NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल छन् ।

यस्तै नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुङ्गाना र जगत् सिम्खडा सदस्य छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको उपाध्यक्ष महराले जानकारी दिए ।

निर्वाचन केन्द्रित प्रशिक्षण

माओवादीले आगामी सङ्घीय संसद् एवं प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर देशव्यापीरूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यसका लागि यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रम सुरु हुनेछ । आज सम्पन्न स्थायी समितिको बैठकले यही भदौ ८ गते बुधबार मधेस प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सुरु हुनेछ ।

यस्तै भदौ ९ गते बिहीबार गण्डकी प्रदेशमा, १० गते शुक्रबार प्रदेश नं १ मा, ११ गते शनिबार लुम्बिनी प्रदेशमा, १२ गते आइतबार बागमती प्रदेशमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय भएको छ ।

उपाध्यक्ष महराका अनुसार भदौ १३ गते सोमबार विशेष प्रदेश समिति, १५ गते बुधबार सम्पर्क समन्वय समिति र १६ गते बिहीबार कर्णाली प्रदेश तथा १७ गते शुक्रबार सुदूरपश्चिम प्रदेशमा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष