ओलीले गोला तानेर सर्वसाधारणसँग चार घण्टासम्म के–के कुराकानी गरे ?

काठमाडौं । ४ मंसिरको चुनाव नजिकिंदै गर्दा एमाले अध्यक्ष केपी ओलीले सर्वसाधारण नागरिकसँग फोन संवाद गरेका छन् । नागरिकसँग फोन संवाद गर्ने घोषणा गरेर नम्बर टिपाउन आग्रह गरेपछि ओलीले इच्छुकमध्येबाटै गोला तानेर फोन गरेका हुन् ।
ओलीले दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाएकोमा केन्द्रीय कार्यालय ललितपुरको च्यासलबाट गोला तानेर सर्वसाधारणसँग कुराकानी गरेको उनको सचिवालयले जनाएको छ ।
फोन गर्ने क्रममा ओलीले चार घण्टा खर्चिएको उनको सचिवालयको दाबी छ ।
‘कार्यक्रममा मैंले करिब चार घन्टा टेलिफोन संवाद गरें। तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु। दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु ।’ ओलीले फेसबुकमा लेखेका छन् ।
ओलीले निर्वाचनकेन्द्रित भन्दै लाइभ डिभेटका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए । तर देउवा यस्तो विषयमा इच्छुक नभएको बुझिएको छ ।
यस्तो भएपछि ओलीले आफैं फोन नम्बर टिपाएर आफूसँग कुराकानी गर्न अपील गरेका थिए ।
ओलीले निर्वाचन अघि देशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्यसहितका विषयमा कुराकानी गरेको बुझिएको छ । पहिलो दिन एक सय जना हाराहारीसँग कुराकानी गरिएको ओलीको सचिवालयले जनाएको छ ।
के के कुराकानी गरे ओलीले ?
ओलीसँग संवाद गर्न इच्छुक दुई लाख बढीको गोला दुईवटा बोरामा हालिएको थियो । यसैबाट नमूना निकाल्दै ओलीले फोन गर्न थालेका थिए ।
‘दुई बोरामा गोला थिए । गोला तान्दा जसको नम्बर आउँछ उसैलाई फोन गरिएको हो । यसैबाट तानेर अध्यक्षले कुराकानी गर्नुभएको हो । हामी भोलि यसकाे भिडियो भोलि सार्वजनिक गर्छौ’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले नेपालवाचसँग भने, ‘फोनमा विकास निर्माण, राजनीतिक अस्थिरता, भरोसा गरेर पठाए पनि काम नभएको, अध्यक्ष ओलीले काम गर्न खोजे पनि अरुले अवरोध गरेको जस्ता विषय उठेका थिए ।’
कतिपयले भरोसा गरेर पठाएका नेताबाट आशा नभएको भन्दै ओलीसँग प्रश्न गरेका थिए । यस्ता प्रश्नमा ओलीले आफूलाई विश्वास गर्न आग्रह गरेका थिए । पौने चारघण्टा जति संवाद गर्दा ओलीले एक जनासँग १ मिनेटदेखि १० मिनेटसम्म कुराकानी गरेको बजगाईं बताउँछन् ।
अकस्मात ओलीले फोन गरेपछि कतिपयले फोन रेकर्ड नै गरेको पनि बजगाईंले जानकारी दिए । ‘नाम टिपाएका थिए । तर अकस्मात केपी ओलीको फोन आउँदा धेरैजसोले केपी ओलीको फोन आयो रेकर्ड गरौं भनेको पनि सुनिएको थियो ।’
प्रतिक्रिया