NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ११ गते

भारी वर्षाको सम्भावनापछि तीन संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम

काठमाडौं – भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकका लागि नयाँ सुरक्षा व्यवस्था लागू गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जल तथा मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पर्यटक तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

आयोजनाका अनुसार तीनवटै संरक्षण क्षेत्रका लागि प्रवेश अनुमति पत्र असोज ११ गते दिउँसो १२ बजेदेखि मात्र जारी गरिनेछ। अनुमति पत्र प्राप्त गरेका पर्यटकलाई समेत असोज १२ गते बिहान पदमार्गको अवस्था र मौसमको मूल्याङ्कन गरेपछि मात्र संरक्षण क्षेत्रमा प्रवेश दिइने व्यवस्था गरिएको छ।

मनसुनका कारण पदमार्गको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले जोमसोम, मुक्तिनाथ, घान्द्रुकलगायत छोटो दूरीका गन्तव्यबाहेक अन्य ट्रेकिङ क्षेत्रमा जाने पर्यटकले अनिवार्य रूपमा इजाजत प्राप्त ट्रेकिङ गाइड साथमा लैजानुपर्ने आयोजनाले जनाएको छ।

आयोजनाले पदयात्रामा जानुअघि सम्बन्धित क्षेत्रको मौसम तथा पदमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रतिकूल मौसम र जोखिमपूर्ण पदमार्गको अवस्था देखिएमा यात्रा स्थगित गर्नसमेत आयोजनाले अनुरोध गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष