कहाँ पुग्यो रविविरूद्ध उजुरीमाथिको छानविन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिवार्चित प्रतिनिधिसभा सांसद रवि लामिछानको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ ।
विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउन कानुनी प्रक्रिया सुरु गरे पनि नागरिकतासम्बन्धी नियमावली पालना नगरेको उनीमाथि आरोप छ ।
गृह मन्त्रालयको रेकर्डबाट खारेज भइसकेको नागरिकता प्रयोग गरी नयाँ राहदानी लिएको, दल दर्ता गरेकोभन्दै रविविरुद्ध मन्त्रालयको गुनासो शाखामा शुक्रबार उजुरी परेको हो । लामिछानेले अमेरिकी नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता खारेज नगरेको र चुनावमा आफ्नो उम्मेदवारी दिँदा उही पुरानो नागरिकता बुझाएको विषय सञ्चारमाध्यममा छरपष्ट भएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलकाअनुसार रविविरूद्धको उजुरीमाथि प्रक्रिया अघि बढिसकेको छ ।
‘उनीविरूद्ध शुक्रबार उजुरी परेको थियो । त्यसमा हाम्रोतर्फबाट आन्तरिक प्रक्रिया सुरू भइसकेको छ,’ उनले भने, ‘प्रक्रिया चलिरहेको हुँदा अहिले नै केही भन्न सकिने अवस्था छैन ।’
खारेज भइसकेको नागरिकताको आडमा नागरिकता सम्बन्धी ऐन, निर्वाचन आयोग सम्बन्धी ऐन उल्लंघन गरेकोसम्बन्धमा अहिले निकै आलोचना भइरहेको छ ।
नागरिकता नियमावली, २०६३ अनुसार उनले खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ कानुनी प्रकृया अपनाउनु पर्ने थियो । तर यी प्रकृया रविले पलाना नगरेको आरोप छ ।
त्यसअघि निष्कृय भइसकेको नागरिकता पेश गरी निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गरेको आरोप लगाउँदै उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । रविविरुद्धको उजुरी आफ्नो क्षेत्रधिकारभित्र नपर्ने भन्दै आयोगले तामेलीमा राखेको थियो ।
नागरिकता सम्बन्धी विवाद समाधान नुहुँदै उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचित भइसकेका छन् । उनीमाथि जुनसुकै बेला कानुनी अड्चन आउने देखिन्छ । गृहमन्त्रालयले कारवाही प्रकृया अघि नबढाए उनीमाथि अदालतमा मुद्दा पर्न सक्ने कानुन व्यवसायीले बताएका छन् ।
के हुन सक्छ कारवाही ?
वरिष्ठ अधिवक्ता राम नारायण विडारीले नेपालको संविधानले दोहोरो नागरिकतालाई अंगिकार नगरेको हुँदा कसैले विदेशी नागरिकता प्राप्त गरेको खण्डमा उसको नेपाली नागरिकता स्वतः खारेज हुने बताउँछन् । उनका अनुसार विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्नुपरेको खण्डमा पुनः नयाँ नेपाली नागरिकता लिनुपर्ने हुन्छ ।
‘लामिछानेले उही पुरानो नेपाली नागरिकताका आधारमा नयाँ राहदानी बनाएको भन्नेबारे समाचारहरू सार्वजनिक भएका छन्, उनले भने, ‘यस्तो अवस्थामा राहदानी ऐन अनुसार उनले जेल सजाय भोग्नुपर्ने र नागरिकता बदर हुन्छ ।’
तर रविका कानुन व्यवसायीले नागरिकताको विषयमा मिडियाहरूले बढी खेल्न खोजेको आरोप लगाएका छन् । उनका समर्थकहरूले रविलाई फसाउन विभिन्न षड्यन्त्र गरिरहेकोभन्दै उनको पक्षमा वकालत गरिरहेका छन् ।
प्रतिक्रिया