NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

अब जग्गा धितोमा राखेर ऋण नपाइने

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो राखेर लिने ऋण नपाइने भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएसँगै अब ग्राहक सो सुविधाबाट बञ्चित हुन पुगेका छन् ।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।

मन्त्रालयले बैंक, वित्तिय संस्था वा सहकारीबाट जग्गाको धितो बन्धक पारित हुन जग्गाको वर्गीकरण गरेपछि मात्रै लिखित पारित हुने जनाएको छ । ‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नेपर्नेछ,’ मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्नुपर्नेछ ।’ उल्लिखित निर्देशनलाई देखाउँदै सोमबार र मंगलबार मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

राष्ट्र बैंकले आज सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नियमित छलफलका लागि डाँकेको छ । सो छलफलमा पनि प्रमुख कार्यकारीहरुले यसबारे कुरा उठाउने भएका छन् ।