NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

किन विवादमा तानिए उपप्रधानमन्त्री महताे

पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’ उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल रहेको भन्दै राजनीतिक वृत्तमा विरोध भएको छ । सामाजिक सञ्जालमा उनको राजीनामासमेत माग भएको छ । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुपर्ने माग गरेको छ । महतोको अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको भन्दै विरोध भएको छ । चौतर्फी विरोधपछि शनिबार मध्यरातमा महतोले विज्ञप्ति निकाल्दै आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । एमालेको खनाल–नेपालनिकट विद्यार्थीले उपप्रधानमन्त्री महतोको विवादास्पद अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् । खनाल–नेपाल पक्षधर अनेरास्ववियुले नयाँ बानेश्वरमा उनको पुतलासमेत दहन गरेको छन् । पुतला दहन गर्ने क्रममा नेपालपक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित प्रहरीले ११ जनालाई गिरफ्तार गरेको थियो । त्यस अघि खनाल–नेपाल निकट १८ जन संगठनले पनि उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको मौनतालाई लिएर प्रश्न उठाएका थिए । शनिबार साँझ एमालेको खनाल–नेपाल समूहका स्थायी कमिटीका १५ सदस्यहरूले सामूहिक वक्तव्य जारी गर्दै उपप्रधानमन्त्री महतोको संविधानविरोधी अभिव्यक्तिबारे स्पष्ट पार्न प्रधानमन्त्री ओलीसमक्ष माग गरेका छन् । ‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो¥याई यसका लागि कथित मुक्तिसंग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ नेपाल र खनालसहित स्थायी कमिटी सदस्यहरूको सामूहिक विज्ञप्तिमा छ, ‘यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ ।’ तर, शनिबार दिउँसोसम्म आफ्नो अभिव्यक्तिको बचाउ गरेका उपप्रधानमन्त्री महतोले मध्यरातमा भने प्रस्टीकरण दिए । महतोले विज्ञप्ति निकाल्दै आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । उनले आफ्ना असन्तुष्टि रहेको र ती संविधान संशोधनका लागि गठित कार्यदलमा राख्ने पनि बताएका छन् । ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोमिज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान अकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म र लिंगको साझा राष्ट्र हो भन्ने आसय व्यक्त गरेको हुँ,’ शनिबार राति जारी गरेको विज्ञप्तिमा महतोले भनेका छन्, ‘यो संविधानमा हाम्रा रहेका असन्तुष्टि सम्बोधन गर्न संशोधनका निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौँ । म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु ।’ नयाँ पत्रिकामा खबर छ।