NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

काठमाडौं मेडिकल कलेज फेरि किनबेच हुँदै !

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलका अध्यक्ष डाक्टर सुनिल शर्मा केही दिन अघिदेखि विराटनगरमा थिए । उनी आज २० जेठमा काठमाडौं आए । अरुबेला पनि उनी काठमाडौं आउथे । जान्थे । यो खासै ठूलो कुरा थिएन । तर, कोभिड–१९ नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा लगाईरहेको यही बेला शर्माको काठमाडौं आगमनको अर्थ अलि व्यापक भएको स्रोतले बताउँछ ।

जानकारका अनुसार काठमाडौं मेडिकल कलेजको ठूलो कारोबार गर्ने उदेश्यसहित शर्मा आज काठमाडौं आएका हुन् । शर्माले गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई केएमसी कलेज सिनामंगल बिक्री गर्न लागेकाे उक्त स्रोतको दाबी छ । महतो रसिया बसेर व्यापार/व्यवसाय गर्ने नेपाली मुलका अर्बपति व्यापारी हुन् ।

महतोको ललितपुरको नख्खु खोला किनारमा नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा छ । उनले मेडिसिटी अस्पतालमै मेडिकल कलेज (चिकित्सा विज्ञान अध्ययन) सञ्चालन गर्न चाहेका थिए । तर, डाक्टर गोविन्द केसीको आन्दोलनका कारण पूर्वाधार अपुगलगायतका कारण अनुमति पाउन सकेका छैनन् । जन्म जिल्ला सिरहामा पनि महतोले स्वर्गीय आमा फूलकुमारी महतोका नाममा अस्पताल सञ्चालन गरिरहेका छन् ।

काठमाडौं मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित नेपालकै पुरानो र प्रतिष्ठित मेडिकल कलेज हो । ०५६/०५७ सालमा क्षेत्रपाटीबाट नेशनल अस्पतालका नाममा यो कलेज सञ्चालनमा आएको थियो । पछि नाम परिवर्तन गरेर काठमाडौं मेडिकल कलेज राख्दै सिनामंगलमा सारिएको थियो ।

एमडी, एमबिबिएस, बिडिएस, बिएन नर्सिङ, पिसिएल नर्सिङलगायत गरी काठमाडौं मेडिकल कलेजमा चार सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । एमबिबिएस अध्ययनरत विद्यार्थीहरुबाट अतिक्ति शुल्क बढी लिएको भन्दै देशभरका निजी मेडिकल कलेजहरु बिबादको केन्द्रमा थिए । तर, काठमाडौं मेडिकल कलेज बिबादरहित थियो ।

नेपालकै पुरानो र प्रतिष्ठित यही काठमाडौं मेडिकल कलेजलाई महतोले १६ अर्ब हाराहारीमा खरिद गर्न लागेका जानकारको भनाइ छ । काठमाडौं मेडिकल कलेजमा करिब १२ सय कर्मचारी (डाक्टरहरुसहित) कार्यरत छन् । त्यसमध्ये करिब दुई सय कर्मचारी (डाक्टरसहित) स्थापनाकालदेखिका छन् ।

उनीहरुले मासिक न्यूनतम १५ हजारदेखि १० लाख रुपैयाँसम्म तलव खान्छन् । ‘केएमसीलाई शर्माले एक वर्ष अघि खरिद गरेका थिए । अहिले उपेन्द्र महतोलाई १६ अर्ब रुपैयाँ हाराहारीमा बिक्री गर्न उनीहरुबीच छलफल, कुराकानी भइरहेको छ’, स्रोत भन्छ, ‘कुरा मिले लकडाउनमा नै उनीहरुबीच लेनदेनको कारोबार हुने देखिन्छ ।’

तर, केएसमीका अध्यक्ष डा. सुनिल शर्मा भने हल्ला गलत भएको र आफूहरु बाँचुन्जेल केएमसी नबेच्ने बताउँछन् । उनी भन्छन्, ‘हामी बाँचुन्जेल केएमसी बिक्री हुँदैन । नातीका पालामा भने थाहा छैन ।’

मुलुक कोरोना भाइरसको संक्रमणले आक्रान्त भइरहेका बेला गत भदौमा शर्माले काठमाडौं मेडिकल कलेजको बहुमत हिस्सा सेयर खरिद गरेका थिए । केएमसीको बहुमत स्वामित्व लिएसँगै १५ भदौ ०७६ मा शर्माले अध्यक्षको पदभार ग्रहण गरेका थिए । त्यसअधि उनको स्वामित्वमा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालनमा थियो ।

काठमाडौं मेडिकल कलेज (केएमसी) को कुल ६० लाख नौ हजार पाँच सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख नौ हजार पाँच सय ५३ कित्ता र सर्वसाधारणका नाममा पाँच लाख कित्ता सेयर थियो । जसमध्ये शर्माले २८ लाख ३१ हजार ६७ कित्ता सेयर खरिद गरेका थिए ।

शर्माले केएमसीको उक्त बहुमत कित्ता सेयर एक अर्ब ७० करोड रुपैयाँमा खरिद गरेको कागजात बनाइएको छ । केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर खरिद गर्न शर्मालाई सिद्धार्थ, सानिमा, बैंक अफ काठमाडौंलगायत ११ वटा बैंकले ऋण लगानी गरेका कागजात तयार पारिएको थियो । त्यसबेला शर्माले खरिद गरेको सेयरको मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका डाक्टर सुनिल शर्माले गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल १६ अर्ब रुपैयाँमा बिक्री गर्न लागेका जानकारको दाबी छ । यद्यपि डा. शर्मा आफूहरु बाँचुन्जेल केएमसी नबेच्ने बताउँछन् । भन्छन्, ‘हामी बाँचुन्जेल केएमसी बिक्री हुँदैन । नातीका पालामा भने थाहा छैन ।’

यद्यपि स्रोतको दाबी के छ भने भक्तपुर दधिकोटको निर्माणधीन पूर्वाधार, जग्गासहित केएमसीको कारोबार आठ अर्ब रुपैयाँमा भएको थियो । तर, राज्यलाई कर, राजश्व आदि छल्नका लागि मात्र एक अर्ब ७० करोडको कारोबार देखाइएको जानकारको दाबी छ । केएमसीका अध्यक्ष शर्मा एक अर्ब ७० करोडमा नै खरिद गरिएको बताउँछन् ।

केएमसीका सञ्चालकहरू राधेश पन्त, रवीन्द्रराज (आर.आर) पाण्डे, शशीराज पाण्डे, शिवान्तराज पाण्डेलगायत हुन् । शर्माले उनीहरु लगायतको स्वामित्वमा रहेको २८ लाख ३१ हजार ६७ कित्ता सेयर एक अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँमा खरिद गरेका थिए ।

अर्थात केएमसीको कुल सेयरको ४७.१ प्रतिशत र संस्थापक सेयरको ५१.३८ प्रतिशत खरिद गरेर शर्मा भित्रिएका थिए । केएमसीको नाममा संंस्थापक तीन सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) सात सय १८ जनाको ३० प्रतिशत सेयर थियो ।

केएमसीले स्थायी कर्मचारीहरुलाई तलवका अतिरिक्त उपदान, सञ्चय कोष आदिको व्यवस्था व्यवस्था गर्दै आएको छ । जुन संसारभरीको प्रचलन हो । पुराना कर्मचारीहरुले वर्षको डेढ महिनाको उपदान पाउने नियमावलीमा व्यवस्था छ । संचय कोष पनि तलवको १० प्रतिशतमा त्यति नै थप गरेर संचित गर्नुपर्छ । जानकारका अनुसार केएमसीको बहुमत हिस्सा सेयर आफ्नो स्वामित्वमा लिएलगत्तै शर्माले उपदान, संचय कोषका लागि सामाजिक सुरक्षा कोषमा जाने घोषणा गरेका थिए ।

तर, पुराना कर्मचारीहरुले आफ्नो विगतको हिसाव मिलान गरेर मात्र सामाजिक सुरक्षा कोषमा जानुपर्ने अडान राखिरहेका छन् । स्थापनाकालदेखिका कर्मचारीहरुको उपदान, संचय कोषका लागि न्यूनतम एक अर्ब दायित्व बहन गर्नु पर्ने हुन्छ । किनभने उपदान/संचय कोष गरी कम तलव खाने कर्मचारीहरुको पनि कम्तिमा ५ लाखदेखि धेरै बुझ्ने कर्मचारी/डाक्टरको ५०/६० लाखसम्म रकम चुक्ता गर्नु पर्नेछ ।

तर, शर्माले त्यो रकम चुक्ता नगरी एकै पटक सामाजिक सुरक्षा कोषमा जाने प्रस्ताव राखिरहेका छन् । उक्त प्रस्तावलाइ कर्मचारी/डाक्टरहरुले स्वीकार गरिरहेका छैनन् । स्थापना कालदेखि नै कार्यरत कर्मचारीहरुले विगतको उपदान, संचय कोष, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थालगायत हिसाव फरफारक गरेर मात्र सामाजिक सुरक्षा कोषमा जान दबाब दिइरहेका छन् ।

कर्मचारीहरुको यस्तो अडानपछि उनीहरुलाई मनोवैज्ञानिक दबाबमा पार्न पनि शर्माले केएसमी बिक्रीको प्रचार गरिरहेका त्यही कार्यरत उच्च तहका एक जना डाक्टरको भनाइ छ । भन्छन्, ‘शर्माले अरु मेडिकल कलेज त किन्न खोजिरहेका छन् । नेपालकै यति पुरानो र प्रतिष्ठित मेडिकल कलेज बेच्लान भन्ने लाग्दैन ।’

खरिद गरेको तुलनामा मुनाफाको अंक धेरै आउने भएपछि शर्माले काठमाडौं मेडिकल कलेज सिनामंगल बिक्री गरेर नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी वा नेपालगञ्ज मेडिकल कलेज खरिद गर्ने मनसाय बनाएका स्रोतको जिकिर छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८, १९:००:३९