शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताएका छन् ।
उनले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको बताएका हुन् । शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न राजनीतिक उतारचढावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
“एउटा कालखण्डमा गरिएको विद्रोह, अर्को ऐतिहासिक कालखण्डमा सम्झौता गर्नुपर्ने स्थिति आयो र सम्झौता गरियो”, अध्यक्ष प्रचण्डले भने, “नयाँ प्रक्रियाबाट जाँदा नेपाली जनताको साथ सहयोगका कारण माओवादीकै नेतृत्वमा सरकार बन्यो र पहिलो क्याबिनेटमा मेरो नेतृत्वमा सरकार बन्यो र बैठकको पहिलो निर्णयमा मैले सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेँ । तर त्यो माइन्युट अहिले छैन ।
राजपत्रमा तुरुन्त निकाल्नु पथ्र्यो तर निकालिएन । त्यसबेलादेखि वामपन्थी गठबन्धन र कम्युनिष्ट एकताका बेलामा पनि जनयुद्धका तमाम शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन थियो, अहिले पनि जारी छ ।”
माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद वाग्ले कुशल र सङ्गठक शिक्षक मात्र नभएर राजनीतिक शिक्षक समेत भएको बताए । शिक्षक रहँदारहँदै पनि उहाँ आफ्नो पेशा छाडेर राजनीतिमा होमिएको स्मरण गरे ।
प्रकाशित स्मृतिग्रन्थ सम्पादक समिति संयोजक लेखनाथ न्यौपानेले शहीद सुरेश वाग्लेलाई स्मरण गर्दै उनका लेख सैद्धान्तिक र वैचारिक रहेको धारणा व्यक्त गरेका छन् । “उहाँका लेख र विचार त्यसबेला महत्वपूर्ण थिए, आज पनि शहीद वाग्लेका लेख उत्तिकै महत्वपूर्ण रहेका छन्”, संयोजक न्यौपानेले भने ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया