NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘कहिले आउला देश फर्किने दिन ?’

जीवन त कमेरोको पहिरो जस्तै भयो, कहिले पनि नरोकिने !

काठमाडाैं- चौरीदेउराली–२, बाँझखेत, काभ्रेपलान्चोकका शुक्र मोक्तान यतिबेला साउदी अरबको दमाममा छन् । मोक्तान साउदी गएको पनि १२ बितिसकेछ । पहिले–पहिले त यो समय दमाममा चिसो हावा चल्थ्यो र जाडो सुरु भइसक्थ्यो ।

अहिले त्यहाँको मौसम सामान्य छ । धेरै जाडो पनि छैन र गर्मी पनि छैन । तर, पुराना कुरा सम्झँदा उनीलाई मन नै सिरिङ्ग हुन्छ, भारी हुन्छ ।

ट्याक्सी किन्ने सपना

मोक्तान काभ्रेबाट काठमाडौं आएर कोठा भाडामा लिएर बस्थे । प्रदर्शनीमार्गको आरआर क्याम्पसमा पढ्थे । आर्थिक अवस्था सामान्य भएकोले पढेर मात्र बस्न पुगेन उनलाई । आफ्नो पढाइलाई निरन्तरता दिन केही न केही गर्नैपर्ने भयो ।

त्यस्तैमा उनले रेस्टुरेन्टमा काम गर्ने निधो गरे । केही समय वेटर काम गरे । त्यसैबीच बारमा पनि काम गरे । तर सोचेजस्तो आम्दानी भएन । काम पनि गाह्रो अनि कमाइ पनि कम । आफ्नै केही काम गर्ने सोच पलायो । पैसाकै कारण पनि पढाइ निरन्तरता दिन सकेनन् । ग्र्याजुएसन गर्न महेन्द्ररत्न क्याम्पस जाने सपना पूरा हुन सकेन ।

No description available.

यत्तिकैमा मोक्तानले ट्याक्सी चलाउने सोच बनाउँदै ड्राइभिङ सिके । ट्याक्सी चलाउन थाले । साहुको ट्याक्सी चलाउँदा पनि भनेजति पैसा कमाउन सकेनन् । अर्काको ट्याक्सी कति दिन चलाउने ? दिनभरि ट्याक्सी चलायो, बेलुकी साहुलाई पैसा बुझाउँदा फेरि खल्ती खाली । मोक्तानलाई एक दिन आफ्नै ट्याक्सी किन्ने रहर लाग्यो ।

आफ्नै ट्याक्सी भए आफैँ ड्राइभर, आफैँ मालिक बन्न सकिने । उनले ट्याक्सी किन्नकै लागि स्वदेशमै पैसा जुटाउन खोजे तर पैसा जुटेन । आफ्नै ट्याक्सी किनेर नेपालमै ट्याक्सी चलाउने सपना देखेर मोक्तानले ट्याक्सी किन्नको लागि साउदी अरब जाने सोच बनाए ।

पासपोर्ट बनाएको १५ दिनमै साउदी 
शुक्र मोक्तान कोठा भाडामा लिएर बस्ने घरमै अर्का तराई मूलका एक जना बस्थे । उनी साउदी अरब गएर फर्किएपछि म्यानपावरमै काम गर्दा रहेछन् । उनैले हो, मोक्तानलाई विदेश जाने सपनाको बिउ रोपेका ।

उनले साउदी जाने भए म पठाइदिन्छु भनेपछि मोक्तान फुर्किए । ट्याक्सी चलाउँदै काठमाडौंको गल्ली–गल्ली चाहार्ने मोक्तान साउदी जानको लागि राहदानी बनाउन तम्सिए । गाविसबाट सिफारिस लिएर जिल्ला सदरमुकाम धुलिखेल पुगे । बल्ल–बल्ल राहदानी बनाए । त्यो बेला बिदेश जानुपहिले गरिने अभिमुखीकरण तालिम गरिँदैनथ्यो होला, उनलाई पत्तै थिएन ।

प्रहरी रिपोर्ट र श्रम स्वीकृति पनि कसरी व्यवस्थापन भयो थाहै भएन । उनलाई जसरी पनि छिट्टै साउदी उड्ने हुटहुटी थियो । प्रक्रियागत कुराहरूमा त्यति धेरै ध्यानै दिएनन् । राहदानी बनाएकै दिन मेडिकल गरेर ८० हजार नेपाली रुपैयाँ म्यानपावरमा बुझाए । म्यानपावरले राहदानी बनाएको १५ दिनमै साउदी उडाइदियो ।

No description available.

बिरामी आमा छाडेको दिन
तीन भाइ र दुई दिदीबहिनीमा कान्छा हुन् उनी । जब साउदी जाने निधो र हवाइ टिकट हात पर्यो, मोक्तान आमालाई भेट्न घर गए । काभ्रेको कोशीपारीको उकालो उक्लँदै गदाँ आमालाई कसरी–के भन्ने होला भन्ने सोच्दा सोच्दै उकालो कटेको पत्तै भएन ।

घर पुग्दा आमा र दाइ थिए । बुवा बितेको करिब दुई वर्ष भएको थियो । आमा पनि बिरामी थिइन् । बिरामी आमालाई छोडेर हिंड्न मनै थिएन । तर के गर्नू ! नहिँडी पनि भएन ।

आफ्नै ट्याक्सी भए आफैँ ड्राइभर, आफैँ मालिक बन्न सकिने । उनले ट्याक्सी किन्नकै लागि स्वदेशमै पैसा जुटाउन खोजे तर पैसा जुटेन । आफ्नै ट्याक्सी किनेर नेपालमै ट्याक्सी चलाउने सपना देखेर मोक्तानले ट्याक्सी किन्नको लागि साउदी अरब जाने सोच बनाए ।

उनी भन्छन्, ‘बिरामी आमा, मैले उहाँलाई छोडेर हिँड्दा उहाँको मुस्कान मधुरो थियो, गहभरि आँसु । म घर छोडेर हिँडदा मात्र होइन, हवाइजहाज चढ्दा मात्र होइन, करिब ३–४ महिनासम्म नै त्यो दृश्यले छोपिरहेको थियो । त्यो बेलाको तनाव र अवस्था सम्झँदा, बिरामी आमालाई छोडेर हिँडेको दिन सम्झिँदा मन अझै पनि भारी भएर आउँछ ।’

सानो ज्यानले दिएको धोका
मोक्तान नेपालमै ट्याक्सी गुडाउँथे । साउदीमा पनि ड्राइभर भिसामै गएका हुन् । तर सानो ज्यान, तौल ४५ किलोमात्र । कम्पनीले ड्राइभिङ्गको लागि पत्याएन ।

‘४५ किलोको मान्छेलाई कम्पनीले गाडी दिनै मानेन । थकथकी लाग्यो । धन्न पढाइ  र कम्युटरसम्बन्धी ज्ञान भएकाले सहज भयो । ‘ट्याली’ पनि सिकेको थिएँ । त्यसैले तत्कालका लागि अफिसमै काम गर र ज्यान बनाएपछि गाडी दिउँला भन्यो कम्पनीले । मैले त्यसै गरेँ । एउटा अस्पतालका लागि दुर्घटनाको बीमा दाबी गर्ने अफिसियल काममा जोडिएँ, त्यसैमा छु । न त ज्यान ठुलो र मोटो बनाउन सके, न त गाडी कुदाउन पाएँ । अझै पनि ड्राइभिङमा लाग्न पाएको छैन’, उनले सुनाए ।

तलबबाट मोबाइल र आमाको उपचार
१२ बर्ष अगाडि ७ सय रियाल अर्थात करिब १६ हजार नेपाली रुपैयाँ तलब थियो । पहिलो महिनाको तलबले मोबाइल किने । गाउँमा फोन थिएन । काठमाडौंमा दाइ–भाउजू र दिदीलाई फोन गरेर बिरामी आमाको अवस्था बुझ्थेँ । फोन गर्न धेरै महँगो थियो । त्यो बेला मोबाइलबाट नेपाल फोन गर्न साढे चार रियाल लाग्थ्यो ।

फोनको बुथमा जाँदा साउदीको परिचयपत्र राखेर लाइन बस्न पथ्र्यो । एक मिनेट फोन गर्न साढे एक रियाल पथ्र्यो । त्यो पनि फोन नलागेर हैरान । आधा घण्टा त लाइनमै बित्थ्यो । महँगो भएकाले भन्नुपर्ने कुरा नसकिँदै धेरै पैसा सकिन्थ्यो । त्यसैले ८÷९ महिनासम्म त चिठ्ठी नै पठाए उनले ।

चिट्ठी नेपाल पुग्न समय लाग्थ्यो तर मनको वेदना भने खुलेर चिट्ठीमा पोख्न सकिन्थ्यो । दोस्रो महिनाको तलब भने आमालाई उपचारका लागि पठाए उनले । बिरामी आमालाई छोडेर आएकोले उनलाई चिन्ता लागिरहन्थ्यो । त्यसैले आमाको उपचार उनको प्राथमिकता बनेको थियो । बैकिङ प्रणालीको रेमिट सेवा आइसकेको थियो, त्यसैले बैकबाटै पैसा पठाए । उनी भन्छन्, ‘हुन्डी अवैध हो भन्ने थाहा भएकाले थोरै पैसाको लोभ गरिनँ ।’

सुनेको र भोगेको साउदी
उनी २१ जुनमा साउदी पुगेका थिए । खाडी अनि मध्य गर्मी याम । सबै कुराले एकै पटक थिचेजस्तो भयो उनलाई । ‘मैले त नेपालको जस्तै तातो घाम होला भन्ने सोचेको थिएँ । यहाँ त तातो बाफ पो हुँदो रहेछ’, उनले सुनाए ।

अहिले त झन् धेरै कम्पनीले ‘कन्ट्याक्टिङ’मा कामदार लैजान्छन्, एउटा कम्पनीमा लगेर अर्को कम्पनीमा पठाइन्छ । धेरैको गुनासो छ– न भनिएजस्तो काम पाउँछन्, न दाम ।

भाषा फरक, धर्म अनि रहन–सहन पनि फरक । अझ नेपाली त भेट्नै सकिन्न भन्ने पनि सुनेका थिए । तर होइन रहेछ । धेरै नेपाली परिवार भेटिए । धेरैले भन्थे– साउदी, मुस्लिम देश । धेरै गाह्रो हुन्छ । तर त्यसो पनि होइन रहेछ ।

सबैले सबैलाई सम्मान गर्ने त्यहाँको चलनले उनलाई सकारात्मक प्रभाव पार्यो ।  नियम कडा भएपनि नियममा बस्नेलाई खास समस्या देखेनन् । अरू कुरा त ‘बर्मा गए कर्म सँगै’ भनेजस्तै हो भन्ने उनलाई लाग्यो । भन्छन्, ‘आफू राम्रो भए ठाउँले असर गर्दोरहेनछ । घुलमिल हुन केही समय लागे पनि पछि गाह्रो भएन ।’

दोहोरो करारको दुःख
ड्राइभिङ्गको लागि गएको, गर्नुपर्यो अर्कै काम । तलब पनि फरक पर्यो । तर भिसा भने उनको अहिले पनि ड्राइभरको नै छ, साउदी अरबको परिचय पत्रमा पनि त्यही उल्लेख छ । कि त काम छोडेर जानुपर्यो, कि त भिसाकै स्टाटसमा बस्नुपर्यो ।

‘हेर्नुस न, नेपालमा श्रम नवीकरण गर्दा लाइसेन्स अनिवार्य बुझाउनुपर्छ । भिसामै ड्राइभर लेखिएको छ’, उनले दुखेसो पोखे, ‘दुई वर्ष त यति दुःख लाग्यो कि साउदी अरबको नामै लिन्न जस्तो भयो । एक हजार रियाल तलब र ८ घण्टा कामका लागि लगिएको थियो, तर तलब सात सय मात्र तलब अनि १० घण्टा काम ।’

अहिले त झन् धेरै कम्पनीले ‘कन्ट्याक्टिङ’मा कामदार लैजान्छन्, एउटा कम्पनीमा लगेर अर्को कम्पनीमा पठाइन्छ । धेरैको गुनासो छ– न भनिएजस्तो काम पाउँछन्, न दाम । त्यसैले जानुपूर्व अनलाइनबाट कम्पनीबारे बुझेर जान उनी सुझाउँछन् । साथीभाइ वा दूतावासमार्फत बुझेर सिधै मुख्य कम्पनीमा जान सके उत्तम हुने उनको भनाइ छ ।

भोगाइ र सिकाइ
‘साउदी अरबलगायत खाडी राष्ट्र र मलेसियामा काम गर्नेलाई सामान्य कामदारकै रूपमा हेरिन्छ । हाम्रो बुझाइ पनि त्यस्तै छ । आफ्नो पढाइ पनि बीचमै छोडेर केही सिप नसिकी आउने चलन छ’, शुक्रले आफ्नो भोगाइ–बुझाइ सुनाए, ‘तर त्यस्तो होइन, आफूले सिकेको सीप आफैंलाई कुनै न कुनै रूपमा काम लाग्छ । त्यसैले केही न केही सीप त हुनैपर्छ ।’

अहिले साउदीका धेरै कम्पनीमा नेपालीहरूले राम्रो काम पनि पाइरहेका छन् । सीप भयो भने त्यही आधारमा ‘प्रमोसन’ पनि गरिन्छ । अब त झन ‘कफाला’ प्रणाली हट्यो । आफूसँग राम्रो सीप र ज्ञान छ भने आफ्नो करार अवधिपछि पनि राम्रो अवसर पाइन्छ । त्यसैले संसारको जुनसुकै ठाउँमा जाँदा पनि सम्बन्धित देशको भाषा र कानुन जानेर अनि आफ्नो सीप जानुपर्ने शुक्रको भोगेर सिकेको कुरा हो ।

कतिलाई घर छोड्दाको न्यास्रोपनले वा सोचेजस्तो काम–दाम नहुँदा डिप्रेसन हुन्छ । कतिलाई सामान्य ट्राफिक नियम थाहा हुँदैन, कतिलाई खाने–बस्ने–सुत्ने विषयमा शारीरिक सन्तुलनको ज्ञान हुँदैन । त्यो थाहा नपाइ आउँदा विभिन्न समस्यामा परिन्छ ।

बीमा दाबी गर्ने फाँटमा काम गर्ने भएकाले मोक्तानसँग धेरै नेपालीलाई बीमा रकम दिलाएको अनुभव छ । यससँगै उनी उनी कुवेतको नेपाली समाजमा पनि हातेमालो गर्छन् ।

यसले उनलाई त्यहाँ जाने नेपालीको मनोविज्ञान पनि बुझ्न पाएका छन्, समस्यासँग परिचित छन् । केही समयपहिले नेपालबाट ‘ड्रग्स’ छुटाउन भनी साउदी पठाइएका एक नेपालीले क्वारेन्टाइनमा बसेकै होटलबाट फामफालेर आत्महत्या गरे ।

यस्ता घटना र अहिलेसम्मका भोगाइले उनलाई सिकाएको कुरा हो– विदेश जानुपूर्व राम्रो–नराम्रो जे भए पनि जुध्न सक्छु भनी मनोवैज्ञानिक तरिकाले तयारी हुनुपर्छ ।

No description available.

‘कतिलाई घर छोड्दाको न्यास्रोपनले वा सोचेजस्तो काम–दाम नहुँदा डिप्रेसन हुन्छ । कतिलाई सामान्य ट्राफिक नियम थाहा हुँदैन, कतिलाई खाने–बस्ने–सुत्ने विषयमा शारीरिक सन्तुलनको ज्ञान हुँदैन । त्यो थाहा नपाइ आउँदा विभिन्न समस्यामा परिन्छ’, उनी भन्छन्, ‘धेरै समस्या वा दुर्घटना कार्यस्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नाले, ड्राइभिङ गर्दा सिटबेल्ट नलाउनाले, कन्स्ट्रक्सनमा काम गर्दा हेल्मेट वा सेफ्टी गियर नलगाउनाले पनि भएका छन् । त्यस्ता कुरामा ख्याल गर्नुपर्छ ।’

कमेरोको पहिरो 
यो सबै उनको भोगाइको बुझाइ हो, तुवाँलो त आफ्नै जीवनमा पनि हटिसकेको छैन । ‘मान्छेको जीवनमा पहिरो जान सुरु गरेपछि गइरहँदो रहेछ– कमेरोको पहिलोजस्तै । कहिल्यै नरोकिने, झरेको झर्यै गर्नेरहेछ’, मोक्तान सुस्केरा हाल्दै भन्छन्, ‘हामी सामान्य परिवारको मान्छे, एउटा समस्या टार्यो, अर्को आउँछ । मैले पनि मेरो जीवनमा सोचेजस्तो–कल्पना गरेजस्तो आर्थिक उपार्जन गर्न सकिनँ ।’

कतै लगानी गर्न सक्नु त अर्कै कुरा ट्याक्सी किन्ने सपना पनि पूरा हुन सकेको छैन उनको । बिस्तारै पारिवारको आर्थिक अवस्था भने सुधार्दैछन् । यसैबीच पनि उनलाई लाग्छ– नेपाल सरकारले खाडी वा मलेसियामा काम गर्ने कम आय भएको श्रमिकहरूको लगानी सुनिश्चित गर्न सक्ने योजना ल्याए कस्तो राम्रो हुन्थ्यो ।

‘खाडीमा कमाएको थोरै रकम पनि कतै लगानी हुन सक्ने अवस्था भए कति राम्रो हुन्थ्यो । एनआरएनएले अहिले त्यस्तै योजना त ल्याएको छ, तर लागू  हुने वा सफल हुने हो कि होइनमा दोधार धेरैमा छ’, उनले खुलेर भने, ‘के गर्नु खाडीको कमाइ थोरै हुन्छ । यता तिर्यो, उता तिर्यो, बालबच्चा हुर्कायो, पढायो, बचत नै नहुने । अब त केही बचत होला कि भन्यो फ्याट्ट अर्को समस्या आइलाग्ने ।’ त्यसैले अधिकांश नेपालीले खाडीको कमाइले सामान्य जीविकोपार्जनभन्दा केही गर्न नसकेको उनको निष्कर्ष छ ।

नेपालमा सबैलाई सहरीकरणले छोएको छ । गाउँको स्कूलमा पढ्ने बाबुनानीलाई कोठा लिएरै भए पनि सदरमुकाम वा राजधानीको बोर्डिङमा सारिएका छन् । गाउँका खेत बाँझै छ । साउदी अरबमा कमाएको पैसाले चामल किनेर पालिनुपरेको छ ।

मोक्तानको १२ वर्षे अनुभव भन्छ– विदेशमा न त सोचेजति सजिलो छ, न आयआर्जन अनि बचत ।  ‘खाडीमा ठुलो सपना बुनेर आउँछौं । यति तलब आउँछ, यति खर्च गर्छु अनि यति बचाउँछु भन्ने योजना हुन्छ । तर आफूले भनेजस्तो हुन्न’, उनी दोहोर्याइरहन्छन्, ‘एक त धेरै श्रमिकले भने अनुसारको काम र दाम पाउँदैनन्  । अर्को कुरा यहाँ सबै कुरा महँगो छ । यहाँकै जीवनशैलीलाई पछ्याउनुको विकल्प पनि हुन्न । अर्कातिर आफ्नै परिवारको पनि माग बढ्छ । आफैं पनि बिलासी भइन्छ । अनि त असहज हुने नै भयो ।’

१२ वर्षपछि…
दुई वर्षका लागि साउदी गएका मोक्तानलाई १२ बर्ष बित्दा पनि सधैंका लागि घर फर्कने अवसर जुरेको छैन । त्यसैले भविष्यको योजना के छ, कहिले फर्कदै हुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘दुई वर्षको लागि आएको । १२ बर्ष बित्नै लाग्दा पनि २ बर्ष पुगेन । खोइ कहिले होला फर्कन पाउने ?’

अनेक–अनेक कुरा छन् उनलाई रोकिराख्ने । नेपालमा सबैलाई सहरीकरणले छोएको छ । गाउँको स्कूलमा पढ्ने बाबुनानीलाई कोठा लिएरै भए पनि सदरमुकाम वा राजधानीको बोर्डिङमा सारिएका छन् । गाउँका खेत बाँझै छ । साउदी अरबमा कमाएको पैसाले चामल किनेर पालिनुपरेको छ । यो साझा दुःखको अन्त्य नभएसम्म केही हुन्न । मोक्तानलाई लाग्छ, ‘बाँझो खेतमा धान फलाउँदै यहाँको कमाइलाई उचित ठाउँमा लगानी गर्ने वातावरण बनाउन सके नेपाल अर्कै हुन्थ्यो होला ।’

उनी आफैं भने नेपाल फर्किर केही व्यवसायिक काम गर्ने सोचमा छन् । तर ठ्याक्कै योजना भने बनाउन सकेका छैनन् । उनी सोच्छन्, खाडी र मलेशियामा काम गर्ने साथीहरू मिलेर केही नयाँ गर्न पाए हुन्थ्यो । त्यसैले उनीसँग साउदी जानेबारे परामर्श लिने साथीहरूलाई भन्छन्, ‘विदेशमा भन्दा स्वदेशमै केही गरौं न ।’ साथीहरू भने उनलाई उल्टै सोध्छन्, ‘यदि साउदी अरबमा राम्रो छैन भने किन बस्यौ १२ बर्ष त्यहाँ । मसँग यसको उत्तर भने छैन ।’
०००
(कामको खोजीमा होस् या ज्ञानको खोजीमा, सक्रिय जनसंख्यालाई आधार मान्ने हो भने आधा देश नै प्रवासमा छ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा त त्यता छँदैछ, जीवनशैलीमा धेरै प्रभाव पनि त्यतैको परेको छ वा त्यतै आधारित छ । परिवारको हिस्सा त्यतै छ, माया–प्रेम, सुख–दुःख अनि सपना–विपनाका कथा पनि त्यतै छ । अनेक सपनाले डोरिएर प्रवास पुगेका आधा देशसँग अन्तरक्रिया गर्न नेपालवाच डटकमले सुरु गरेको संवाद–श्रृङ्खला हो– ‘प्रवास प्रतिबिम्ब’ । हरेक शुक्रबार नेपाली समयअनुसार साँझ पाँच बजे हुने संवाद हाम्रो फेसबुक पेजमा लाइभ हुन्छ । त्यसमा आधारित लेख्य सामग्री हरेक सोमबार सोही समयमा नेपालवाच डटकममा प्रकाशित हुन्छ । – सम्पादक) 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८, १७:००:००