मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
लमजुङ – लमजुङको डुम्रेदेखि बेँसीशहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०२९ सालमा निर्माण सुरु भएको ‘डुम्रे–बेँसी’ शहर ४२ किमि सडक २०४६ सालमा खुलेको थियो भने २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो । डुम्रे–बेँसीशहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न जनताले जताततै हारगुहार गरे पनि हालसम्म सडक स्तरोन्नति गर्ने काम अघि बढ्न सकेको छैन । उल्टै वर्षा मौसममा निर्माण कम्पनीले जथाभावी निर्माण सामग्री, थन्क्याएर राखिदिएका कारण सडक आवतजावतमा यात्रुहरूले थप कठिनाइ व्यहोर्नुपरेको छ ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने यो सडकका कारण व्यहोर्नुपरेको कष्ट कहालीलाग्दो भएको यहाँका स्थानीयले गुनासो गर्ने गरेका छन् । पछिल्लोपटक जनताको हारगुहारपछि भने डुम्रे–बेँसीशहर–चामे सडक तनहुँको भानु नगरपालिका– ३, चाम्बासदेखि बाइसजागर खण्डको करिब ८ दशमलव ९ किलोमिटर दुई लेनमा विस्तार भइरहेको छ ।
‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,’ यात्रु सरिता गुरुङले बताइन् । ‘वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,’ सवारीचालक नारायण घिमिरेले भने ।
डुम्रे–बेँसीशहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले सडक पिके निर्माण सेवा काठमाडौंसँग २०८२ साल जेठमा कार्यसम्पन्न गर्ने गरी सम्झौता भएको बताउँछन् । दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म काम सकिएको छैन । सडकको निर्माण लागत ७२ करोड रहेको छ । निर्माणका लागि संघीय सरकारले बजेट उपलब्ध गराएको थियो ।
डुम्रे–बेँसीशहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो । यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीशहर हुँदै यात्रा गर्ने गर्छन् ।
ताजा अपडेट
-
श्रम निरीक्षणमा अस्पतालहरूमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन कमजोर भेटियो
-
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
-
मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति
-
तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
-
यो विश्वकप मेरो अन्तिम हो तर आशा गर्छु भोलिको खेल अन्तिम हुने छैन : रोनाल्डो


प्रतिक्रिया