गुल्मीको कफी जापान र फ्रान्स निर्यात हुँदै
गुल्मी । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत निर्यात हुँदै आएको छ ।
संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।
बढ्यो आकर्षण
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरेका उनीहरुले बीस हजार कफीका बिरुवा रोपेका छन् ।
‘विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ’, बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् ।
कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारी समेत दिएका छन् ।
उनीहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएका छन् । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् । आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छिन उनी ।
उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनी कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लागिकी छन् ।आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेकी छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएकी छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो’, उनले भने ।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका-५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।
कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया