सुन्तला उत्पादन घट्दा किसान चिन्तित

तनहुँ । जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।
अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए ।
उनले गत वर्ष ५५ लाखको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए । यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन् ।
सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए ।
उनले गत वर्ष ३० लाखको सुन्तला बिक्री गरेका थिए । उनले भने, ‘यसपटक छ÷सात लाखको पनि कारोवार गर्न नसक्ने देखिएको छ ।’ यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उनले बताए । उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन् ।
केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन् । गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए ।
यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ । जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताए ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया