NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ज्योतिषिको त्यो भविष्यबाणी: यसरी बन्न सक्छन् देउवा सातौंपटक प्रधानमन्त्री

काठमाडौं । छैठौंपटक प्रधानमन्त्रीको दौडमा रहेका प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्री गगनकुमार थापालाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित भए । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा देउवा ६४ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी थापाले जम्मा २५ मत प्राप्त गरे । मतदानमा कुल ८९ मत खसेको थियो ।

देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल रहेका थिए ।

देउवा विजयी भएसँगै कांग्रेसमा दलको नेताको विवाद पटाक्षप भएको छ । यो सँगै देउवा छैठौँपटक पार्टीको संसदीय दलको नेता बनेका छन् । यसअघि उनी २०५१, २०५८, २०६३, २०७२ र २०७४ मासमेत संसदीय दलको नेता निर्वाचित भएका थिए । अब देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाटो खुलेको छ ।

छैठौंपटक प्रधानमन्त्री बन्ने कसरतमा देउवा

आफूलाई ज्योतिषिले सातौंपटक प्रधानमन्त्री बन्ने योग रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका उनी गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बन्ने दाउमा छन् । देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले सातौंपटक प्रधानमन्त्री बन्ने भविष्यबाणी गरेका थिए । सत्तायात्रामा प्रधानमन्त्री देउवाको एकपछि अर्को सफलताको सिँढी उक्लिएको देख्दा ज्यातिषिको भविष्यबाणी मिल्ने देखिन्छ ।

सत्ता राजनीतिको माहिर खेलाडी उनी २०४६ को बहुदल स्थापनापछि कहिल्यै पछाडी फर्किनु परेको छैन । २०४८ सालमा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा उनी ४५ वर्षका थिए । त्यही वर्ष उनी गिरिजा नेतृत्वको सरकारमा गृहमन्त्री बन्न सफल भएका थिए ।
अघिल्लो निर्वाचनमा मधेश प्रदेशबाहेक संघ/प्रदेशमा वामपन्थीले अत्याधिक बहुमत ल्याएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठबन्धनले १७५ सिटमा विजयी हुँदा कांग्रेस ६३ सिटमा खुम्चिएको थियो ।

अत्याधिक बहुमतसहित वामपन्थीको दबदबा रहेको त्यतिबेला देउवा प्रधानमन्त्री हुने कसैले कल्पनासमेत गरेका थिएनन् । तर तत्कालीन नेकपाभित्र ओली–प्रचण्डबीचको शक्ति संघर्षले ओली सरकारको अवसान भयो । आन्तरिक विवादले नेकपामात्र नभइ एमालेसमेत विभाजन भयो । ओलीले एकै कार्यकालमा दुई–दुईपटक संसद विघटन गरे । उनको कदमबाट रुष्ट भएका प्रचण्ड–माधवले त्यतिबेला प्रधानमन्त्री नबन्ने अडानमा रहेका देउवालाई उनको निवासमै पुगेर प्रधानमन्त्रीको अफर गरे । उनलाई प्रधानमन्त्री बनाउन तत्कालीन एमालेका २७ सांसदले ‘फ्लोर क्रस’ गरेर सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका थिए ।

संविधानको धारा ७६ (५) बमोजिम संसदमा कायम रहेका १४९ बहुमत सांसदको हस्ताक्षर बुझाउँदासमेत राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार गरेपछि अदालतमा मुद्दा पर्यो । संविधानको यही धारालाई टेकेर अदालतले उनलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । यसरी कल्पना नै नगरेको अवस्थामा उनी पाचौंपटक प्रधानमन्त्री बन्न सफल भए ।
२०४८ देखि लगातार संसदीय निर्वाचन जित्ने उनी एक्ला उम्मेदवार हुन् । सुदूरपश्चिमको निकै दुर्गम जिल्ला डडेलधुराबाट उम्मेदवार बनेका उनी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ विजयी भए । पटक–पटक सत्ता सम्हालेका देउवा सुशासनका क्षेत्रमा भने सधैँ आलोचित छन् ।

४९ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा ७७ वर्षको उमेरमा पनि प्रधानमन्त्री बन्न कसरत गरिरहेका छन् । नेपालको इतिहासमा पाँचपटक प्रधानमन्त्री बन्ने थोरै नेतामा पर्छन् उनी । यसअघि पूर्वसभापति गिरिजा र राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाको किर्तिमानलाई भेटाएका उनी छैठौंपटक प्रधानमन्त्रीमा निर्वाचित भएमा यसअघिका सबै किर्तिमान तोडिनेछ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देउवाले पाँचदलीय गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए । तर सरकार गठनका लागि सत्ता गठबन्धनले बहुमत संख्या अर्थात् १३८ सिट ल्याउन सकेन । एक सय ३६ सिट जितेको गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना छ ।

कांग्रेसभित्र देउवाबाहेक अन्य नेताहरूलाई प्रधानमन्त्री बाटो तत्कालका लागि अन्त्य भएपनि गठबन्धनबाट को बन्ने भन्ने विवाद कायमै छ । सत्ता गठबन्धनमा कांग्रेसले ८९, माओवादी केन्द्रले ३२, नेकपा एसले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

दलको नेतामा निर्वाचित भएपछि देउवाको अबको ध्यान गठबन्धनलाई कायमै राखि प्रधानमन्त्री बन्ने चुनौती छ । संसदको सबैभन्दा ठूलो दलको हिसाबले उनले प्रधानमन्त्रीमा आकांक्षी देखाउनु स्वभाविक देखिन्छ । तर सानो संख्यामा रहेको सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्ने चाहना देखाएपछि उनी अप्ठ्यारोमा परेका छन् । यद्यपी उनी नै प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत धेरै राजकीय पद रित्त हुने भएकाले गठबन्धन दलहरूबीच प्याकेजमै सहमतिको प्रयास जारी छ । यदि भागबाण्डमा सत्ता गठबन्धन दलहरूबीच सहमति भए पहिलो चरणमा प्रधानमन्त्री बन्न देउवालाई कुनै बाधा देखिँदैन । देउवालाई संसदीय अंकगणितले पनि साथ दिएको छ । गठबन्धनभित्र देउवाको विकल्प खोजिए पहिलो चरणमा उनी प्रधानमन्त्री बन्न निकै कठिन छ ।

यसरी बन्न सक्छन् देउवा सातौंपटक प्रधानमन्त्री

गठबन्धनको सहयोगमा पहिलो चरणमा देउवा प्रधानमन्त्री बन्न सफल भए संविधान बमोजिम उनी दुई वर्ष ढुक्कले शासन गर्न पाउँछन् । संविधान अनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि दुई वर्षसम्म संसदमा अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री बनाउन पुस १० सम्मको समय दिएकी छन् ।

संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा कुनै दलले पनि बहुमत ल्याउन नसकेकाले उनले उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएमा देउवा अबको केही दिनमा प्रधानमन्त्री नियुक्त हुनेछन् । यसरी प्रधानमन्त्रीमा नियुक्त भएको तीस दिनभित्र उनले विश्वासको मत लिनुपर्नेछ ।
यदि दुई वर्षपछि सत्ता समीकरणमा संकट आएपनि देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ । संविधानको नयाँ परिकल्पनाअनुसार चारवटा बाटोबाट सरकार बनाउन सकिन्छ ।

संविधानको धारा ७६ को उपधार १ बमोजिम संसदमा बहुमत प्राप्त दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ ।

उपधारा २(१) बमोजिम संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

उपधार ३(२) बमोजिम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको तीस दिनभित्र प्रधानमन्त्री नियुक्त हुन नसक्ने अवस्था आएमा वा त्यसरी नियुक्त भएको व्यक्तिले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले संसदको सबैभन्दा ठुलो दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । यसरी नियुक्त भएको प्रधानमन्त्रीले उपधारा ४(२) वा (३) बमोजिम तीस दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

उपधारा ५(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले (४) बमोजिम तीस दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिम कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
उपधारा ७(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके वा प्रधानमन्त्री नियुक्त हुन नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी ६ महिनाभित्र निर्वाचन हुने गरी निर्वाचन मिति तोक्नेछ ।

यसरी सत्ता गठबन्धन दलमध्ये एक दल सरकारबाट बाहिरिए वा अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेमा उपधारा ३(२) बमोजिम संसदमा सबैभन्दा ठूलो दलको हैसियतले फेरी पनि उनी नै प्रधानमन्त्री बन्न सक्छन् । अघिल्लो पाँच वर्षको कार्यकाल हेर्दा ओली नेतृत्वको नेकपाको सरकार ढलेपछि ओलीले उपधारा २(१) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सरकार जोगाउन उनले जसपाबाट महन्थ समूहलाई सरकारमा ल्याएका थिए ।

तर ओलीले तीस दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले उपधारा ३(२) बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यद्यपी ओली तीस दिनभित्र विश्वासको मत नलिइ २०७८ जेठ ७ गते मध्यराति राष्ट्रपतिसँग मिलेर संसद विघटन गरी मध्यवाधि घोषणा गरेका थिए । अहिले देउवा पनि दुई वा दुईभन्दा धेरै दलको समर्थनमा बुहमत प्राप्त प्रधानमन्त्री बन्ने हुँदा उनी पनि ओलीकै बाटोमा जाने सम्भावना देखिन्छ । त्यस्तो अवस्थामा पुनः देउवा नै प्रधानमन्त्री नियुत्त हुनेछन् भने देउवाको ज्योतिषिको भविष्यबाणी पनि मिल्नेछ ।

सत्ताको बादशाह देउवा को हुन् ?

देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील छन् । उनी पार्टीको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका थिए ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् ।

प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।

पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए ।

सोही वर्ष असोज १८ गते उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

सांसदलाई पजेरो सुविधादेखि माओवादी द्वन्द्व कालमा टाउकोको मूल्य तोक्नेमात्र नभई निर्वाचन गराउन नसकेर प्रजातन्त्र नै दरबारमा बुझाउनेसम्मको आरोप देउवामाथि लाग्ने गरेको छ । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको विवादमा २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उनी सभापति बनेका थिए । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भएका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी सभापतिमा निर्वाचित भएका थिए ।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित भए । देउवा २०७८ साल असार २९ गते पाचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् ।

त्यसयता उनी नेतृत्वकै सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गराएका छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् ।