एनपीएलमा होम एन्ड अवे प्रणालीबारे मन्त्रालय र फ्रेन्चाइजबीच छलफल
काठमाडौं: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासँग रङ्गशाला निर्माण तथा ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि मन्त्रालयले कार्यान्वयन मोडालिटीबारे परामर्श थालेको हो।
छलफलमा मन्त्री पोखरेलले आठवटै रङ्गशाला एकैपटक निर्माण गर्नुभन्दा चरणबद्ध रूपमा अगाडि बढ्ने योजना प्रस्ताव गरे। उनले चौथो संस्करणदेखि दुई-तीनवटा भेन्युबाट अभ्यास सुरु गरी छैटौँ सिजनसम्ममा आठवटै मैदानमा खेल सञ्चालन गर्न सकिने बताए। सरकार सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडल वा दीर्घकालीन लिजमा दिएर निर्माण अघि बढाउने विकल्पमा खुला रहेको मन्त्री पोखरेलले स्पष्ट पारे।
क्यान सचिव खड्काले टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्र तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गरे। उनले भने, ‘एनपीएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौँ। हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ। राम्रो काम गर्ने इगोमात्र उहाँहरुमा छ। त्यसैले सहकार्यमा काम गर्न असहज छैन।’
फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूले तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको खेल फ्लडलाइटसहित टियुमा खेलाउन सकिने व्यावहारिक सुझाव दिएका छन्। साथै, पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरेका छन्। उच्च लागत व्यवस्थापनका लागि ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत र आम्दानी बाँडफाँडको स्पष्ट खाका बनाउने समझदारी भएको छ।
ताजा अपडेट
-
अयोध्या-जनकपुर रेल सेवा: सर्वसाधारणले कहिलेदेखि चढ्न पाउँछन् ?
-
एनपीएलमा होम एन्ड अवे प्रणालीबारे मन्त्रालय र फ्रेन्चाइजबीच छलफल
-
नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लामा नयाँ इन्चार्ज
-
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
-
अयोध्याबाट जनकपुर आइपुग्यो सरयु-कमला एक्सप्रेस रेल

प्रतिक्रिया