NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

उपत्यकाका हिटी, घिटीघिटी

सांस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेका काठमाडौं उपत्यकाका हिटीहरू सहरी सौन्दर्य र पानी आपूर्तिका लागि आवश्यक भए पनि संरक्षण अभावमा मासिँदै जान थालेका छन्

काठमाडौं । ललितपुर बंगलामुखीका सयम महर्जन पहिले ढुंगेधाराको पानीमा निर्भर थिए । खाना पकाउने, कपडा धुनेलगायत कार्यका लागि ढुंगेधाराबाट आउने पानी पर्याप्त हुन्थ्यो ।

तर अहिले ढुंगेधाराको अवस्था बदलिएको छ, उसैगरी सयमको पनि । ढुंगेधाराको पानी थाप्न उनी अहिले राति उठ्नु पर्छ । तैपनि आवश्यकतानुसार चाहे जति पाउँदैनन् । ‘पहिले–पहिले हिटीमा बाह्रै महिना पानी आउँथ्यो । खाना पकाउनेदेखि लुगा धुनेसम्मका काम गर्न ढुंगेधाराको पानी छेलोखेलो पुग्थ्यो । अहिले पानीको मुहान सुक्दै गएकाले विकल्पमा जार तथा ट्यांकरको पानी प्रयोग गरिरहेको छु,’ उनले भने ।

काठमाडौं उपत्यकामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्वका ढुंगेधारा (हिटी) ले कुनै समय यहाँका बासिन्दाको पानीको आवश्यकता मात्र पूरा गरेका थिएनन्, सहरी सौन्दर्यकरणसमेत बढाएका थिए । तर बढ्दो अव्यवस्थित सहरीकरण, सम्पदाको महत्त्वबोधमा आएको कमीलगायत कारणले काठमाडौं उपत्यकाका ढुंगेधाराहरूको अस्तित्त्व संकटमा पर्दै गएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा कुनै समय ३५० वटा ढुंगेधाराहरू थिए । तर अहिले ती हिटीहरू मासिएर २९० मा झरेको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को एक अध्ययनअनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र १७९ ढुंगेधारा छन् । यीमध्ये ४० वटामा मात्र पानी आउने गरेको छ । त्यो पनि विगतको तुलनामा निकै कम पानी आउने गरेको छ । ७९ ढुंगेधारा अस्तित्वमा रहे पनि तिनको स्रोत सुकेको छ । ५२ वटा ढुंगेधाराको अस्तित्व त नामेट नै भइसकेको छ ।

काठमाडौं मात्र होइन, ललितपुर र भक्तपुर क्षेत्रका अधिकांश हिटीको अवस्था पनि दुरुस्त काठमाडौंको जस्तै छ । ललितपुर महानगरपालिका क्षेत्रभित्र ८० वटा ढुंगेधारा रहेकोमा ८ वटा लोप भइसेकेको खानेपानी व्यवस्थापन बोर्डको तथ्यांकमा उल्लेख छ । अस्तित्वमा रहेका ७२ ढुंगेधारामा ३० वटा ढुंगेधाराबाट मात्र राम्रोसँग पानी आउने गरेको छ । ४१ वटा पानी नआउने अवस्थामा छन् ।

काठमाडौं उपत्यकामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्वका ढुंगेधारा (हिटी) ले कुनै समय यहाँका बासिन्दाको पानीको आवश्यकता मात्र पूरा गरेका थिएनन्, सहरी सौन्दर्यकरणसमेत बढाएका थिए । तर बढ्दो अव्यवस्थित सहरीकरण, सम्पदाको महत्त्वबोधमा आएको कमीलगायत कारणले काठमाडौं उपत्यकाका ढुंगेधारा संकटमा पर्दै गएका छन्

भक्तपुर नगरपालिकाभित्रको ढुंगेधराको संख्या ९१ छ । यसमध्ये ७३ वटा पानी नआउने अवस्थामा छन् । १४ वटाबाट भने राम्रोसँग पानी आइरहेको छ । ढुंगेधाराको हविगत खराब हुँदै गए पनि भक्तपुर महानगरभित्र कुनै पनि हिटी लोप नभएको बोर्डको रिपोर्टमा उल्लेख छ । ललितपुर इखाछेँ टोल सुधार समितिका अध्यक्ष सुशील श्रेष्ठ बढ्दो सहरीकरणको चपेटामा हिटीहरू परेको र यसको अस्तित्व लोप हुँदै भएको बताउँछन् ।

‘पहिले पाइपबाट घरघरमा पानी वितरण गर्ने आधुनिक प्रणाली विकास नहुँदा खानेपानीको प्रमुख स्रोत नै हिटी थिए,’ उनले भने, ‘तर अहिले हिटीनजिकै घर निर्माण गर्ने तथा घर–घरमा इनारहरू बनाउने प्रचलनले पानीका मुहानहरू सुक्दै गएका छन् ।’ सहरी विकास विज्ञ पद्यसुन्दर जोशीचाहिँ बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरणलाई हिटी संकटको मुख्य कारण ठान्छन् । बढ्दो सहरीकरणसँगै मानिसको चाप बढेको छ ।

पानीको आवश्यकता पूरा गर्न जमिनमुनिबाट पानी निकाल्ने तथा इनार खन्ने गरिएको छ । यसले काठमाडौं उपत्यकाको हिटीको प्रणाली खल्बलिएर संकटमा पर्दै गएका छन्,’ उनले भने । पछिल्लो समय ललितपुरसहित उपत्यकाका धेरै हिटीहरू यही कारण सुक्न थालेको उनले बताए । ‘हिटीको मुहानसम्म पानी पु¥याउन बनाइएका पाइप बाटो ढलान र घरहरू निर्माण गर्ने क्रममा पुरिए । जसले गर्दा धेरै हिटी सुक्न थाले,’ उनले भने ।

हिटीको आत्मा पानी हो, पुनर्निर्माण गरेर मात्र हुँदैन

खुसीको कुरा, स्थानीय तहले पछिल्लो समय हिटी संरक्षणमा जोड दिँदै तिनको पुनस्र्थापना तथा पुननिर्माणमा जोड दिइरहेका छन् । हिटीको प्रमुख आत्मा र सौन्दर्य पानी भएकाले संरक्षण मात्रले नपुग्ने बताउँछन्, सहरी विकास विज्ञ जोशी ।

‘हिटीको आत्मा भरिन पानीका मुहान, पोखरी, राजकुलोहरूको मुख्य भूमिका हुन्छ,’ जोशीले भने, ‘हिटीको आत्मा पानी हो । पानीबिनाका नयाँ हिटी निर्माणको कुनै अर्थ छैन ।’

जोशी उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेका हिटीहरूको व्यवस्थापन गर्न योजना बनाउनुपर्ने औंल्याउँछन् । ‘हिटी सुक्न नदिन पानीको रिचार्ज गर्न सकिन्छ । वर्षातको समयमा वर्षभरिको करिव ७० देखि ८० प्रतिशत पानी पर्छ । त्यो पानीलाई ‘रिचार्ज पिट’ बनाएर इनारमा पुनः भरेर कृत्रिम इनारमार्फत पानीको व्यवस्थापन गर्न सकिन्छ,’ हिटी संरक्षणको उपाय सुझाउँदै जोशीले भने ।

जोशीले भक्तपुर र काठमाडौंमा पानीका मुहान सुकेपछि राजकुलो र पोखरीहरू पनि मासिँदै गएको सुनाए । ललितपुरमा थुप्रै पानीका मुहान, त्यो बग्ने राजकुला र पाखरीहरू थिए । उनका अनुसार, अस्तित्वमा रहेका यीमध्ये थोरै मात्र बाँकी छन् । केही राजकुलो र पानीका मुहान अझै बाँकी रहेकाले ललितपूरमा पानीको सम्भावना जीवित छ ।

जलवायु परिवर्तनको असर हिटीमा

इखाछेँ टोल सुधार समितिका अध्यक्ष श्रेष्ठ हिटीको अवस्था खराब बन्दै जानुमा जलवायु परिवर्तनलाई पनि एउटा कारक ठान्छन् । ‘जलवायु परिर्वतनले पनि हिटीमा नकारात्मक प्रभाव पारिरहेको छ । यसले पनि हिटीहरू सुक्दै गएका हुन्,’ उनले थपे ।

समयमा वर्षा नहुने, लामो समय खडेरी गर्ने पर्ने प्राकृतिक समस्याले ढुंगेधारा तथा पानीका मुहानमा मात्र नभई बोटबिरूवाहरूमा पनि नकारात्मक प्रभाव परिरहेको उनी बताउँछन् । श्रेष्ठको तर्कसँग सहरी विकास विज्ञ जोशी पनि सहमत छन् । ‘जलवायु परिवर्तनकै कारण खडेरी पर्ने अथवा जमिन सुख्खा हुने गर्छ । पानी परिहाले पनि एकैछिन पर्छ । जसका कारण जमिनले पानी सोस्न पाउँदैन । यसरी जमिनभित्र राम्रोसँग पानी पर्न नपाएपछि त्यसको सिधा असर हिटीमा पर्छ ।’

स्थानीय सरकारले यस्ता ठोस कुरामा ध्यान नदिएर हिटी संरक्षणको नाममा आश्वासन मात्र बाँडेको उनले गुनासो गरे । मेलम्चीको पानी प्रत्येक दिन आउँदा पनि हिटी संरक्षणमा सहायता पुग्ने अध्यक्ष श्रेष्ठले बताए । ‘सरकारले मेलम्चीको पानी भनेर हप्तामा एक दिन पानी दिन्छ । यदि सरकारले प्रत्यक दिन एक–एक घण्टा मेलम्चीको पानी जनतालाई उपलब्ध गराइदिने हो भने घर–घरमा बनाइएको इनारको पानी जनताले अलि कम प्रयोग गर्थे,’ उनले थपे, ‘इनारमा जम्मा भएको पानी हिटीको मुहानको पानीको सतहमा आएर हिटीमा पानी आइरहनथ्यो ।’

के गर्दैछ ललितपुर ? 
आफ्नो क्षेत्रभित्रका ढुंगेधारा एकपछि अर्को संकटमा पर्न थालेपछि उपत्यकाभित्रका स्थानीय तहले संरक्षणको प्रयास थालेका छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन आफ्नो क्षेत्रभित्रका ढुंगेधारा तथा पोखरीको सरंक्षणका लागि विशेष कार्ययोजना नै बनाइएको सुनाउँछन् ।

उनका अनुसार महानगरले यो वर्ष मात्रै आफ्नो क्षेत्रभित्रका सबै ढुंगेधारामा पानी झार्ने लक्ष्य राखेको छ । ‘हामीले बाह्रै महिना ढुंगेधारा जीवित राख्न दीर्घकालीन योनजाअघि सारेका छौं, उनले भने, ‘पानी पुनः भरण गर्ने हिसाबले महानगरले राजकुलोसहितको कार्ययोजना अघि बढाएको छ ।’ उनी भन्छन्, ‘पोखरीमा पानी भरेपछि आकाशको पानीको मात्र भर गरेर महानगरको सबै धारामा पानी आउन सम्भव छैन् । त्यसैले राजकुलो नै ल्याएर पानी झार्न लागेका छौं । त्यसको लागि डिपिआर पनि भइसेकेको छ ।’

महानगरले नगरभित्र रहेका सबै ढुंगेधारा वर्षको एकचोटि सफा गर्ने प्रचलन रहेको उल्लेख गर्दै उनले राजकुलोमार्फत पानी ल्याउँदासेमत पूर्वअवस्थामा नफर्कंने हिटीलाई के गर्ने भन्नेबारे योजना बनिरहेको जानकारी दिए ।

काठमाडौंमा ‘स्वर्णीम योजना’

ढुंगेधारा संरक्षणको गर्न काठमाडौं महानगरपालिकाले ‘स्वर्णीम योजना’ अघि सारेको नगरपालिकाकी विभागीय प्रमुख अर्चना शाक्यले जानकारी दिइन् । गौरव योजनाका रूपमा अघि सारिएको यो कार्यक्रमले ढुंगेधाराको सरसफाइ तथा पानीको स्रोत पत्ता लगाउने कार्य गर्नेछ ।

‘अहिले हाम्रो योजना कार्यान्वयन भइसकेको छैन् । पानी नआएको तथा सुकिसकेको ढुंगेधाराहरूको लागि पनि महानगरले त्यसको मुहान खोजी गरेर पानी ल्याउने सोचेको छ,’ उनले भनिन् ।

राजकुलो ब्युँताउँदै भक्तपुर

अव्यवस्थित सहरीकरणले राजकुलोबाट व्यवस्थापन गरेको पानीको स्रोत र प्रवाह रोकिँदा नगरका अधिकांश धाराहरू सुकेको भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले बताए । स्थानीय स्रोतमार्फत यस्ता ढुंगेधाराहरूमा पानी व्यवस्था गर्दै पूर्ववत् अवस्थामा फर्काउने तयारी भइरहेको उनले जानकारी दिए ।

‘अहिले पनि नगरपालिकाले पानी आउने र नआउने सबै ढुंगेधाराहरूको नियमित रूपमा सरसफाइ र संरक्षणको व्यवस्था मिलाउँदै आइरहेको छ,’ उनले भने, ‘पानी नआउने धाराहरूमा काठमाडौ उपत्यका खानेपानी लिमिडेटका पाइपमार्फतसमेत पानी ल्याउने व्यवस्था मिलाएका छौं ।’

उनले नगरभित्रका पानी नआउने ढुंगेधारामा पुरानै राजकुलो ब्युँताएर पहिलेजस्तै २४ घण्टा नै पानी आउने व्यवस्था मिलाउन चुनौतीपूर्ण रहेको बताए । यो क्षेत्रका सरोकारवालासँग सहकार्य गरी संरक्षणमा नगरपालिका अगाडि बढेको उनले जानकारी दिए ।

‘पानी नआउनेलाई धारामा पुरानै राजकुलो व्युँताएर पानी आउने व्यवस्था मिलाउन धेरै चुनौती थपिएका छन् । धेरै ठाउँमा घर तथा सडक निमार्ण भइसकेको छ । यसले गर्दा राजकुलो व्यवस्थापन गरेर पानी वितरण गर्ने सम्भावना अत्यन्त न्यून छ,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गरिएका लाइनबाटै पानी वितरण गर्न सके ढुंगेधाराहरूमा पानी ल्याउन सकिने उनको भनाइ छ ।

तस्बिरहरू : शिशिर ढकाल / नेपालवाच 

(संगीता केसीकाे सहयाेगमा )