दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं – बडादसैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या पाँच लाखको नजिक पुगेको छ। घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातका साधनमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ।
पछिल्ला दिनहरूको तुलनामा आज बाहिरिने यात्रुको संख्यामा केही कमी आएको छ। हाल गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा यात्रुको चाप देखिएको छ।
दसैं मनाउनका लागि सर्वसाधारण फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका हुन्।
दसैंमा आफ्नो घर गएर अभिभावकको हातबाट टीका ग्रहण गर्ने र आफन्तहरूसँग भेटघाट गर्ने परम्पराका कारण प्रत्येक वर्ष यस समयमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रहने गरेको छ।


प्रतिक्रिया