नबिल बैंकको बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता, कसरी पाइन्छ यो सुविधा ?
काठमाडौं। नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। चार वर्षदेखि ग्राहकलाई बीमाको यो सुविधा दिएकोमा बैंकले पाँचौं वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको जनाएको छ।
यो बीमाअन्तर्गत योजना लागू गरेयता ३ सय ३८ ग्राहकहरुको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको बैंकले जानकारी दिएको छ। हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजनाअन्तर्गत बीमा गरेकामध्ये ३ सय ३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ।
चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिँदै आएको हो।
बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो। यो योजना सुरुदेखि नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै बैंकले यसलाई निरन्तरता दिने जानकारी दिएको हो।
मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको बताएको छ।
नबिल बैंकका अनुसार मुद्दतीबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा आवधिक जीवन बीमा हुने गरेको छ।
कसरी पाइन्छ यो सुविधा ?
यो सुविधा पाउन बचत खातामा न्युनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनुपर्ने बैंकले जनाएको छ। यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ।
नबिल बैंकले विभिन्न १३ घातक रोगहरूका लागि बीमा सुविधा दिइरहेको छ। किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार प्रिमियम रकमको भार बैंक आफैंले बहन गरिदेने विशेषता भएको यो योजनाले ग्राहकहरुलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
नबिल बैंकले यो योजनाअन्तर्गतको सुविधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको जनाएको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया