NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

प्रतिनिधिसभामा एमालेकाे स्पष्टीकरण, ‘अध्यादेश र विधेयक उस्तै होइन’

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताए । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उनले गुनासो गरे ।

एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरित रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराए । दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भएपनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उनले आपत्ति प्रकट गरे ।

सांसद कमला रोक्काले केही दिन पहिले पूर्वी रुकुममा भएको सडक दुर्घटनाप्रति सदनलाई जानकारी गराउँदै सडक सुधारमा ध्यान दिन नसकेकोमा सरकारको ध्यानकर्षण गराए ।

स्थानीय शहिदमार्गको सुधारमा कुनै ध्यान नदिइएको, सञ्चार सुविधा उपलब्ध गराउन चासो नराखेको तथा विद्युत् सेवा उपलब्ध गराउनका लागि कुनै पनि पहल नभएको भन्दै तत्काल ती समस्या समाधानका लागि उनले आग्रह गरे ।

ताजा अपडेट

नेपालवाच विशेष