यी हुन् रसुवाका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार
रसुवा । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उमेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणानुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशभसभाका लागि नौ–नौ जना उमेदवारले आ–आफ्नो मनोनयनपत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख) मा एक–एक स्वतन्त्रसहित आठ–आठवटा राजनीतिक दलका प्रतिनिधिले मनोनयनपत्र दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।
यसैगरी नेकपा (एमाले) को तर्फबाट छोवाङ तेन्जिङ तामाङले प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन् ।
प्रतिनिधिसभाको सदस्य पदमा लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उमेदवार दिएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि जन समाजवादी पार्टी नेपालले महिला उमेदवार तय गरेको बताइन्छ ।
जिल्लाको प्रदेशसभा (क) मा गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, एकीकृत समाजवादीका सनथ देवकोटालगायत राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभा (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी) को तर्फबाट शारदाकुमार न्यौपानेलगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ ।


प्रतिक्रिया