदीलाई त्यहाँ राखिन्थ्यो । सन् १९५५ मा राज्यले बनाएको नयाँ कानुनले कुनै एक पुरुषले अर्को पुरुषसँग सम्बन्ध राख्नु अपराध मानिन्थ्यो ।
समलैंगिक सम्बन्ध भएका व्यक्तिलाई १४ वर्षको जेल सजायकाे प्रावधान थियो । यसको प्रयास गर्ने व्यक्तिलाई ५ वर्षको सजाय तोकिन्थ्यो ।
वोडरस्पून र पोडकास्ट दुबैले प्रमाण उद्धृत गर्दै प्रहरीले पुरुषहरूलाई समलिङ्गी कार्यमा पक्राउ गर्न ‘प्रोभोकेटर एजेन्ट’ को रूपमा काम गरेको बताउँछन् ।
वोदरस्पुनले दाबी गरेको छ, ‘सामान्यरुपमा सार्वजनिक शौचालयमा यौन सम्बन्ध राख्ने प्रलोभन दिएर समलैंगिक पुरुषलाई फसाउने गर्थे ।’
सन् १९५८ मा न्यु साउथ वेल्स सरकारले समलैंगिकताको कारण र उपचार गर्न परीक्षणका लागि एक समिति बनाएको थियो । त्यस समितिमा मेडिसिन, मनोचिकित्सा, दण्डशास्त्र र सामाजिक तथा नैतिक कल्याण क्षेत्रका विशेषज्ञ समावेश थिए । यसमा दुई पादरी, दण्डप्रणालीका दुई वरिष्ठ कर्मचारी र सिड्नी विश्वविद्यालयका दुई शिक्षाविद् पनि सामेल थिए ।
त्यस जेलमा कहिलेदेखि समलैंगिक कैदीलाई राख्न छोडियो भन्ने पत्ता लागेका छैन ।
प्रतिक्रिया