बालकोटको दैलोमा नयाँ पाहुना : ओलीको ढाडस र सिक्का, रवीन्द्रको प्रशंसा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । दुई नेताबीच भएको यो सम्भवतः दुर्लभ भेटमध्ये एक हो ।
मिश्रले ओलीसँग आइतबार भएको भेटवार्ता सार्वजनिक गर्दै आफूहरूबीच अढाइ घण्टा कुराकानी भएको बताएका छन् ।
मिश्रका अनुसार, भेटमा दुईबीच आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, चुच्चे नक्सा संसदबाट पारित गर्नुपूर्व भोगेका जटिलतालगायत विषयमा छलफल भएको थियो ।
विविध एजेण्डामा छलफल भए पनि भेटको निष्कर्षबारे भने मिश्रले खुलाएका छैनन् ।
भेटका क्रममा ओलीले मिश्रलाई नआत्तिन भन्दै ढाडस दिएका छन् । राजनीतिमा प्रवेश गर्दाका सुरुवाती दिनमा निकै आशा गरिएका मिश्रले राजसंस्थाको पुनर्वाहलीलगायत मुद्दा अघि सारेपछि धक्का खाएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनको दलले काठमाडौं महानगरपालिकासहित देशभर लज्जास्पद नतिजा हात पारेको थियो । यो परिणामले निराश बनेका मिश्र अहिले पार्टी अध्यक्षको जिम्मेवारीबाट अलग भएर किनारामा छन् ।

‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ । जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनुहोला,’ ओलीको भनाइ उद्धृत गर्दै मिश्रले लेखेका छन् ।
ओलीले मिश्रलाई चुच्चे नक्सासहितको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहारसमेत दिएका छन् ।
अहिलेका राजनीतिक दलप्रति निकै अनुदार मिश्रले भेटका क्रममा भने ओलीको प्रशंसा गरेका थिए । धर्म संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा तपाईं कसरी जान्नुहुन्छ भनेर मिश्रले ओलीसँग सोधनी गरेका थिए । जवाफमा ओलीले आफूले निरन्तर यस्ता विषयमा अध्ययन गर्ने बताएका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया