NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बाँदरमुढे घटनाको १७ वर्ष : अझै हुन सकेन न्यायोचित परिपुरण

चितवन । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।

तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । सोही घटनामा पीडित बन्नुभएका माडी नगरपालिकाका कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुःखद् रहेको बताउँछन् । “घाईते हामी धेरै छौ । जम्म २२ जनाले मात्र राहत पाएका छन् । अरुले पाउन सकेका छैनन्,” उनले भने ।

घाइतेमध्ये ५० जनाले राज्यबाट सहयोग पाउन नसकेको उनको भनाइ छ । उनले थपे, “सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन् ।”

यो नाम पनि शक्तिको आधारमा राखिएको उहाँको भनाइ छ । राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उनले माग गरे ।

राहतका लागि राखिएका नाममध्ये २० प्रतिशतदेखि शतप्रतिशतसम्मको रहेको छ । शतप्रतिशत राहत पाउने दुई जना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उनले बताए ।

राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्यूरेले बताए । उनी अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको बताउँछन् । “बाँदरमुढे पीडितलाई परिपुरणको व्यवस्था मात्रै राज्यले गर्नसक्ने हो भने धेरै समस्या हल हुन्छ,” उनले भने ।

माओवादी केन्द्रका जिल्ला नेताले सो घटनालाई सामान्यरुपमा लिएकाले अहिले सम्म समस्याजस्ताको तस्तै रहेको उनले आरोप लगाए । उनले थपे, “यो घटनाको विषय जिल्ला नेताहरुले उठाउनै चाहँदैनन् । हाम्रो समस्यामा स्थानीय नेताहरु बाधक बने ।”

बाँदरमुढे पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने अहिले पनि घटनास्थलमा पुग्दा आफ्नो शरीर काप्ने गरेको बताउँछन् । उनले भने, “मेरो श्रीमतीको शव अहिले पनि त्यही छ जस्तो मलाई लाग्छ ।”

घटना भएको १७ वर्ष पुग्दासमेत राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेको उनको भनाइ छ । उनले भने, “तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई–दुई पटक प्रधानमन्त्री हुँदासमेत आफूहरुको माग सम्बोधन नहुनु दुःखद् रहेको छ ।”

पीडितले अहिले न्यायको कुरालाई पछि राख्दै परिपुणरलाई प्रथामिकता दिनसमेत आग्रह गरेका छन् । उनले भने, “पहिला घाइतेको उपचार र परिपुरणको व्यवस्था गर्नु राज्यको दायित्व हो ।”

न्याय र परिपुरण दुवै हुन नसकेको पीडितको गुनासो रहेको छ ।

नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पीडितलाई न्याय र परिपुरणका क्षेत्रमा धेरै काम भएको जानकारी दिए । पीडितहरुको मागलाई मध्यनजर गर्दै सरकारसँग आफ्नै पार्टीको पहलमा घटनास्थलमा उद्यान निर्माणदेखि स्वास्थ्योपचार, शिक्षा, रोजगारलगायतमा प्रथामिकतामा राखेर काम भइरहेको उनको भनाइ छ । उनले भने, “तत्कालीन घटनालाई देखाएर धेरै प्रचारबाजी भएका छन् । काम नभएको होइन । यो द्वन्द्वकालीन घटना हो ।”

ताजा अपडेट

नेपालवाच विशेष