बंगुरपालक किसानलाई बजारको अभाव
कञ्चनपुर । कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव भएको छ । बंगुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बङ्गुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना संक्रमण घटेसँगै बंगुरको बिक्रीमा कमी आएको बताए । तीन करोड लगानी गरी फार्ममा उनले चार सयवटा बंगुरपालन गरेका छन् ।
‘वर्षमा झण्डै ५० लाख रूपैयाँ बढीका बंगुर बिक्री हुन्थे,’ उनले भने, ‘गएको चैतसम्म रु तीन लाख मूल्यका बङ्गुर बेचेका थियौँ, त्यसपछि बङ्गुर बिक्री हुन पाएका छैनन्, दसैँ, तिहारलगायतका चाडपर्वमा बङ्गुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।’
उनका अनुसार बंगुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बंगुर काठमाडौँसम्म लैजाने गरिन्थ्यो । यस वर्ष बंगुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै बंगुर थन्किएका छन् । बंगुरलाई चारोमात्रै खुवाउन हप्तामै एक लाख जति खर्च भइरहेको उनले गुनासो गरे । उनको फार्ममा ल्याडेस, डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायत उन्नत जातका बंगुर छन् ।
बङ्गुरका प्रतिपाठापाठी रु पाँच हजार र मासु थोकमा रु तीन सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । ‘कोरोनाको सङ्क्रमण बढेसँगै विदेश गएका युवाहरू घर फर्के”, बङ्गुरपालक गगनराज भट्टले भने, ‘बङ्गुरपालनमा लागे, पाठापाठीको त्यसबेला निकै माग थियो, त्यसमै लागे, मासु दानमा कोही लागेनन्, पाल्ने अधिक भएपछि पाठापाठीको उत्पादन अधिक भयो, मागभन्दा उत्पादन बढी भएपछि बिक्री हुन पाएन ।’
तीन वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका जोनापुरका दीपक चौधरीले पनि बंगुर बिक्री गर्न पाएका छैनन् । वैदेशिक रोजगारीबाट फर्केपछि उनले नौ लाख लगानी गरी बङ्गुर फार्म सञ्चालन गरेका हुन् । फार्ममा ४५ बङ्गुर छन् । ‘बङ्गुरका पाठापाठीसहित छवटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन्”, उहाँले भन्नुभयो, “चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ ।’
‘बंगुर फार्म सञ्चालन गरी अरुले आम्दानी गरेको देखेपछि नेपाली सेनाबाट सेवानिवृत्त भएपछि बंगुरपालन व्यवसायमा हात हाल्यौँ,’ फूलराम चौधरीले भने, ‘निकै रकम खर्च गरेर फार्म दर्ता गरी सञ्चालन गरेका छौँ, फार्ममा दर्जन बढी बङ्गुरपालेका छौँ, बङ्गुर बिक्रीका लागि तयार भएको ६ महिना भइसकेको छ, खरिदकर्ता अझै पुगेका छैनन्, बजार चहार्दै हिँडे पनि खरिदकर्ता पाएका छैनौँ, लगानी डुब्ने चिन्ताले सताउन थालेको छ ।’
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया