दाताले दिएको एक करोड ८६ लाखको ‘बायो ग्यास प्लान्ट’ नौ वर्षदेखि अलपत्र

काठमाडौं महानगरपालिकाले फोहोरबाट मोहर उत्पादन गर्ने लक्ष्यसहित ल्याएको ‘बायो ग्यास प्लान्ट’ नौ वर्षदेखि अलपत्र छ । एक करोड ८६ लाख मूल्यको उक्त मेसिन हाल टेकुस्थित महानगरको वातावरण विभागमा प्रयोगविहीन अवस्थामा छ ।
काठमाडौं महानगरमा फोहोर उत्पादन बढ्दै जान सक्ने अवस्था मध्यनजर राख्दै ०७१ मा दाताको सहयोगमा प्लान्ट भित्र्याइएको थियो । जसबाट बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिन्छ । यसमा सहरभित्रको अधिकांश फोहोरलाई बिजुली निकाल्न प्रयोग गर्न सकिने अनुमान पनि गरिएको थियो ।
०७१ मा युरोपेली युनियन (इयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैँले व्यहोर्ने गरी एक करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो । ०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । त्यसयता भने सो प्लान्ट बन्द छ ।
फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर आसपासका सरकारी भवनमा वितरण गर्न सकिने लक्ष्य राखिए पनि योजना सफल हुन सकेन । हाल मेसिन खिया लागेर नचल्ने अवस्थामा पुगिसकेको छ । महानगरका वातावरण विभाग प्रमुख सरिता राईले प्लान्ट मेसिन प्रयोगविहीन अवस्थामा रहेको बताउँदै त्यसलाई कसरी चलाउने भन्ने योजना नै नभएको जानकारी दिइन् ।
‘हामीले यसलाई प्रयोग गर्न जानेनौँ, यसको प्रयोजनका लागि छुट्टै प्राविधिक टोली चाहिन्थ्यो,’ उनले भनिन्, ‘प्राविधिक टोली नहुँदा र त्यसको फाइदाबारे यसअघि नै नसोच्दा महत्वपूर्ण उपकरण प्रयोगविहीन भएर थन्किएको छ ।’ उनले दैनिक प्रयोगमा ल्याउन सकेको भए दैनिक काठमाडौंको चार सय मेट्रिकटन फोहोर सो मेसिनले नै खपत गर्न सक्ने बताइन् ।
तर, फोहोर खपत गर्ने मेसिन बिग्रिँदा काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । हाल काठमाडौंमा दैनिक करिब हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरको केही प्रतिशत पनि काठमाडौंमा खपत गर्न सकिने अवस्था छैन । कम्तीमा उक्त मेसिनले काम गरेको भए काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा केही सहज हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनका अनुसार मेसिन के–केमा प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा अहिले पनि अलमल भइरहेको छ । ‘यो कसरी चल्छ र यसबाट कसरी फाइदा लिने भन्नेमा हामीलाई राम्ररी जानकारी छैन,’ उनले भने, ‘यसको सदुपयोगबारे अध्ययन भएपछि मात्रै हामीले यसलाई सञ्चालनमा ल्याउन सक्छौँ ।’ उनका अनुसार यो मेसिनलाई बिजुली उत्पादन मात्रै नभएर ग्यासलगायत अन्य नवीकरणीय ऊर्जा उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया