NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ९ गते

दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा बिक्री

काठमाडौं । यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा ९७ करोड रुपैयाँ बराबरका ४० हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री भएका छन्। चौपाया खरिदबिक्री सङ्घका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारोबार १९ करोड रुपैयाँले घटेको छ।

सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार गत वर्ष ५५ हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री भएकामा यस वर्ष १५ हजार कम बिक्री भएका हुन्। मागमा कमी, आपूर्ति घट्नु र मूल्यवृद्धिका कारण कारोबार प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

यस वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ८७० देखि ९२० रुपैयाँसम्म पुगेको छ। गत वर्ष प्रतिकेजी ७२० देखि ७५० रुपैयाँ थियो। च्याङ्ग्राको मूल्य भने घटेर प्रतिकेजी करिब एक हजार २५० रुपैयाँ कायम भएको छ।

खसीबोकाको मासुको मूल्यसमेत बढेर प्रतिकेजी एक हजार ७०० देखि एक हजार ७५० रुपैयाँ पुगेको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष खसीबोका बिक्री नगर्दा बजार मूल्य नियन्त्रणमा चुनौती थपिएको व्यवसायीहरूको भनाइ छ।

दसैँमा स्वस्थ चौपाया बिक्री सुनिश्चित गर्न पशु सेवा विभागले उपत्यकाका १० स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको थियो।