NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रेमीकी श्रीमती कुट्ने मन्त्री वलीका अनेक फन्डा र विवादका श्रृंखला यस्ता छन्

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्यराज्यमन्त्री बिमलाकुमारी वली फेरि विवादमा तानिएकी छिन् । प्रेमीकी श्रीमती र छोरीलाई कुटपिट गरेर विवादमा तानिएपछि प्रहरीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

माओवादी केन्द्रको भातृृ संगठन वाइसियल नेपालका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा मंगलबार राज्यमन्त्री वली प्रहरीको फन्दामा परेकी हुन् ।

वली मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ सब्जीमण्डीस्थित बस्नेतको घरमा पुगेकी थिइन् । लु १ झ ५३७ नम्बरको सरकारी गाडीमा सहयोगीसहित पुगेकी उनले एकराजकी श्रीमती मीना भण्डारीसँग ‘मेरो प्रेमी एकराज खोई’ भनेर सोधेकी थिइन् । एका बिहानै मन्त्रीले गेट खेलेर भित्र प्रवेश गरी बस्नेतकी श्रीमती मीना र नाबालिग छोरीमाथि हातपात गरेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । मुख्यमन्त्रीले निर्देशन दिएपछि वलीलाई अहिले बुटवल  ल्याइएको छ । बस्नेतकी श्रीमती भण्डारीले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा जाहेरी दिएकी छिन् । उनको जोहेरी प्रहरी कार्यालय घोराहीमा दर्ता हुने भएको छ ।
०७६ मंसिर १४ गते भएको उपचुनावमा दाङको प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपनिर्वाचन जितेकी थिइन् ।

उपनिर्वाचनमा उनले ५ हजार एक सय ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार केशवराज शर्मालाई हराएकी थिइन् । ओलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वीले १९ हजार १ सय ८२ मत पाएका थिए ।

०७७ साल फागुन २३ मा एमाले र माओवादी अलग भएपछि उनी केही समय एमालेमा खुलेकी थिइन् । त्यसअघि उनी एमाले संसदीय दलको बैठक र दाङ जिल्ला कमिटीको बैठकमा पटक–पटक सहभागी भएकी थिइन् ।

प्रदेशसभाको चुनावमा उनका पति उत्तरकुमार वलीको दाङको घोराही लमही सडकखण्डको चिसापानीमा सडक दुर्घटना परी ०७५ फागुन १० मा मृत्यु भएको थियो । उत्तरकुमारले ०७४ सालको चुनावमा एमालेबाट प्रदेशसभा सदस्य जितेका थिए । पतिको निधनपछि रिक्त स्थानमा एमालेले वलीलाई उम्मेदवार बनाएको थियो ।

बुवा कालीराम र आमा लालकुमारीको कोखबाट २०४१ साल माघ २२ मा नेपालगञ्जमा जन्मेकी वलीको पुख्र्यौली घर रुकुम हो । उत्तरकुमार अध्ययनका लागि नेपालगञ्ज पुगेका बेला दुईजनाबीच माया बसेपछि उनीहरूले भागेर विवाह गरेका थिए ।

दलबदलमा सक्रिय

राज्यमन्त्री वलीका पतिको असामयिक निधन भएपछि तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै सक्रियतामा वलीलाई नेकपाकोतर्फबाट उपनिवार्चनमा उम्मेदवार बनाएको थियो । स्वर्गीय पतिको सपना साकार पार्ने जिम्मा आफ्नो काँधमा आएको भन्दै उनले मतदातासँग मत मागेकी थिइन् । एमाले–माओवादी दुवैको भोटमा उनले भारी मतले निर्वाचन पनि जितिन् । तर सर्वोच्चले नेकपा बदर गरेपछि वली कहिले एमाले त कहिले माओवादीमा देखिइन् । संघमा गठबन्धनको सरकार बनेसँगै लुम्बिनी प्रदेश सरकार पनि धर्मराएको अवस्थामा माओवादी केन्द्रले वली आफ्नो दलमा रहेको दाबी गरेको थियो ।

तर उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो पति सूर्यबाट निर्वाचित रहेकाले आफू पनि एमाले संसदीय दलमा रहेको जानकारी दिएकी थिइन् । आफू माओवादी केन्द्र प्रवेश गरेको भ्रममा नपर्न आग्रह गरेकी थिइन् । गत साउन १४ देखि केही हप्ता माओवादीको सम्पर्क बाहिर रहेकी थिइन् । वली सम्पर्कविहीन भएपछि एमालेले अपहरण गरेर आफ्ना सांसद बन्धक बनाएको आरोप लगाउँदै लुम्बिनी प्रदेश सभा सचिवालय, जिल्लाप्रशासन कार्यालय दाङलगायत निकायमा उजुरी दिएका थिए ।

माओवादी प्रवेश

गत साउनमा एकहप्तादेखि माओवादी पार्टीको सम्पर्कविहीन भएकी वली वाइसिएल नेता एकराजको सहयोगमा पुन ः माओवादी फर्किएकी थिइन् । साउन २० मा एक विज्ञप्ति जारी गर्दै आफू केही समय आरामको लागि नेपालगञ्ज आफन्तको घरमा गएर बसेको दाबी गरेकी थिइन् ।

मुख्यमन्त्रीमाथि शरिर बन्धकको आरोप

माओवादी लुम्बिनी प्रदेशसभा दलको सम्पर्कमा आएपछि उनले पत्रकार सम्मेलन गरी आफूलाई तत्काली मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएकी थिइन् । उनले एक कर्मचारीको सहयोगमा भागेर पार्टीको सम्पर्कमा आएको दाबी गरेकी थिइन् । अन्ततः गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार रहेका माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीलाई विश्वासको मत दिएकी थिइन् । गठबन्धनलाई विश्वासको मत दिएर एमालेको सरकार ढाल्न सहयोग गरेको पुरस्कारस्वरुप वलीले राज्यमन्त्री पुरस्कार पाएकी थिइन् । वलीको सांसद पदको विवाद अहिले पनि अदालतमा विचाराधीन रहेको छ ।

प्रेमीसँगको चुम्बन काण्ड

गत भदौमा वाइसिएल नेता बस्नेतसँग चुम्बन गरेको फोटो सार्वजनिक भएपछि राज्यमन्त्री वली विवादमा तानिएकी थिइन् । एमाले र माओवादीभित्र यस विषयले खैलाबैला नै मच्चिएको थियो । चुम्बनको विषयलाई लिएर उनले एक विज्ञप्ति जारी गर्दै साइबर स्यालहरूले आफूलाई अप्ठ्यारो पार्न फोटो इडिट गरेको आरोप लगाएकी थिइन् । फोटोसपबाट फोटो इडिट गरी मेरो चरित्र हत्या गर्न खोजेका छन् । म त्यसप्रति कडा शब्दमा निन्दा गर्छु । यस्तो गतिविधिमा आफू संलग्न नभएको र सार्वजनिक फोटो देखेर म अफै आश्चर्य चकित रहेको छु’, उनले विज्ञप्तिमा उल्लेख गरेकी थिइन् ।

बस्नेतले पनि आफ्नो फेसबुक ह्याक गरी फोटो इडिट भएको स्पष्टिकरण दिएका थिए । नाताले आफ्नो दिदी भएको जिकिर गर्दै उनले राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनले समचारको खण्डन गरेका थिए ।

वलीमाथि अदालतमा अंश मुद्दा

परपुरुषसँग विवाहहेत्तर सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि राज्यमन्त्री वलीमाथि उनका दुई नाबालक छोराहरूले अंश मुद्दा दायर गरेका थिए । उनका छोरा प्रणय वली र दिवाकर वलीको तर्फबाट उनका साईंलो बुवा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा भदौ ३ गते मुद्दा दायर गरेका हुन् । दायर मुद्दामा पुख्र्यौली सम्पत्ति हिनामिना हुने देखिएको र नाबालक छोराहरूको संरक्षण गर्नु अभिभावकको दायित्व भएको निवेदनमा उल्लेख छ ।

 

यस्तो छ उनले जारी गरेको विज्ञप्ति

प्रेश बिज्ञप्ती
आदरणीय संचारकर्मी मित्रहरु,
मितिः २०७८।४।२१ म लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी खत्रीको सवालमा गएको साउन १५ गते देखि आज सम्म आम संचार माध्यम र सामाजिक संजालहरुमा मेरो राजनीतिक जिवनलाई असर गर्ने भ्रमहरु र केहि सत्य कुराहरु आएका छन् । म यसै पत्रकार सम्मेलन मार्फत घटना विवरण सहित स्पष्ट पार्न चाहन्छु ।

म बिमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य हूँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार म निर्वाचित भएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भै पुनः पुर्ववत अवस्थामा नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाल) कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा (माओवादी केन्द्र) रोजी सोही दलको लुम्बिनी प्रदेश सभा दल सदस्यता २०७८ बैशाख १७ गते प्राप्त गरी बैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु ।

म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भैसके पछि नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरुबाट एमाले पार्टीमा आउन पर्यो भनेर बारम्बार दवाव आउन थाल्यो । यो दवाव निरन्तर जारी रहयो, मैले त्यसलाई निरन्तर ईन्कार गरिरहें। यहि क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानिय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरी उहि दवाव दिन थाल्नु भयो । मैले फेरी पनि ईन्कार गरें । म बिरामी छु, उपचारको लागि नेपालगन्ज जाँदैछु, जानदिनुस् भन्दा प्रमुख सचेतक भुमेश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, संगै जाऔं हामी नै पुराई दिन्छौं भन्नु भयो । उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडिमा बसें । गाडि तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानु भयो । गाडिमा बसियो तर गाडि नेपालगन्ज तिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्न भयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नु भयो एक पटक मुख्यमन्त्री ज्युलाई भेट्नु पर्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो।

मुख्मन्त्री शंकर पोखरेलसंग भेट भई छलफल शुरु भयो । फेरी उही दवाव शुरु भयो नेकपा ( एमाले) मा आउनु पर्यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् ! भनेर विभिन्न प्रलोभन देखाइयो । मैले निरन्तर ईन्कार गरिरहें । साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें । साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढनै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुइ तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो । यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छ भनेर सोचेको थिएं,तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो । २० गते बिहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरे।

दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगें, जहाँ मेरो आफनै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें । त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिन । आज तपाईं संचारकर्मीहरु मार्फत जनता सामु उपस्थित भएको छु।
राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्यो । नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन । मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्दथें । तर त्यस्तो व्यावहार पाइएन।

आदरणीय संचारकर्मी मित्रहरु र आम जनसमुदायहरु, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ । म मेरो दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) प्रति पूर्णप्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो हुन भनेर जानकारी गराउँदछु । अन्त्यमा, मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
मा. विमला कुमारी खत्री
प्रदेश सभा सदस्य
लुम्बिनी प्रदेश दांग ३(ख)

 

ताजा अपडेट

नेपालवाच विशेष