NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

बझाङको साइपालमा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

सुनिल मण्डेल (बझाङ) – गत हप्ता बिहिवार देखि लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको छ।

नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकप्टरबाट चामल साइपाल गाउँपालिका पुर्‍याइएको हो।

हेलिकप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिकाका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्‍याएको हो।

उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ। यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल चामल ढुवानी हुने भएको छ।

हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन् । स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो।

यातायातका साधन नपुगेको र भेडा च्याङ्ग्राका लागि बाटो नभएकाले हेलिकप्टरलाई गुहार्नु परेको स्थानीय तिलक विकले बताए।

अहिले साइपाल गाउँपालिकाका तीनवटा वडामा खाद्यान्न अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत अपर्झट रुपमा खाद्यान्न ढुवानी गरिएको र आगामी दिनमा समेत साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन योजना बनाएर गाउँपालिकासँग समन्वय भैरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भिम थापाले बताए।

सदरमुकाम चैनपुरबाट पैदल तीन दिन लाग्ने साइपाल गाउँपालिकामा प्रत्येक वर्ष खाद्यान्न अभाव हुने गर्दछ। त्यहाँका स्थानीयहरुको आम्दानीको स्रोत यार्सागुम्बा, भेडापालन भए पनि पछिल्लो समय वन विनासका कारण यार्सागुम्बा कम पाइने र भेडाका लागि चरिचरनको अभाव भएपछि व्यवसाय छोड्न थालेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष