NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

खनाल–नेपाल र ओली समूहमा ढलपल भइरहेका यी ‘सांसद’, जसको विगत यस्तो छ

काठमाडाैं । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले अस्ति ७ जेठमा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कागजातमा हस्ताक्षर गरेनन् ।

अर्का सचिव एवं सांसद गोकर्ण विष्ट, केन्द्रीय सदस्य एवं सांसद गणेश पहाडी, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, हिरा केसी पनि सर्वोच्च अदालतमा उपस्थित भएर हस्ताक्षर सनाखत गराउनबाट पछि हटे ।

यसलाई धेरैले उनीहरु ‘युटर्न; भएर ओली समूहमा छिरिसकेको अर्थमा बुझेका थिए । तर, हिजो १२ जेठमा खनाल–नेपाल समूहका १५ जना स्थायी समिति सदस्यहरुको सामुहिक अपील सार्वजनिक भयो । जसमा ओली समूहतिर ढल्किए भनिएका गोकर्ण विष्ट र योगेश भट्टराई पनि हस्ताक्षर छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरमा सहभागी नभएका विष्ट–भट्टराईलगायत ओली समूहमा गइसकेका हुन् त ? नेकपा (एमाले) का नेता निरज आचार्य विष्ट–भट्टराईहरु ओली समूहमा गएको कुरा स्वीकार गर्दैनन् । ओली कदम विरुद्धको मोर्चा बलियो बनाउन उनीहरुले नै बढी पहलकदमी लिएकाले ओली समूहमा सजिलै जानै नसक्ने आचार्यको भनाइ छ ।

भन्छन्, ‘प्रधानमन्त्री ओलीको कदम विरुद्ध सारा मान्छेलाई युद्धमा तानेर कमाण्डर फुत्त भाग्न पाईन्छ ? उहाँहरु एक्लै ओलीसँग मिल्न जानु हुन्न । पार्टी विभाजन कि अन्तरसंर्घष भन्नेमा थोरै अलमल मात्र भएको हो ।’

एमाले विभाजनको भूमध्यरेखामा उभिएका बेला ढलपल भइरहेका विष्ट, भट्टराई, पहाडी, निरौला, बुढा क्षेत्रीको विगत नियालौ ।

गोकर्ण विष्ट १७ असार ०२२ मा गुल्मी जिल्लाको साविक दोहाली–३ मा जन्मिएका हुन् । ०३५/०३६ को विद्यार्थी आन्दोलनबाट उनी तत्कालीन अनेरास्ववियुमा आवद्ध हुँदै नेकपा (माले), (एमाले) को राजनीतिमा स्थापित भए । विद्यार्थी संगठनबाट युवा राजनीतितिर मोडिएका विष्ट तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ), हाल युवा संघको २ कार्यकाल अध्यक्ष भएका थिए ।

प्रजातान्त्रिक राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष एवं हाल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अजम्बर काङमाङ राईका अनुसार फागुन ०५४ मा एमाले विभाजन भएपछि प्ररायुसंघका तत्कालीन अध्यक्ष उदयराज पाण्डे मालेतिर लागे । यसपछि एमालेले दुई साता अघि मात्र कोरोना संक्रमणका कारण निधन भएका पशुपति चौलागाईलाई प्ररायुसंघको अध्यक्ष बनायो । चौलागाईले विष्टलाई उत्तराधिकार हस्तान्तरण गरे ।

फागुन ०५८ मा माले–एमालेको एकतापछि ०६० मा प्ररायुसंघको पाचौं राष्ट्रिय सम्मेलन भयो । यो सम्मेलनबाट विष्ट पुनः अध्यक्ष निर्वाचित भए । ०६२/६३ को दोस्रो बसन्त बिद्रोह भइरहँदा उनी प्ररायुसंघको अध्यक्षको जिम्मेवारीमा थिए । ०६४ मा भएको प्ररायुसंघको छैटौं सम्मेलनबाट काङमाङ राई अध्यक्ष चुनिए ।

त्यसअघि ०५६ मा भएको मध्यावधी निर्वाचनमा नै विष्ट जनप्रतिनिधिमा निर्वाचित भइसकेका थिए । त्यो निर्वाचनमा गुल्मी क्षेत्र नं. ३ बाट १८ हजार २० मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका थिए ।

उनीसँग नेपाली कांग्रेसका चल्तापुर्जा नेता त्रैलोक्य प्रताप सेन पराजित भएका थिए । निर्वाचनमा कांग्रेससँग भएको झडपमा विष्टका भाइ गगनको हात काटिएको थियो । गगनको हात अहिले पनि साविक अवस्थामा छैन । ०६४ को संविधान सभा निर्वाचनमा पनि विष्टले गुल्मी ३ बाटै टिकट पाए । तर, नेकपा (माओवादी) का चन्द्रबहादुर थापा ‘सागर’ सँग करिब दुई हजार मत अन्तरले पराजित भए ।

माघ ०६७ मा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका थिए । खनालको मन्त्रिपरिषद्मा विष्ट उर्जा मन्त्री नियुक्त भए। त्यसबेला विद्युत् चुहावट रोकेर र वक्यौता उठाएर उनले चर्चा कमाएका थिए ।

०७० को संविधान सभाको दोस्रो निर्वाचनमा गुल्मी–३ बाट नेपाली कांग्रेसका त्रैलोक्य प्रताप सेनलाई हराउँदै विष्ट १८ हजार ४ सय ३२ मत प्राप्त गरी विजयी भए । असार ०७१ मा भएको नेकपा एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट सचिवका प्रत्यासी बनेका विष्ट सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए । त्यसअघि फागुन ०६५ मा भएको आठौं महाधिवेशनमा खनाल समूहबाट केन्द्रीय सदस्य चुनिएका थिए ।

मंसिर ०७४ को निर्वाचनमा गुल्मी २ बाट ३४ हजार ६ सय १८ मत प्राप्त गरी विजयको माला पहिरिए । उनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५७ मत प्राप्त गरेका थिए । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएका ओलीले विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिएका थिए ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, दैनिक ज्यालादारी कामदारहरुको न्यूनतम पारिश्रमिक निर्धारण र कार्यान्वयन, वैदेशिक रोजगार सूचना प्रणाली जस्ता कामहरु गरेका लोकप्रियता कमाएका थिए ।

तर, ५ मंसिर ०७६ मा प्रधानमन्त्री ओलीले तिनै विष्ट, लालबाबु पण्डित, रघुवीर महासेठ, चक्रपाणि खनाल, थममाया थापा, मातृका यादवलाई मन्त्रीबाट हटाई नयाँ नियुक्त गरे । जानकारका अनुसार वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन नसकेको, श्रम सहचारीहरु आफू अनुकूल नियुक्त गरेको जस्ता आरोपमा ओलीले विष्टलाई मन्त्रिपरिषद्बाट हटाएका थिए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन भन्दै मन्त्री विष्टले अडान लिएपछि मलेसिया, खाडीलगायत मुलुकमा श्रमिकहरु जान एक वर्षसम्म ठप्पै भएको थियो । जसको कारण रेमिट्यान्स बन्द हुँदा सरकारलाई ठूलो घाटा लागेको थियो । यही मौकामा वैदेशिक रोजगार माफियाहरुले प्रधानमन्त्री ओलीको कान भरेर विष्टलाई निष्कासन गर्न लगाएको चर्चा थियो ।

नेता काङमाङ राईका अनुसार विष्ट आदर्श व्यक्ति हुन् । उनलाई वर्तमानको संस्थापन अर्थात ओली पक्षधरहरुले खासै रुचाउँदैनन् । त्यसैले उनी नेपाल समुहतिरै फर्किएका राईको अनुमान छ ।

योगेश भट्टराई २१ भदौ ०२३ मा ताप्लेजुङ जिल्लाको साविक साँघु–३ मा जन्मिएका हुन् । भट्टराई २०३७ सालमा अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा संगठित हुन थालेका थिए । उनी ०४३ सालमै अनेरास्ववियुबाट महेन्द्र रत्न क्याम्पस ताचहलमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति निर्वाचित भइसकेका थिए ।

त्यसअघि ०४१ मा उनी ताचहलकै स्ववियु उपसभापति बनेका थिए । पञ्चायतको दबदबा रहेको त्यो बेला स्ववियु सभापतिलाई ठूलै प्रतिष्ठाका रुपमा लिइन्थ्यो ।

अनेरास्ववियुका विभिन्न तहगत कमिटीहरुका जिम्मेवारीमा रहँदै भट्टराई मंसिर ०५१ मा भएको सम्मेलनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भए ।

तर, उनको यो कार्यकाल सुखद रहेन । सम्मेलनबाट भट्टराई अध्यक्ष र भानुभक्त ढकाल, हाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, महासचिव निर्वाचित भएका थिए ।

स्मरण रहोस्, त्यसबेला भट्टराई महाकाली सन्धिको बिरोधका अगुवाकर्ता वामदेव गौतमका दाहिना मानिन्थे भने ढकाल केपी ओलीका दाहिना । उनीहरुबीचको गुटवन्दीले अनेरास्ववियु हलचल गर्नै नसक्ने अवस्थामा पुग्यो । यसपछि माघ ०५३ मा पार्टी महासचिव माधवकुमार नेपालले हस्तक्षेप गरेर अरुण नेपाललाई अनेरास्ववियुको अध्यक्ष र जगन्नाथ खतिवडालाई महासचिवको जिम्मेवारी दिए ।

फागुन ०५४ मा एमाले औपचारिक रुपमा विभाजन भएपछि भट्टराई माले समूहको अखिलको अध्यक्ष बनाइए । उनले जेठ ०५६ मा रुपनारायण श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गरेर अखिल राजनीतिबाट बिदा लिए । भट्टराईले नेतृत्व हस्तान्तरण गरेका श्रेष्ठ यसबेला ओली समूहमा छन् । फागुन ०६५ मा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनमा झलनाथ खनाल समूहबाट भट्टराई केन्द्रीय सदस्य चुनिए ।

त्यसअघि एमालेको उपत्यका समन्वय कमिटीको सचिव थिए । असार ०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा भट्टराई नेपाल समूहबाट सचिव निर्वाचित भएका थिए । यस महाधिवेशनमा नेपाल–ओली समूहले अध्यक्षदेखि सदस्यसम्म आ–आफ्नो प्यानल उठाएको थियो ।

अहिले नै फरक पार्टी बनाएर जाने कि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई ‘साइज’ मा ल्याउन त्यहीँ भित्र संर्घष गरेर बसिरहने ? भन्नेमा खनाल–नेपाल समूहमा मतभेद । मतभेदकै परिणाम योगेश भट्टराई, गोकर्ण विष्ट, पवित्रा निरौला, गणेश पहाडी, राजबहादुर बुढा क्षेत्रीलगायत ढलपल ।

भट्टराई चैत्र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ मा उम्मेदवार खडा भएका थिए । ९ हजार ८९ मत पाएर उनी तेस्रो भए । त्यसबेला यो क्षेत्रबाट नेकपा (माओवादी) का हितमान शाक्यले बाजी मारे भने नेपाली कांग्रेसका भिमसेनदास प्रधान दोस्रो भएका थिए ।

०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि भट्टराई काठमाडौंका क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए । यसबेला नेपाली कांग्रेसका भिमसेनदास प्रधान निर्वाचित भए । भट्टराई १२ हजार ८ सय ७४ मत पाएर दोस्रो भए ।

जानकारका अनुसार ०७४ को स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुन चाहेका थिए । तर, उनलाई ओलीले मेयरको टिकट दिनै चाहेनन । ओलीले आफू निकट विद्यासुन्दर शाक्यलाई काठमाडौं महानगरपालिकाको मेयरको प्रत्यासी बनाए ।

भट्टराईले प्रदेश नंं. एकको मुख्य मन्त्रीमा आँखा गाडेर जन्मथलो ताप्जेजुङबाट प्रदेश सभा सदस्य उठ्न खोजेका थिए । तर, त्यहाँ पनि ओलीले भोजपुरका शेरधन राईलाई मुख्य मन्त्रीको प्रत्यासी खडा गरे । यसपछि भट्टराई ताप्लेजुङबाटै प्रतिनिधि सभाका लागि चुनावमा होमिएका थिए ।

निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले २९ हजार ४ सय ७९ मत पाएर भट्टराई प्रतिनिधि सभाका लागि निर्वाचित भए । उनका प्रत्यासी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ६ सय ८८ मत प्राप्त गरेका थिए ।

१५ साउन ०७६ मा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको जिम्मेवारी दिएका थिए । त्यसअघि १५ फागुन ०७५ मा भट्टराईकै गृह जिल्ला ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि त्यो मन्त्रालयको जिम्मेवारी ओली आफैंले लिएका थिए । पर्यटन मन्त्रीको कुर्सीमा भट्टराई आशातित सफल हुन नसकेका उनी निकटहरु बताउँछन् ।

जानकारका अनुसार यसबेला ताप्लेजुङमा पनि भट्टराईको अवस्था निकै खस्किएको छ । त्यहाँका पुराना नेता तिलविक्रम मेन्याङ्बोलगायतसँग उनको सम्वन्ध खटपट भएको छ । ओली पक्षधरले उनै मेन्याङ्बोलाई अघि सारेका छन् ।

जानकारका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भट्टराईलाई शीतल निवास बोलाएर प्रधानमन्त्री ओलीलाई साथ दिन सुझाएकी थिइन । त्यसअघि ८ बैशाखमा प्रधानमन्त्रीको सरकारी निवास बालु्वाटार पुगेर उनको ओलीलाई भेटेका थिए भने त्यसपछि पनि प्रधानमन्त्री ओली र भट्टराईबीच भलाकुसारी भएको थियो । स्रोतका भनाइमा ओलीले भट्टराईलाई आउँदो निर्वांचनमा झापा–१ मा टिकट दिएर जिताएर ल्याउने विश्वास दिलाएका छन् ।

एमाले नेता निरज आचार्यका शब्दमा भट्टराई ओलीसँग एक्लै मिल्न जाँदैनन् । उनले अझै पनि एकताकै लागि पहल गरिरहेका छन् । भट्टराईले देउवाका पक्षमा हस्ताक्षर नगर्नुको कारण चाहिँ एमाले अध्यक्षलाई हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन म एमालेको सदस्य हुन्जेल त्यस्तो गर्दिन भनेर सही नगरेका हुन् ।

आचार्यका अनुसार ओलीले कारबाही गरेर साधारण सदस्य समेतबाट निष्कासन गरेपछि तत्काल फरक पार्टी गठन गर्ने कि अन्तरसंर्घष गरेर एकताका लागि दबाव दिइरहने भन्नेमा खनाल–नेपाल समूहमा सामान्य मतभेद छ । भट्टराई, विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरुले तत्काल फरक पार्टी घोषणा गरिहाल्नु हुन्न । फरक पार्टी गठन नगरी एकताका लागि दवाब दिनु पर्छ भन्नेमा जोड दिइरहेका छन् ।

ओली पक्षका पनि ओली स्वयं बाहेक सुवास नेम्वाङ्, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत एमाले विभाजन हुनुहुन्न भन्नेमै छन् । उनीहरु र नेपाल–खनाल समूहका भट्टराई, विष्ट, पाण्डे, भुसाल र भीम रावलबीच अहिले पनि अनौपचारिक संवाद भइरहेको छ ।

‘फरक पार्टी गठन गरिहाल्ने कि अन्तरसंर्घष गरिरहने भन्नेमा सामान्य मतभेद हो’, आचार्य भन्छन्, ‘फरक पार्टी घोषणा गरिहाल्ने भन्दा अन्तरसंर्घष गरिरहुँ । त्यसले घाटा पुर्‍याउँदैन् । शक्ति संचय भइराख्छ । कथंकदाचित फरक पार्टी बनाएर जानु पर्ने भयो भने पनि जनतामा आफ्ना कुरा पु¥याउन सहज हुन्छ भन्ने उहाँहरुको मत हो ।’

पवित्रा निरौला २० माघ ०२० मा झापस्थित दमक– ३ मा जन्मिएकी हुन् । थाहा भएकै कुरा हो, झापा वाम आन्दोलनको उर्वरभूमि हो । त्यही प्रभावबाट १४ वर्षको उमेरदेखि अनेरास्ववियुमा आवद्ध भएकी निरौला पञ्चायतकालमै दमक बहुमुखी क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएकी थिइन् ।

उनी झापा बिद्रोहमा सहभागी भएवापत १७ वर्ष जेल बस्ने मोहनचन्द्र अधिकारी बाहेक दोस्रो पात्र नरेश खरेलकी जीवन संगिनी हुन् । निरौला ०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं. २ मा प्रत्यासी थिइन् ।

उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति सुधीर शिवाकोटीले पराजित गरेका थिए । त्यसबेला सिवाकोटीले १३ हजार ५ सय ५४ र निरौलाले १२ हजार ८ सय २५ मत पाएका थिए । ०७४ को निर्वाचनमा निरौला झापा–२ बाटै ४५ हजार ८ सय १७ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

संयोग ०७४ को निर्वाचनमा पनि उनको प्रतिस्पर्धा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापासँग भएको थियो । थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।

निरौला ०३७ सालमै अखिल नेपाल महिला संघ गाउँ कमिटीमा आवद्ध हुँदै ०४४ सालमा उक्त संघको झापा संयोजक भएकी थिइन् । ०४६ मा काठमाडौंमा भएको अनेमसंघको पहिलो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भइन् ।

०४० सालमा भूमिगत जीवन बिताईरहँदा पक्राउ परी २६ दिन हिरासतमा र दुई वर्ष जेल बसेकी थिइन् । निरौला यसबेला नेकपा (एमाले) प्रदेश नम्बर–१ को सदस्य र अनेमसंघको केन्द्रीय सदस्य छिन् ।

ओलीले प्रतिनिधि सभा विघटन गर्नु अघि उनी संसदको अन्तराष्ट्रिय श्रम सम्वन्ध समितिको सभापति थिइन । जानकारका अनुसार उनलाई श्रीमान नरेश खरेलले ओलीका पक्षमा नउभिन सल्लाह दिएका थिए ।

झापा बिद्रोहमा संलग्न भएवापत आफूभन्दा तीन वर्ष बढी जेल बसेका खरेललाई उनको गुटमा संलग्न नभएकै कारण ओलीले पटकपटक अवसरबाट बञ्चित गर्दै आएका छन् । श्रीमानले दवाब दिएपनि निरौलालाई ओली पक्षले धम्क्याएर अदालतमा उपस्थित भई आफ्नो हस्ताक्षर सनाखत गर्नबाट रोकेका स्रोत बताउँछ ।

गणेश पहाडी ९ असार ०२७ मा सिन्धुलीको खाङसाङ–४ कुडुलेमा जन्मिएका हुन् । उनका बाबु तुलसीराम पहाडी लामो समय प्रधानपञ्च भएका थिए । पहाडी सिभिल इन्जिनियर हुन् । उनी ०३९ सालदेखि अनेरास्ववियुमा आवद्ध भएका थिए ।

०७० को संविधान सभाको दोस्रो निर्वाचनमा पहाडीले सिन्धुली क्षेत्र नंं. १ मा नेकपा (एमाले) को कोटाबाट टिकट पाएका थिए । तत्कालीन नेकपा एकीकृत (माओवादी) का उम्मेदवार लेखनाथ दाहाललाई हराउँदै पहाडी १० हजार ९ सय १ मत पाएर विजयी भएका थिए ।

मंसिर ०७४ को निर्वाचनमा पनि पहाडीले सिन्धुली–१ बाटै टिकट पाए । यस पटक उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमचन्द्र दाहाललाई हराएका थिए । पहाडीले ३२ हजार ५ सय २९ र दाहालले २२ हजार ३ सय ८९ मत पाएका थिए ।

लामो समयदेखि खनाल–नेपाल समूहमा रहेका पहाडी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । जानकारका अनुसार ०७४ को निर्वाचन जितेपछि पहाडीले संसदको विकास समिति सभापति हुन चाहेका थिए ।

आफू इन्जिनियर समेत भएकाले विकासको ‘मोडल’ को खाका तयार गर्ने उनको चाहना थियो । त्यसका लागि घनश्याम भुसाल, योगेश भट्टराईंहरुले माधवकुमार नेपाल समक्ष ‘लविङ’ पनि गरेका थिए ।

तर, नेपालले त्यसलाई वेवास्ता गर्दै रौतहटमा उनका अनुयायी रहेका रामकुमार भट्टराईसँग घरबार जोडेकी बाराकी कल्याणी खड्कालाई विकास समितिको सभापति बनाए ।

जसलाई नेपालले ०६५ मा आफू प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार पनि नियुक्त गरेका थिए । खड्कालाई ओलीले नेपालहरुसँगै पार्टीबाट निष्कासन गरिसकेका छन् ।

स्रोतका अनुसार पछिल्लो पटक खनाल–नेपाल समूहले गठन गरेको वाग्मती प्रदेशमा सचिवको जिम्मेवारी सम्हाल्ने पहाडीको चाहना थियो । तर, नेपालले पहाडीभन्दा निकै कनिष्ठ दोलखाकी रचना खड्कालाई वाग्मती प्रदेशको सचिव बनाए । यसपछि उनी आफूलाई नेपालले पनि अवसरबाट पन्छाइरहेको भन्दै असन्तुष्ट थिए । पहाडी योगेश भट्टराईसँग निकट नेता हुन् ।

राजबहादुर बुढा क्षेत्री ०२३ सालमा दैलेख जन्मिएका हुन् । उनले नेकपा (एमाले) दैलेख जिल्ला जिल्ला कमिटी सदस्य, उपसचिव, भेरी अञ्चल समन्वय कमिटी सदस्य र केन्द्रको सामाजिक सेवा विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।

पञ्चायतकालमा उनी धेरै वर्ष अर्धभूमिगत रूपमा परिचालित भएका थिए । ०४३ सालमै काठमाडौंमा पक्राउ परेर केही समय जेल परेका थिए । ०६२/६३ मा भएको राजा ज्ञानेन्द्रको प्रतिगमन विरोधी आन्दोलनका क्रममा क्षेत्री ३ महिना जेल बसे ।

०६४ को संविधान सभा निर्वाचनमा बुढाले दैलेखको क्षेत्र नं. २ बाट टिकट पाएका थिए । त्यो निर्वाचनमा एमालेले सर्वत्र पराजय भोगिरहेका बेला बुढा १६ हजार २ सय ९२ मत पाएर विजयी भए । ०७० को निर्वाचनमा उनका ठाउँमा लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिइयो ।

पोखरेल पनि जनताबाट निर्वाचित भए । ०७४ को निर्वाचनमा बुढाले पुनः टिकट पाएर २३ हजार ३ सय २३ मत प्राप्त गरी विजयी भए । उनीसँग नेपाली कांग्रेसका पुराना नेता शिवराज जोशी पराजित भएका थिए । बुढा निकै लामो समयदेखि खनाल–नेपाल समूहमा थिए ।

देउवालाई प्रधानमन्त्री बनाउने कागजातमा अघिल्लो दिन हस्ताक्षर गरेर पनि बुढा सर्वोच्च अदालतमा सनाखत गर्न गएनन् । उनले निकटवर्तीहरुसँग ज्वरो पनि आयो । पानी पनि पर्‍यो । त्यसैले अदालतमा गइन है भन्ने गरेका छन् ।

तर, उनलाई साचिँकै ज्वरो आएको हो कि ओली समूहको दवाबका कारण तापक्रम बढेको हो । सहकर्मीहरुले नै खुट्याउन सकेका छैनन् । केही समय अघि नेपालका विस्वास पात्र रहेका दैलेखकै विष्णु रिजाल ओली समूहलाई साथ दिन पुगेका थिए । उनै रिमालमार्फत अदालतमा सनाखत गर्ने दिन बुढामा ‘ज्वरो उतारिएको’ निकटवर्तीहरु अनुमान गर्छन् ।

लामो समयदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका स्वकीय सचिव रहेका ताहाचल क्याम्पसका पूर्वस्ववियु सभापति मोहन गौतमका भनाइमा ‘ओलीले फरक आवाजलाई दमन गरिरहेका छन् । उनले चालेको कदम अग्रगामी छैन । उनलाई सच्याउनै पर्छ’ भन्नेमा नेपाल–खनाल समूहका सबै नेताहरु एक मत छन् । उनीहरुबीच एउटा कुरामा मात्र फरक छ ।

त्यो हो, अहिले नै फरक पार्टी बनाएर जाने कि त्यहीँ भित्र संर्घष गरेर बसिरहने ? ओलीलाई ‘साइज’ मा ल्याउन कांग्रेससँग सहकार्य गरेर जाने विषयमा पनि नेताहरुबीच खासै समस्या छैन ।

‘माधव नेपाल वा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ । ओलीबाट हुँदैन भन्नेमा विष्ट, भट्टराई, पाण्डे, भु्सालहरु सबै सहमत हुनुहुन्छ । संसदमा उपस्थित भएर फ्लोरक्रस गर्नु भन्दा सामुहिक राजीनामा दिने वा उपस्थित नै नहुने उपयुक्त हो भनेर नेपाल–खनाललाई सुझाव दिनु भएको भट्टराई–भुसाललगायतले नै हो’, गौतम भन्छन्, ‘वरिष्ठ नेताहरु नेपाल–खनाल भट्टराई, विष्ट, पाण्डे, भुसालहरुकै एजेण्डामा हिडिरहनु भएको छ । त्यसैले विष्ट, भट्टराई ओली समूहमा गइसक्नु भयो भन्ने कुरा गलत हो । उहाँहरु त्यसरी जानुहुन्छ भन्ने लाग्दैन ।’

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८, १२:०१:३५