NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ४ गते

सुक्खायामको बिजुली संकट टार्न भारतबाट १५० मेगावाट खरिद गर्ने तयारी

काठमाडौं: आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले सन् २०२७ जनवरीदेखि मे महिनासम्म चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न लागेको हो।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ। पछिल्ला केही वर्षयता सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले भारतीय पावर एक्सचेन्जको डे अहेड र रियल टाइम मार्केटबाट विद्युत् खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोसी नदीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।

प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनलाई सिफारिस गरेको थियो। सोही आधारमा प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया थाल्न लागेको हो। यसअघि १५० मेगावाट खरिदका लागि आह्वान गरिएको प्रस्तावमा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले सबैभन्दा कम दर प्रस्ताव गरेको थियो। तर, १६ असोजमा आशयपत्र जारी भएपछि उक्त कम्पनीले भूराजनीतिक अनिश्चितता, इन्धनको मूल्यवृद्धि र भारतमा बढेको विद्युत् मागको कारण देखाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो।

राष्ट्रिय विद्युत् प्रणालीमा आगामी सुक्खायामसम्म करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिए पनि नदीको बहाव घट्दा करिब ९० मेगावाट मात्रै उत्पादन हुने अनुमान गरिएको छ। आन्तरिक उत्पादनले माग धान्न कठिन हुने देखिएपछि प्राधिकरणले नयाँ अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्ने योजना बनाएको हो।

ताजा अपडेट

नेपालवाच विशेष