जंगली जनावरबाट बाली जोगाउन मुस्किल

बेदकोट । महाकालीपारि दोधारा चाँदनी नगरपालिका–१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेकी छन् । उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जंगली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनको मनमा चिन्ता पलाएको छ ।
उनको जमिन नेपाल–भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जंगल छ । सोही जंगल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उनी दिनरात टिन ठटाउने र होहल्ला गरेर जनावर धपाउनमा व्यस्त छिन् । वर्षौदेखि जंगली जनावरको समस्या झेल्दै आएको हरिना गुनासो गर्छिन् । ‘बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रात दिन जाग्राम बस्नुपर्छ’ उनले भनिन् ‘त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ ।’
हरिनाको जस्तै जंगली जनावरको दुःख जंगलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश किसानले भोग्नुपरेको छ । स्थानीयलाई जंगली जनावरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । मेहेनत गरेर लगाएको खेती भित्र्याउने समयमा जंगली जनावरले खाएर सखाप पार्ने गरेको हरिना बताउँछिन् ।
‘हरेक वर्ष खेतमा बाली लागेको देख्छौँ, तर कहिल्यै खेती घर भित्र्याउन पाएका छैनौँ’, उनले भने, ‘कहिले बाँदर, कहिले बँदेलले खाएर सकाउँछ, जीविकोपार्जनका लागि खाद्यान्न किन्नुपर्ने हुन्छ ।’ वर्षौदेखि जंगली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी नगरपालिका–१ कै जग्गु धामीको गुनासो छ ।
‘नेताहरू आउँछन्, समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ’, उनले भने, ‘अहिले पनि जंगली जनावरको समस्या ज्यूँका त्यूँ छ ।’ जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युत् तार लगाउनुपर्ने किसानहरूको माग छ । ‘ जंगली जनावरले धेरै दुःख दिएको छ, १९ कठ्ठा जमिनमा लगाएको खेती अहिलेसम्म भित्र्याउन पाएको छैन’, नरेन्द्र चन्दले भने, ‘करेन्ट तार राखियो भने केही हदसम्म जनावरलाई खेतमा आउनबाट रोक्न सकिन्थ्यो ।’
जंगली जनावर नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेकोे दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बू बताउँछन् । ‘हात्ती, बाँदर, बँदेलबाट हुने क्षति रोक्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर काम गरिरहेका छौँ, प्रभावित टोलहरूमा जनावर धपाउन पटाका दिएका छौँ”, उनले भने, ‘खेतमा उज्यालोका लागि सोलार वितरण गरेका छौँ, यद्यपि अझै जनावर नियन्त्रण गर्न सकिएको छैन ।’
मेसिन बिग्रिएकाले विजुली तार जोड्न नसकिएको उनकाे भनाइ छ । नगरप्रमुख लिम्बूले भने, ‘मेसिन बिग्रिएकाले करेन्ट तार राख्न सकेका छैनौँ, मर्मत गरेर तार छोड्छौँ ।’ (रासस)
प्रतिक्रिया