NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रधानमन्त्री ओली विदेशी इसारामै एमाले फुटाउन उद्दत भएका होलान ?

काठमाडाैं । ‘विदेशीको प्रिय बन्न ओली कम्युनिस्ट पार्टीलाई बर्बाद बनाउन लागे’ हिजो १० जेठ साँझपख साधारण सदस्य समेतबाट बर्खास्तीमा परेपछि नेकपा (माले), नेकपा (एमाले) का संस्थापक माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमाथि सार्वजनिक रुपमा गरेको पहिलो टिप्पणी हो यो ।

रोचक के भने नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजो १० जेठमा पार्टी साधारण सदस्यबाट निष्कासन गरेका ११ जनामध्ये झलनाथ खनाल, माधव नेपाल र मुकुन्द न्यौपाने २५ जेठ ०३२ मा स्थापित अखिल नेपाल को–अर्डिनेश केन्द्र माले होस् वा ११ पुष २०३५ मा स्थापित नेकपा (माले) का संस्थापक सदस्य हुन् । मालेका १७ जना संस्थापकमध्ये यसबेला ओलीसँग उनीबाहेक ईश्वर पोखरेल मात्र साथमा छन् ।

भलै, माले स्थापना हुँदा ओली जेलमै थिए । तत्कालीन महासचिव सीपी मैनालीले जेलभित्र चिठ्ठी पठाएर मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली र ओलीलाई संस्थापक केन्द्रीय सदस्यको मान्यता दिएका थिए । यस हिसावले ओलीलाई पनि मालेको संस्थापक नै मानिन्छ ।

को–अर्डिनेशन केन्द्रदेखि मालेसम्मको संस्थापक, २०३५ देखि जेठ ०५० सालसम्म झण्डै १६ वर्ष माले, एमालेको दोस्रो नेता, जेठ ०५० देखि चैत्र ०६४ सम्म १५ वर्ष एमाले महासचिव र जेठ ०६५ देखि माघ ०६७ सम्म मुलुकको प्रधानमन्त्री भएका नेपालले ओलीमाथि लगाएको आरोपमा कति सत्यता छ ? ओलीले नेपालले भने जस्तै विदेशीको प्रिय बन्न नेपाल, खनाल, न्यौपानेलगायत संस्थापक नेताहरुलाई नै पार्टीबाट निष्कासन गरेका हुन् त ?

नेपाली राजनीतिको नसा–नसा छामेका, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की माधवकुमार नेपालको आरोपमा पूरापूर सत्यता देख्छन् । कार्कीका अनुसार असोज ०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी गठबन्धन हुँदैछ भन्ने कुरा भारत–पश्चिमा शक्तिले समयमै थाहा पाएका भए कुनै हालतमा मिल्न दिने थिएनन । उनीहरुले जानकारी नै नपाई केपी ओली र प्रचण्डले होसियारीपूर्वक गठबन्धन गरे । उनीहरुले भाँड्ने मौका नै पाएनन् ।

त्यो गठबन्धन र ३ जेठ ०७५ मा भएको नेकपाको एकता भारत–पश्चिमाहरुका लागि टाउको दुखाइको विषय थियो । किनकी त्यो राष्ट्रवादी शक्ति थियो । नेपाली राजनीतिमा त्यस शक्तिको बर्चश्व हुनु भारतको स्वार्थमा ठूलो धक्का त थियो नै, नेपाललाई अखडा बनाएर चीन घेर्न चाहने पश्चिमाहरुलाई पनि दाँतमा ढुङ्गो लागेको थियो ।

त्यस शक्तिलाई विभाजन गराउन भारत–पश्चिमाहरु साझा स्वार्थका साथ लागेका कार्की बताउँछन् । उनका शब्दमा नेकपाको एकता भत्काउन उपयोग गर्न सक्ने कमजोर कडी उनीहरुले प्रधानमन्त्री ओलीलाई नै देखे । अनि बालुवाटार वरीपरी कम्युनिष्ट आवरणमा रहेका भारत–पश्चिमाद्धारा पालित÷पोषितहरुलाई परिचालित गरेर प्रधानमन्त्री ओलीलाई घेरावन्दी गरियो । ओलीको महत्वकांक्षामाथि खेलेर अलि अघि नेकपा र यसबेला एमाले विभाजन गरिएको कार्कीको निश्कर्ष छ ।

‘नेपालको राजनीतिको माथिल्लो तहमा पुगेका प्रायजसो नेताहरुलाई भारतीय र पश्चिमाहरुले चलाउने, खेलाउने र आफू अनुकूल प्रयोग गर्ने गरेका छन् । यस्तो औजार हुनबाट नेपालका कमै नेता मात्र बचेका छन् । पूर्व प्रधानमन्त्री नेपालले यो कटुसत्य नबुझ्ने कुरै भएन’, वरिष्ठ अधिवक्ता कार्की भन्छन्, ‘नेपाली राजनीतिमा विदेशी शक्तिहरुको चलखेललाई आफूहरुलाई निष्कासन गरेको घटनाबाट शिक्षा लिएर खनाल–नेपाल समूहले रोक्ने प्रयास कति गर्छन ? त्यसैमा उनीहरुको पनि अग्नी परीक्षा हुनेछ ।’

हुन पनि यो संयोग मात्र नहुन सक्छ । साता÷दश दिन अघिदेखि जुन बेला नेपाली राजनीतिक विवादको उत्कर्षतिर बढिरहेको थियो, भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल स्टेशन प्रमुख राघवप्रसाद यहाँ आएर आफ्नो दुतावास लैनचौरमा अड्डा जमाइरहेका थिए । अनि अस्ति ६ जेठ साँझ जनता समाजवादी पार्टीका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीलाई भेटेर त्यहाँबाट सिधैं भारतीय दुतावास लैनचौर छिरेका थिए ।

लैनचौरबाट निस्किएर त्यही राती ठाकुर–महतो राष्ट्रपतिको कार्यालय शीतल निवास पुगे । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र उनीहरुबीच लामै भलाकुसारी भएको थियो । त्यो कुरालाई ठाकुरले भोलिपल्ट १० बजे बिहान जसपा संसदीय दलको कार्यालयमा भेला भएका आफू पक्षधर सांसदलाई लुकाएनन पनि ।

‘विदेशीको प्रिय बन्न ओली कम्युनिस्ट पार्टीलाई बर्बाद बनाउन लागे’ भनेर माधव नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लगाएको आरोपमा कति सत्यता छ ? ओलीलाई नेपालले किन यस्तो आक्षेप लगाए ?

नेपालवाचको यो प्रश्नमा ओली निकट एमाले नेता एवं पूर्वमन्त्री खगराज अधिकारी पहिलो वाक्य नै यसबारेमा राधाकृष्ण मैनालीलाई सोध्न सुझाउँछन् ।

‘त्यो राधाकृष्ण मैनालीलाई सोध्नुस् न । माधव नेपालको बारेमा उहाँले लेख्नु भएकै छ त । उहाँ (माधव नेपाल) को बानी, हिमचिमले महाकालीमा पनि हामी विवादित बन्यौं र पार्टी फुट्यो । त्यति मात्रै होइन, यो चुच्चे नक्सा निकाल्नु हुन्न थियो, केपीले गल्ती गरे भनेर थापागाउँको उहाँहरुको गुटको भेलामा भन्नु भएको तपाईहरुलाई सार्वजनिक नै छ’, अधिकारी भन्छन्, ‘उहाँ (माधव नेपाल) ले जस्तो, आफू अरुलाई पनि उस्तै ठान्नु भयो होला । उहाँले आन्दोलन भाँडने, तहसनहस पार्ने, व्यक्तिगत लाभका लागि प्रतिक्रियावादीलाई प्रधानमन्त्री बनाउन लाग्नु भएको हुनाले उहाँले भनेको कुरा उहाँको व्यवहारले नै देखाएकाले धेरै कुरा भन्नै परेन नि ।’

हुन पनि एमाले केन्द्रीय सदस्य अधिकारीले भने जस्तै पूर्वप्रधानमन्त्री नेपालको सिक्काको पाटो अर्को पनि छ । नेपालले विदेशी इसारामा ओलीले आफूहरुलाई कारबाही गरेको घोषणा त गरे । सायद उनले इसारा गरेको भारत नै हो । तर, ओलीलाई कुनै समय भारतीयहरुको समीपमा नेपालले नै पुर्‍याएका तथ्यहरुले खुलाउँछन् ।

‘यो सन्धि (महाकाली सन्धि) गर्दैखेरी एमाले महासचिव माधवकुमार नेपाललाई पार्टीभित्र पछि विवाद आउँछ भन्ने थाहा थियो । महाकाली राष्ट्रियताको सवाल भएकाले सबै सदस्यहरु सजिलै सहमत हुँदैनन् भन्ने उनले राम्ररी बुझेका थिए । त्यसैले माधव सुरुदेखि नै केपी ओलीलाई आफ्नो पक्षमा पार्नतिर लागे । सन्धिकै विषयमा कुरा गर्न भारतबाट मन्त्रीस्तरीय टोली नेपाल आएको थियो । माधव नेपाल केपीलाई च्यापेर उक्त टोलीसँग कुरा गर्न भारतीय नेताहरु बसेको ठाउँमै पुगे । चलाख केपी आफूलाई शुभलाभ हुने बुझेपछि राष्ट्रहितका झमेलामा अल्झिएनन् ।’

नेपालले विदेशी इसारामा ओलीले आफूहरुलाई कारबाही गरेको घोषणा त गरे । सायद उनले इसारा गरेको भारत नै हो । तर, ओलीलाई कुनै समय भारतीयहरुको समीपमा नेपालले नै पु¥याएका तथ्यहरुले खुलाउँछन् ।

(मैनाली राधाकृष्ण, नलेखिएको इतिहास, प्रकाशकः अल्केमी पब्लिकेसन, बानेश्वर, काठमाडौं, पहिलो संस्करणः २०७३, पृष्ठ, १७७)
त्यो भन्दा अझ् अगाडि बढेर नेपाल र ओलीको संदिग्ध शैलीबारे मैनाली लेख्छन्, ‘नेपालगञ्जमा हुन गइरहेको छैटौँ महाधिवेशन (१२–१८ माघ, २०५४) को मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त महाधिवेशनमा ल्याउँदा पार्टी फुट्छ भनेर ठोकुवा गरेको थिएँ । त्यसैले महाधिवेशनमा महाकालीको मुद्दालाई मुख्य मुद्दा नबनाउन आग्रह गरे । फरकमत राख्ने साथीहरुसँग म कुरा गर्छुसम्म भनेको थिएँ, माधवसँग । केन्द्रीय समितिको संख्यामा मिलाएर भए पनि महाकाली सन्धिको मुद्दालाई महाधिवेशनमा मुल विषय नबनाउन पटकपटक प्रस्ताव गरें । मेरो भनाइ थियो, ‘फरकमत राख्ने कसैलाई पनि केन्द्रीय समितिबाट नहटाउँ । बरु त्यसका लागि केन्द्रीय सदस्य संख्या केही बढाउँ ।’

तर, बहुमतले निर्णय गरिसकेको विषय भएकाले माधवले महाधिवेशनमा आफूलाई बलियो ठाने र यो विषयलाई मुख्य मुद्दाको हैसियत दिए । त्यति मात्र होइन, माधवले केन्द्रीय सदस्य संख्या स्वात्तै कटाएर असहमत पक्षका आठ जनालाई मात्रै केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव गरे ।
मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए । केपीको खेलका सामु माधवको अल्पदृष्टि निर्णायक मोड बन्यो । मैले भनेको नमान्नेलाई तह लगाई दिन्छु भन्ने सोंचबाट माधव अघि बढे र औपचारिक रुपमा पार्टी विभाजन भयो, २०५४ साल फागुन २१ गते ।’

भनिन्छ, ‘इतिहासको पुनरावृति हुन्छ । तर, फरक रुपमा ।’ माधव नेपालले ०५४ मा जुन शैली अपनाएका थिए, अहिले ओलीले ठ्याक्कै त्यही शैली अपनाएको देखिन्छ, ‘मैले भनेको नमान्ने माधव समूहलाई तह लगाई दिन्छु भन्ने अहंकार ।’ यो अहंकारले ओली–नेपाललाई कालान्तरमा कुन रसातलमा पुर्‍याउने हो ? त्यो भविश्यले नै बताउँला ।

इतिहासमा चार शिर्ष नेता ओली, नेपाल, खनाल, मुकुन्द न्यौपानेको भूमिका

२५ जेठ ०३२ मा मोरङको महेन्द्र मोरङ क्याम्पस नजिकैको मनोहर भन्ने मजदुरको को जेठ महिनामा झापा, मोरङ, सिन्धु्पाल्चोकदेखि मधेसभुमीका कलिला युवाहरुले एउटा राष्ट्रिय भेला गरे, त्यस भेलाबाट आठजना सीपी मैनाली, माधव नेपाल, रामचन्द्र यादव, अमृत बोहरा, झलनाथ खनाल, मुकुन्द न्यौपाने, मणिलाल राई र गोविन्द न्यौपानेरहेको को–अर्डिनेसन केन्द्र बनाइयो । महासचिव सीपी छानिए भने तीनजनाको ब्युरो बन्यो । जसमा सीपी मैनाली, माधव नेपाल र रामचन्द्र यादव थिए । पञ्चायतकालमै यादवको जेलभित्रै हत्या भयो ।

११ पुष २०३५ मा को–अर्डिनेसन केन्द्रले मदन भण्डारीको अगुवाईमा उनकै गाउँ मोरङको इटहरामा सम्मेलन गरी नेकपा (माले) को स्थापनाको घोषणा गर्‍यो । जानकारका अनुसार कठोर भूमिगत जीवन अपनाउनु पर्ने त्यो सम्मेलनमा ३५ जना प्रतिनिधि सहभागी भएका थिए ।

सम्मेलनबाट सीपी मैनालीलाई पुनः महासचिव चुनियो भने रत्नकुमार बान्तवा (सहिद), मदन भण्डारी, माधव नेपाल, जीवराज आश्रित, मुकुन्द न्यौपाने, अमृत बोहरा, प्रदीप नेपाल, मोदनाथ प्रश्रित, नेत्रलाल पौडेल (अभागी) र ईश्वर पोखरेल केन्द्रीय समितिमा निर्वाचित भए ।

त्यसबेला झलनाथ खनाल, वामदेव गौतम र गोविन्द न्यौपाने जेलमा थिए । १० जेठ ०३६ मा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेको जनमत संग्रहको आममाफीबाट छुटेपछि खनाल, गौतम र न्यौपाने केन्द्रीय समितिमा समेटिए । झापाली बिद्रोहीहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी ओलीलगायत त्यसबेला जेलमा थिए । महासचिव सीपीले जेलभित्रै पत्र पठाएर अधिकारी, मैनाली र ओलीलाई पार्टीको संस्थापक केन्द्रीय सदस्य सरहको मान्यता दिएका थिए ।

तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहसँग भित्री तारतम्य मिलाएर ११ असार ०४४ मा ओली १४ वर्ष लामो कारावास जीवनबाट बाहिरिए । ओली जेलबाट बाहिरिएको सात महिना पछि २ पुस ०४४ मा तत्कालीन मालेको केन्द्रीय समितिको बैठक धादिङको स्यादुलमा बस्यो । यो बैठकले राधाकृष्ण मैनाली र केपी ओलीलाई केन्द्रीय सदस्यमा मनोनयन ग¥यो । ओलीको कार्यक्षेत्र लुम्बिनी अञ्चल तोकियो ।

०४६ को जनआन्दोलन सफल भएपछि १७ पुस ०४७ मा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा माक्र्सवादी र नेकपा (माले) एक भएर नेकपा (एमाले) नामाकरण भयो ।

नेपाल, ओली एमालेको केन्द्रीय समितिमा पनि चुनिए । त्यसबेला पनि नेपाल ओलीभन्दा माथिल्लो हैसियतका नेता थिए । तर, लामो समय पार्टीभित्रको प्रतिपक्षमा खुम्चिएका ओलीले अहिले तीन जना संस्थापक नेपाल, खनाल र मुकुन्द न्यौपाने माथि एकै पटक निष्कासनको डण्डा बर्साइदिए।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८, १८:३७:२९