NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

८ स्थानको प्रारम्भिक मत परिणाम सार्वजनिक, रविको दल २ ठाउँमा अगाडि, माओवादी कतै देखिएन

काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएकोमा प्रतिनिधिसभातर्फ केही स्थानको मतगणना सुरु भएको छ । अधिकांश स्थानमा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

निर्वाचन आयोगका अनुसार, मतपेटिका संकलन भएर गणना हुन बाँकी रहेका क्षेत्रमा सर्वदलीय बैठक बसिरहेका छन् । केही क्षेत्रमा भने अझै मतपेटिका संकलन कार्य जारी छन् ।

नेपालवाचलाई ८ निर्वाचन क्षेत्रको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । जसमा गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी कमजोर देखिएको छ ।आठ स्थानको मत गणना भइरहँदा कतै पनि माओवादीका उम्मेदवारले अग्रता बनाउन सकेका छैनन् ।

एकाध सिटमा तालमेलबाहेक अधिकांशमा एक्लाएक्लै चुनाव लडेको नेकपा एमाले प्रारम्भिक गणनामा सुदृढ अवस्थामा देखिएको छ । उसले गणना भएका आठ स्थानमध्ये चारमा लिड गरिरहेको छ । धनुषा–३, ललितपुर–१, ललितपुर–२ र कैलाली १ मा एमालेका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका हुन् ।

गत असोजमा मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी २ स्थानमा अगाडि देखिएको छ । कास्की–२ र काठमाडौं १ मा स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि देखिएका हुन् ।

कांग्रेसका उम्मेदवार मुस्ताङ १ र भक्तपुरमा अगाडि लागेका छन् ।

एमालेसँग अलग भएर बनेको एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले पनि अहिलेसम्म कतै लिड गरेका छैनन् ।