क्रिप्टो करेन्सी : नेपालमा प्रतिबन्धकै बीच कारोबार मौलाउँदै

काठमाडौं । पछिल्ला दिनहरूमा भर्चुअल करेन्सी : क्रिप्टो करेन्सीमा लगानी गर्ने क्रम बढेर गएको पाइएको छ । विश्वका कतिपय मुलुकले यसलाई वैधानिकता दिइसकेका भएता पनि नेपालमा भने लगानी गर्न नपाईने व्यवस्था छ ।
तर, पनि क्रिप्टो करेन्सीमा लगानी गर्ने क्रम नेपालमा दिनप्रतिदिन बढ्न थालेको छ । सामाजिक सञ्जाल र युट्युबमा क्रिप्टो करेन्सीको कारोबार कसरी गर्ने, यसको किनबेचमा कसरी आबद्ध हुने भन्ने सिकाउने दर्जनौं पेज र भिडियो सामग्री सजिलै भेटिन्छन् ।
यही कारणले पनि नेपालभित्र र नेपाल बाहिर बस्ने नेपालीलाई यस्तो कारोबार गर्न सहज भएको छ र कारोबार पनि मौलाउँदै गएको छ ।
गत शुक्रबार मात्रै नेपाल प्रहरीले ‘भर्चुअल करेन्सी’ मा लगानी गर्ने तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले पर्वतको फलेवास घर भई पोखरामा मोबाइल पसल चलाउने २१ वर्षीय राजन भट्टराई, काठमाडौंको थापाथलीमा मोबाइलकै पसल गरिरहेका दीपेनराज श्रेष्ठ र सुनसरीको इटहरीमा बसेर शिक्षण पेसासमेत गर्दै आएका २५ वर्षीय विशाल श्रेष्ठलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
त्यसलगत्तै आइतबार नेपाल राष्ट्र बैंकले एउटा सूचना जारी गरी त्यस्ता लगानीमा प्रतिबन्ध लगाएको छ । नेपालमा रहेका विदेशीका र विदेशमा रहेका नेपालीले समेत विदेशमा लगानी गर्न नपाउने दोस्रो पटक चेतवानीसहित सूचना सार्वजनिक गरेको हो । राष्ट्र बैंकले यसअघि नै नेपालबाट विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने ऐनको व्यवस्था गरिसकेको छ ।
अवैध हुँदा पनि मनग्य आम्दानी हुुने लोभका कारण विशेष गरी युवाहरू यसमा संलग्न भएको पाइएको छ । राष्ट्र बैंकले यस्तो सूचना जारी गरे पनि नेपालभित्रै प्याक्सफुल डट कम, बिनेन्सजस्ता साइटमार्फत क्रिप्टोकरेन्सीको कारोबार भइरहेको पाइन्छ ।
कमजोर अनुसन्धान प्रणाली, प्रतिबन्धको घोषणा गरे पनि नियमन गर्ने संयन्त्रको अभावका कारण क्रिप्टो करेन्सीको कारोबार भित्रभित्रै मौलाइरहेको छ ।
प्रलोभनमा परेर कारोबारमा संलग्न
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट प्रलोभनमा परेर धेरै जना क्रिप्टो करेन्सी कारोबारमा संलग्न हुने गरेको बताउँछन् । छोटो समयमा नै धेरै पैसा कमाउन सकिने हुँदा लोभमा परेर अन्धाधुन्ध यसमा लगानी गर्नसक्ने उनको भनाइ छ ।
रेमिट्यान्स पठाउनेहरू पनि यस्तो कुराको प्रलोभनमा पर्ने गरेको उनले बताए । पछिल्लो समय नेपालमा रेमिट्यान्स घट्दो क्रममा छ । राष्ट्र बैंंकले गरेको एउटा अनौपचारिक अध्ययनलेसमेत रेमिटेन्स घट्नुको मुख्य कारणमध्ये ‘क्रिप्टो करेन्सी’मा बढ्दो लगानी भएको निष्कर्ष निकालेको छ ।
अर्को कुरा, मानिसहरूलाई यसबाट पर्न सक्ने जोखिम, कानुनी कारबाही, ठगिनेजस्ता विषयमा चेतना नभएको कारण पनि यस्तो लगानीमा हात हाल्ने गरेको डा.भट्टको विचार छ ।
यसपछिका वर्षहरूमा क्रिप्टो करेन्सीको कारोबार भित्रभित्रै मौलाइरहे पनि कोही पक्राउ परेका समाचार बाहिर आएको पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारमा राष्ट्र बैंक, प्रहरीले गम्भिर रुपमा अनुसन्धानमासमेत सक्रियता देखाएको छैन ।
उनले भने, ‘क्रिप्टो करेन्सी डिजिटल माध्यमबाट कारोबार हुने भएकाले यसबाट ठगिने सम्भावना बढी हुन्छ । अरुले सिर्जना गरेको क्रिप्टो करेन्सी जसको कुनै ‘सेन्ट्रल कन्ट्रोलसमेत छैन । मानिसहरूले यसबारे ज्ञान नभएरै लगानी गरिरहेको छन्,’ उनले थपे, ‘यो अपराध हो भन्ने थाहा नपाएकाहरू पनि हुन सक्छन् । उनीहरूलाई जानकारी दिन पनि यो सूचना जारी गर्नु परेको हो ।’
वैधानिकता दिन सकिँदैन
विभिन्न देशमा वैधानिक रुपमा कारोबार हुँदै आएको क्रिप्टो करेन्सी नेपालमा भने प्रतिबन्धित नै छ । नेपाल जस्तै बंगलादेश, चीन, बोलिभिया, भारत, रुस, भियतनामलगायतका देशमा यसलाई गैरकानुनी कारोबार मानिन्छन् ।
अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, जापान, दक्षिण कोरिया, इजरायल, टर्की, दक्षिण अफ्रिका, मलेसियालगायत देशमा भने क्रिप्टो करेन्सी वैधानिक रुपमा कारोबार हुने गरेको छ ।
नेपालमा क्रिप्टो करेन्सीलाई हालको अवस्थामा वैधानिकता दिन नसकिने प्रवक्ता डा.भट्टले बताए । ‘राष्ट्र बैंकले यस विषयलाई वैध बनाउने विषयमा छलफल गरिसकेको छैन । नेपाल सरकारले मान्यता नदिएको विषय पनि हो । अवैध विषयलाई वैधानिकता बनाउने कुनै प्रसंग नै आउँदैन नि,’ उनले भने ।
क्रिप्टो करेन्सीको कारोबारमा नेपाली मात्रै होइन, नेपालमै बस्दै आएका विदेशी पनि जोडिएका छन् । तरपनि भर्चुअल कारोबार हुने, कारोबार गर्नेको पहिचान गोप्य रहने जस्ता विशेषताका कारण क्रिप्टो करेन्सी कारोबार फस्टाइरहेको छ ।
फितलो अनुसन्धान
क्रिप्टोको कारोबारलाई अवैध घोषणा गरे पनि राष्ट्र बैंक र प्रहरीबाट यस विषयमाथि खासै अनुसन्धान भइरहेको पाइँदैन । राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर बीटक्वाइनलगायत क्रिप्टो करेन्सीको कारोबारमा बन्देज गरेको थियो ।
राष्ट्र बैंकको निर्देशनपछिका दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नलाई लगातार जसो पक्राउ गर्यो । सीआईबीले २०७४ असोज २० मा बिटक्वाइन र ग्राभिटी क्वाइनजस्ता क्रिप्टोकरेन्सीको मार्केटिङमा संलग्न रहेको भन्दै चितवन र काठमाडौंबाट सात जनालाई पक्राउ गर्यो ।
यसको सात दिनपछि अर्थात् असोज २७ मा सीआईबीले नै दोलखाको तामाकोसी गाउँपालिका ५, किर्नेटारबाट क्रिप्टोकरेन्सी माइनिङमा संलग्न भएको आरोपमा प्रशान्तप्रताप साहलाई पक्राउ गर्यो ।
त्यतिबेला प्रहरीले उनको कोठाबाट २६ थान बिटमेन माइनरलगायत सामग्री बरामद गरेको थियो । त्यसलगत्तै २०७४ कात्तिक ७ र ८ गते बिटक्वाइनको एक्सचेन्जमा संलग्न बिटसेवा डटकमका निर्देशक पुरुषोत्तम तुलाधर र अध्यक्ष राम ढकाल पक्राउ परे ।
यी सबै घटनामा प्रहरीले नेपाल राष्ट्र बैंक ऐन २०५८ बर्खिलाप हुने गरी कारोबार गरेको भन्दै मुद्दा अगाडि बढाएको थियो ।
यसपछिका वर्षहरूमा क्रिप्टो करेन्सीको कारोबार भित्रभित्रै मौलाइरहे पनि कोही पक्राउ परेका समाचार बाहिर आएको पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारमा राष्ट्र बैंक, प्रहरीले गम्भिर रुपमा अनुसन्धानमासमेत सक्रियता देखाएको छैन ।
अनुसन्धान गर्न सहज छैन
सीआइबीका प्रवक्ता श्यामकुमार महतोले क्रिप्टो करेन्सीको बारेमा पुलिसमा न्यून मात्रमा कम्प्लेन आउने गरेकाले पनि अनुसन्धान कम मात्रमा हुने गरेको जानकारी दिए । उनले भने, मान्छे पक्राउ पर्नलाई पुलिसमा सूचना अथा कम्पेलन जानुप¥यो अथवा अपराध भईसकेपछि पुलिसकहाँ जानुप¥यो, अपराधबारे कतैबाट पत्ता लाग्नुप¥यो । त्यसपछि अनुसन्धान अघि बढ्छ ।’
कहीँबाट सूचना वा जानकारी नआएसम्म अनुसन्धान अगाडि बढाउन नसकिने र क्रिप्टो करेन्सीको कारोबार व्यक्तिगत रुपमा डिजिटल एवं साइटबाट कारोबार हुने भएकाले पनि अपराधी पत्ता लगाउन असहज हुने उनको भनाइ छ ।
‘जसबम्म कहीँकतैबाट समस्या आउँदैन, व्यक्तिको आफ्नो अथाह सम्पतिको स्रोत खुल्दैन तबसम्म को मान्छे क्रिप्टो करेन्सीमा संलग्न छ, को छैन भन्ने कुरा थाहा हुँदैन,’ उनले भने ।
प्रवक्ता महतोका अनुसार क्रिप्टो करेन्सीको उजुरी पुलिससम्म आइपुग्दा पनि हामीसँग अर्को चुनौती छ । उनले भने, ‘यसको निगरानी गर्ने कुनै सफ्वेयर अथवा मेसिन हामीसँग छैन । हामीले जुन केशहरू अनुसन्धान गरेका छौं, एकाध केशहरू सूचना आएर हो, बाँकी अरु केशको अनुसन्धान गर्दै जाँदा क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबार, वालेट अथवा त्यो खालका सेटअपहरू देखेपछि हामीले अनुसन्धान गरेका हौं ।’
क्रिप्टो करेन्सीको सुरुवात सन् २००८ बाट भएको हो । प्रत्येक कारोबारमा एउटा फाइललाई प्रेषक र प्रापकका ‘पब्लिक–की’ मार्फत् तोकिएको मूल्यका भर्चुअल सिक्काको आदानप्रदान गर्ने गरिन्छ ।
जबसम्म केश पुलिसमा आउँदेन तबसम्म क्रिप्टो करेन्सीमा कस–कसको संलग्नता छ भन्ने थाहा नहुने उनी बताउँछन् । क्रिप्टो करेन्सी खुकुरीले हानेको, घाँटी काटिदिएको जस्तो प्रकृतिको अपराध नभएकाले पनि यसमा पीडित को हुन् ? भनेर ठ्याक्कै थाहा नहुने उनको भनाइ छ ।
यस्तो कारोबारमा पीडित पहिचान पनि गर्न पनि प्रहरीलाई सहज नहुने उनले बताए । यसको निगरानी गर्ने सफ्टवयर नहुनु, व्यक्तिगत बजेटबाट कारोबार गर्ने भएकाले अपराधी पत्ता लगाउन सहज पनि छैन ।
सीआइबीमा आएका उजुरीमध्ये पाँचवटा मुद्दामा अनुसन्धान गरिसकेको पनि उनले बताए । ०७२ सालपछि पनि सीआइबीले केही केशहरूमा अनुसन्धान गरिसकेकोको छ ।
भित्रभित्रै कसैले यस्तो कारोबार गरिराखेको भएपनि कुनै संकेत नभई पक्रिन नसक्ने प्रवक्ता महत्तोले सुनाए । ‘भित्रभित्रै क्राइम भएको पनि होला तर बाहिर आउनलाई त्यति सहज पनि हुँदैन । कोही व्यक्ति क्रिप्टो करेन्सीमा संलग्न भएता पनि सीआइबीले प्रमाणबिना अनुसन्धान अगाडि बढाउन सक्दैन,’ उनले भने ।
के हो क्रिप्टो करेन्सी ?
‘क्रिप्टो करेन्सी’ विश्वव्यापी भुक्तानी प्रणाली हो, जसलाई अर्को शब्दमा ‘बिटक्वाइन’ पनि भन्ने गरिन्छ । विनिमय माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी)द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्राका रूपमा यसलाई लिइन्छ । विश्व बजारमा यसलाई विनिमयको साधनको रूपमा हेरिन्छ ।
क्रिप्टो करेन्सी एक देशमा निश्चित मूल्यमा खरिद गरेर अर्को देशमा सोही बराबर भुक्तानी लिन सकिने बताइन्छ । पैसाको ‘क्वाइन वा नोट’को जस्तो उपस्थिति यस माध्यमअन्तर्गतको कारोबारमा हुँदैन ।
यसमा कम्प्युटरबाट पजलहरू हल गरेर विद्युतीय मुद्रा वा क्रिप्टो करेन्सी उत्पादन गर्ने काम गरिन्छ, जसलाई ‘माइनिङ’ भन्ने गरिएको छ ।
क्रिप्टो करेन्सीको सुरुवात सन् २००८ बाट भएको हो । प्रत्येक कारोबारमा एउटा फाइललाई प्रेषक र प्रापकका ‘पब्लिक–की’ मार्फत् तोकिएको मूल्यका भर्चुअल सिक्काको आदानप्रदान गर्ने गरिन्छ ।
अहिले क्रिप्टो करेन्सीलाई कारोबारको माध्यमको रूपमा अनलाइन वा अफलाइनमा धेरै व्यापारीहरू छन्, जसले बीटक्वाइनलाई भुक्तानीको एक साधनको रूपमा स्वीकार्ने गरेका छन् ।
पश्चिमा मुलुकमा ठुल्ठूला अनलाइन बिक्रेतादेखि साना स्थानीय पसल, बार र रेष्टुरेण्टमा विटक्वाइन चल्न थालिसकेको छ । हाल नेपालमा पनि यसको प्रयोग बढ्दै गएको छ । हाल विश्वका ६० भन्दा बढी मुलुकमा क्रिप्टो करेन्सी किन्न मिल्ने एटीएमहरू रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १२:५६:००
प्रतिक्रिया