सिट बाँडफाँट सकस : टुंग्याउन आज फेरि कार्यदल बैठक बस्दै
काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरूले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न गठन गरेको कार्यदल बैठक आज फेरि बस्ने भएको छ ।
कार्यदलले सिट बाँडफाँट टुंग्याउन नसकेपछि शीर्ष नेतालाई यो काम सुम्पिएको थियो । शीर्ष नेताबीच पनि सहमति जुट्न नसकेपछि पुनः कार्यदलमा नै फर्काइएको हो ।
दिउँसो १ बजे बस्ने कार्यदल बैठकले सिट बाँडफाँटको औपचारिक खाका तयारीको प्रयास गर्नेछ । कार्यदललाई दुई दिनभित्र सिट बाँडफाँटको विषय किनारा लगाउन भनिएको छ ।
सत्तासाझेदार दलको गत साउन ११ को बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल गठन गरेको थियो । साउनभरि सिट बाँडफाँटको विषय टुंग्याउने कार्यादेश समितिले पाए पनि उसले अझैसम्म सहमति जुटाउन सकेको छैन ।


प्रतिक्रिया