NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

नुवाकोट अपडेट : १ मा हितमान निरन्तर पछाडि, २ मा सूर्यलाई घण्टीले टप्यो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार र क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

जारी रहेको मतगणनामा क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बद्री मैनालीले नौ हजार चारसय ६९ मत ल्याएर अग्रता कायम राखेका छन् । उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले आठ हजार ७४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रद्युम्न महतले तीन हजार एकसय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं. १ को प्रदेश–२ तर्फको जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार पूर्णलाल श्रेष्ठले छ हजार आठ सय ४८ मत ल्याएर अग्रता कायम राखेका छन् । कांग्रेसका उम्मेदवार रमेशकुमार महतले छ हजार सात सय नौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले एक हजार पाचसय ५१ मत ल्याएका छन् ।

२ मा गठबन्धनका उम्मेदवारको अग्रता

निर्वाचन क्षेत्र नं. २ र उक्त क्षेत्रको प्रदेश–१ मा जारी मतगणनामा सत्तारुढ पाचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । बेलकोटगढी नगरपालिकाको मत गणना हुँदा प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले नौ हजार दुई सय नौ मतको साथ सुरुवाती समयदेखिको अग्रता कायम राखेका छन् । जारी रहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले पाँच हजार आठसय ८७ मत र नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले पाँच हजार तीन सय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले आठ हजार पाँच सय ५१ मत ल्याएर अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार केशवराज पाण्डेको सात हजार तीनसय ८० मतको साथ दोश्रो स्थानमा रहेका छन् ।

नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा ६१ हजार दुईसय ९३ मत खसेको छ भने क्षेत्र नं २ मा ६७ हजार ४ मत खसेको छ । दुई वटै प्रतिनिधिसभा र त्यसअन्तर्गत एक–एक वटा प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष