काठमाडौं ६ मा भिमसेनदासको विरासत ढाल्ने खनाल को हुन् ?
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ भन्नेवित्तिकै कांग्रेस नेता भिमसेनदास प्रधानको किल्ला भनेर चिनिदैं आएको थियो । दुई पटकसम्म उक्त क्षेत्रबाट संघीय संसद निर्वाचत भइसकेका प्रधानको यो चिनारीलाई २०७९ को आम निर्वाचनले परास्त पारेको छ । त्यो पनि संसदीय राजनीतिमा पहिलो ‘इन्ट्रि’ गरेका अभियन्ता शिशिर खनालले भारी मतसहित प्रधानको विरासतलाई तोडेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि खनालले १४ हजार दुई सय ४ मत प्राप्त गरेर संसद छिर्ने बाटो तय गरेका हुन् । दोस्रो स्थानमा रहेका उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ९ सय ११ मत प्राप्त गर्दा अघिल्लो निर्वाचनमा विजयी प्रधान तेस्रो स्थानमा खुम्चिए । उनी आठ हजार ८ सय ५ मत प्राप्त गरी पराजित भएका छन् । यसअघि रक्षा मन्त्रीसमेत भइसकेका प्रधानले अघिल्लो चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए ।
टिच फर नेपाल हाँकेका खनालको शिक्षा सुधारको सपना
राजनीतिमा आउनुअघि नै शिक्षा क्षेत्रमा चर्चित नाम हो खनाल । उनको नेतृत्वको संस्था ‘टिच फर नेपाल’ ले नेपालका विभिन्न दुर्गममा शिक्षाको पहुँच पुर्याइरहेको छ । काठमाडौं बनस्थलीका खनालले अमेरिकाको ‘युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसन’ बाट अर्थशास्त्र र सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
पढाइ सकिनेवित्तिकै श्रीलंकाको ‘सर्वादय अभियान’ मा जोडिएका उनले त्यहींबाट शिक्षा क्षेत्रका काम गर्न थालेका हुन् । उक्त अभियान आफैं महात्मा गान्धीको विचारधाराबाट प्रभावित भएर सुरू भएको थियो । जसको उद्देश्य थियो–गाउँगाउँमा समाज रूपान्तरणका लागि श्रमदान गर्नु । सो अभियानमार्फत श्रीलंकाका गाउँमा अहिंसा र सामुदायिक विकासको अभियान चलाइरहेका उनी नेपालमा शान्ति सम्झौतापछि श्रमदानका लागि विकट गाउँमा खटिए ।
युवाहरूबाट श्रमदान गर्ने उद्देश्य उनले नेपालको आवश्यका अनुसार प्रयोग गर्ने क्रममा नै उनले आभास गरे–नेपालमा गुणस्तरीय शिक्षाको आवश्यकता । उनलाई लाग्यो, ‘शिक्षा सुधार नभएसम्म यो मुलुकमा रूपान्तरण हुनै सक्दैन ।’ यही उद्देश्यले उनले टिच फर नेपालको सुरूवात गरेका थिए ।
अहिले यो संस्थासँग जोडिने युवाले नेपालका विभिन्न ठाउँमा पुगेर शिक्षाको श्रमदान गर्छन् । संस्थालाई एउटा उचाईमा पु¥याएपछि उनले ०७४ सालको निर्वाचनपछि संस्थासँगको आबद्धता त्यागे । हाल उनका सहसंस्थापक टोलीले टिच फर नेपालको नेतृत्व गरिरहेका छन् ।
यसअघि स्वतन्त्र रूपमै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा उनी थिए । सदनमा पुगेर सार्वजनिक शिक्षा सुधार, दिगो शहरी विकासमा काम गर्ने उनको अठोट छ ।
शिक्षा क्षेत्रमा काम सुरू गरेर परिणाम पनि ल्याएका पात्र हुन् खनाल । टिच फर नेपाल अन्तर्गत भएको श्रमदानले दुर्गम भेगका विद्यार्थीको गणित, विज्ञान, अङ्ग्रेजीलगायतका विषयमा उल्लेख्य सुधार आएको छ । यो संस्थाले ०७० लेखि ललितपुरको दक्षिण भेगका १५ वटा विद्यालयमा शिक्षक पठाउँदै सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको हो ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया