NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

नुवाकोट अपडेट : एमाले र कांग्रेस एक/एक क्षेत्रमा अगाडि, घण्टी तेस्रो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भने दुवै क्षेत्रमा तेस्रो स्थानमा छन् ।

जारी मतगणनामा क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत ल्याएका छन् । उनलाई नजिकबाट पछ्याइरहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङले दुई हजार तीन सय २१ मत हासिल गरेका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पाटी तेस्रो स्थानमा छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार यहाँ घण्टी चिह्नमा ७०१ मत परेको छ ।

उक्त क्षेत्रमा ककनी गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ को गणना सम्पन्न भएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फ प्रदेश २ मा दुई हजार दुई सय ४७ मतगणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले नौ सय ७९ मत, नेपाली कांग्रेसका रमेशकुमार महतले आठ सय चार मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले दुई सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् ।

प्रतिनिधिसभातर्फ तीन हजार आठ सय ६० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार ७६ मत, नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले नौ सय ५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले सात सय पाँच मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढङ्गानाले दुई हजार दुई सय ५६ मत ल्याएर अग्रता कायमै राखेका छन् भने एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले चार सय २९ मत प्राप्त गरेकी छन् ।

जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।