भोट माग्दा गरेका वाचा पूरा गर्छु– नेता आले
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए ।
सो कार्यक्रममा उनले भने, “जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।” उनले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि उनले उल्लेख गरे ।
उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने प्रण पनि गरे । उनले भने, “अब म कुनै एक दलको मात्रै नेता होइन, सबै डोटेली जनताको नेता भएको छु, त्यसैले डोटीका जनताको हितका लागि लागिपर्नेछु ।”
सङ्घीय संसद्मा उनको यो लगातार तेस्रोपटक विजय हो । डोटी निर्वाचन क्षेत्र नं २ बाट विसं २०७० को दोस्रो संविधानसभा सदस्य विजयी उनी २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया