नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड
काठमाडौं । मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव एवं राष्ट्रिय सेफ दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा एशोसिएशनका अध्यक्ष श्याम लामाले सातै प्रदेशमा यो कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन साना होटलदेखि तारे होटलसम्म नेपाली खानाको मेनु राख्नुपर्ने बताए । अध्यक्ष लामाले “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर अगाडि बढ्नुपर्ने कुरालाई जोड दिए ।
नेपाली आन्तरिक हवाइ उडानमा समेत नेपाली खानाको प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव छ । होटल एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली परम्परागत एवं मौलिक खानामार्फत पर्यटन प्रवद्र्धनमा लाग्नका लागि नेपाली सेफहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाली खानालाई देश–विदेशमा प्रवद्र्धन गर्नका लागि एशोसिएशनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको उल्लेख गरे ।
अभियान्ता लक्ष्मणप्रसाद भण्डारीले १२७ प्रकारका खानालाई व्यावसायीकरण गर्नसके मुलुकमा खानामार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिएका छन् । एशोसिएशनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आइरहेको छ । एशोसिएशनको तथ्यांकअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।
कार्यक्रममा सन् २०१५ मा चीनमा सम्पन्न चाइनिज कुजिङ वल्ड च्याम्पियन विजेता सेफ रेशमकुमार लामा, पदम आलेमगर, कृष्णकाजी बस्नेत र सुवर्णमान कर्माचार्यलाई सम्मान गरिएको थियो । यस्तै सेफ पेशामा २५ वर्ष पूरा गरेका वरिष्ठ सेफ र एशोसिएशनका पूर्वअध्यक्षलाई समेत सोही अवसरमा सम्मान गरिएको थियो ।
एशोसिएशनले स्थापना दिवसका अवसरमा विभिन्न जातजातिका खानालाई समेटेर ‘खाना महोत्सव’ गरेको थियो । वि.सं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनले विसं २०७२ मा सेफ्स एशोसिएशन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया