NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

महामारी नियन्त्रणका लागि अनुदानमा आएका स्वास्थ्य सामग्री स्वास्थ्य विभागबाटै गायब

काठमाडाैं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले उपलब्ध गराएको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागबाटै हराएको छ ।

स्वास्थ्य सेवा विभागको दोहोरो तथ्यांक र अस्पतालमा पुगेका स्वास्थ्य सामाग्रीको तथ्यांकले स्वास्थ्य सामग्री हराएको पुष्टि गरेको हो । स्वास्थ्य सेवा विभागका प्रवक्ता महेश पाण्डेले नेपालवाचसँगको कुराकानीमा अनुदानबाट आएको स्वास्थ्य सामग्री हराएकाबारे बुझ्ने बताए ।

कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । उनीहरुले अनुदानमा नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा पञ्जा, सर्जिकल मास्कदेखि भेन्टिलेटरसम्मका स्वास्थ्य सामाग्रीका सूची छन् ।

त्यस्ता सामान विभागले विभिन्न सरकारी तथा सामुदायिक अस्पताललाई वितरण गर्ने क्रममा विभागबाटै हराएको हो । विभागले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता अनुदानमा प्राप्त सबै स्वास्थ्य सामग्री देशभरका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरेको जनाएको छ । विभागले अनुदानबाट प्राप्त स्वास्थ्य सामग्री र ती सामग्री कुन–कुन स्वास्थ्य संस्थालाई कुन कुन सामान कति संख्यामा वितरण गरियो भन्ने विवरण सार्वजनिक गरेको छ ।

त्यो तथ्यांकमा अनुदानबाट प्राप्त सामग्री र वितरण भएको स्वास्थ्य सामाग्रीवीचको हिसाब मिल्दैन । फरक पर्न आएको संख्याको स्वास्थ्य सामाग्रीबारे विभागले कुनै जवाफ दिन सकेको छैन । विभागबाट अनुदानबाट आएका अक्सिजनका ६ सय ६२ वटा सिलिण्डर गायब बनाइएको छ ।

कतिसम्म भने विभागले अस्पताललाई दिएको भनेर तथ्यांकमा देखाएका सामग्री ती अस्पतालमा पुगेका छैनन् । उपत्यकाकै अस्पतालमा पठाइएका अक्सिजन सिलिण्डरदेखि भेन्टिलेटरसम्म बीचबाटोबाटै हराएका छन् । ती सामग्री तोकिएको अस्पतालमा पुगेको छैन ।
स्वास्थ्य सेवा विभागका प्रवक्ता महेश पाण्डे विभागमा अनुदानबाट आएका कुनै पनि स्वास्थ्य सामग्री नरहेको बताउँछन् ।

उनी विभागसँग भएका सबै स्वास्थ्य सामग्री विरतण भइसकेको बताउँछन् । विभागलाई विभिन्न निकायले अनुदानमार्फत हालसम्म ६ हजार २४५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । विभागले ती सबै सामग्री वितरण भइसकेको जनाएको छ । दुई वटा भिन्न भिन्न विवरण सार्वजनिक गरेर विभागले अनुदानबाट प्राप्त सबै स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थाहरुमा वितरण गरेको जनाएको हो । उसले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वैशाख १ गतेदेखि २४ जेठसम्म विभागबाट ५ हजार ५ सय ८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ ।

त्यस्तै, विभागले गत अघिल्लो आइतबार पनि कुन अस्पतालमा कुन सामग्री कति संख्यामा वितरण गरेको हो, त्यसबारे विवरण सार्वजनिक गरेको थियो । उक्त विवरण अनुसार विभिन्न स्वास्थ्य संस्थाहरुमा विभागले ५ हजार ५ सय ४३ वटा अक्सिजन सिलिण्डर वितरण गरको थियो ।
यसरी विभागले दुई किसिमको तथ्यांक उपलब्ध गराएको छ । दुईमध्ये अस्पतालको नामसहित वितरण गरिएको भनिएको तथ्यांकलाई नै आधार मान्दा पनि अनुदानबाट प्राप्त १ सय ६४ वटा अक्सिजन कन्सर्नट्रेटर विभागबाटै गायव भएका छन् ।

किनकी विभागले देशभरका विभिन्न अस्पतालमा ९ सय ७० वटा कन्सर्नट्रेटर वितरण गरेको जनाएको छ । जबकी अनुदानमा आएको कन्सर्नट्रेटरको संख्या नै १ हजार १ सय ३४ रहेको छ । यसरी विभागबाट अक्सिजन कन्सर्नट्रेटर मात्रै १ सय ६४ थान हराएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार जेठ २१ गतेसम्म नेपाललाई युयसऐड, स्वीट्रल्यान्ड दुतावास, टिमासेक पिपिराइड पिटिइ प्रा.लि. सिंगापुर, एफएचआइ ३६०, चीन सरकार, फिनल्यान्ड दुतावास, डाइरेक्ट रिलिफ, वल्ड भिजन इन्टरनेसनल, करुना फाउन्डेसन, युनिसेफ, एनआरएनए (ओमन), बेलायत सरकार, सिएनआइ, एनसिएल, स्पेन सरकार, वान हर्ट वल्ड वाइड, टिजेटयु सिएचआइ फाउन्डेसन, थाइल्यान्ड सरकार, आइएमई फाउन्डेसन, तिब्बत सान्तोङ्ग चीन, चीनियाँ सांस्कृतिक मेडिकल ग्रुप, फ्रान्स, युएई र जापान सरकारले स्वास्थ्य सामाग्री अनुदानमा उपलब्ध गराएका थिए ।

उनीहरुबाट नेपाल सरकारलाई विभिन्न प्रकारका कुल सख्या १ करोड ५२ लाख ४२ हजार ४ सय ८६ थान स्वास्थ्य सामग्री उपलब्ध भएका थिए । जसमध्ये ९ लाख ३२ हजार ५ सय वटा पञ्जा, १ लाख २४ हजार २ सय वटा फेस सिल्ड, ११ लाख ८७ हजार ८ सय ४० वटा मास्क (एन ९५, सर्जिकल मास्क लगायत), ५ हजार ६ सय वटा संक्रमितको मृत्युमा प्रयोग गरिने झोला र १ लाख ८० हजार वटा पिपिइ थिए ।

यस्तै १२ लाख ६५ हजार २५ वटा एन्टिजेन किट, १ हजार १६४ वटा अक्सिजन कन्सर्नट्रेटर, १ हजार वटा एक्सिजन नेसल क्यानुला, ४ हजार १ सय वटा पल्स अक्सिमिटर, ९५ वटा भेन्टिलेटर, ६ हजार २४५ वटा अक्सिजन सिलिन्डर (लिक्विड अक्सिजन सिलिन्डर १५० वटा सहित), २ वटा आरएनए एक्सट्राक्सन मेसिन, गाउन लगायतका सामग्री छन् ।

तथ्यांकमा मात्रै अस्पताल पुग्यो स्वास्थ्य सामग्री

स्वास्थ्य सेवा विभागले गत बिहीबार सार्वजनिक गरेको तथ्यांकमा देशभरका विभिन्न अस्पताललाई एन्टिजेन किट, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सर्नट्रेटर लगायतका सामग्री कति संख्यामा वितरण गरियो भन्ने उल्लेख गरिएको छ । तर तथ्यांकअनुसार स्वास्थ्य सामग्री वितरण भइसकेको भनिएका अस्पतालमा भने ती सार्वजनिक गरिएको तथ्यांक अनुसारको सामग्री पुगेको छैन ।

स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भक्तपुर अस्पताललाई ३ वटा अक्सिजन अन्सनट्रेटर र एउटा भेन्टिलेटर उपलब्ध गराइएको छ । तर, अस्पतालमा आयात हुने सामग्रीको विभाग सम्हाल्ने कृष्णप्रसाद आचार्यले दोस्रो लहर सुरु भएयता विभागबाट अस्पताललाई दुई वटा मात्रै अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराएको जनाएको छ । विभागले भक्तपुर अस्पतालको नामबाटै एक थान अक्सिजन कन्सर्नट्रेटर र एक थान भेन्टिलेटर गायव पारेको हो ।

अस्पतालका आचार्य भन्छन्, ‘दुई वटा अक्सिजन कन्सर्नट्रेटर मैले नै लिएर आएको हुँ । भेन्टिलेटर दिने कुरा थियो । तर, भेन्टिलेटर अहिलेसम्म आएको छैन ।’ यस्तै विभागको तथ्यांकमा बर्दिया जिल्ला अस्पताललाई ३० वटा अक्सिजन सिलिण्डर दिइएको छ । तर, अस्पतालका प्रवक्ता बसन्त खनालले हालसम्म विभागबाट जम्मा १० वटा अक्सिजन सिलिण्डर मात्र प्राप्त भएको जनाए ।

उनका अनुसार अस्पतालले स्वास्थ्य सेवा विभागबाट ४० लिटर क्षमताको १० थान अक्सिजन सिलिन्डर मात्रै पाएको छ । त्यस्तै, विभागको तथ्यांकअनुसार बाह्रबिसे आधारभूत स्वास्थ्य केन्द्रलाई १० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइएको छ । तर, अस्पतालले भने हालसम्म एउटा पनि सिलिन्डर प्राप्त नभएको जनाएको छ । अस्पतालका पदाधिकारी भलाकाजी राई भन्छन्, ‘पाँच वटा दिने भनेको थियो तर, यहाँ स्वास्थ्य केन्द्रमा अहिलेसम्म एउटा पनि आएको छैन ।’

काठमाडौं भित्रकै प्रमुखमध्येको एक त्रिवि शिक्षण अस्पतालमा पनि विभागले तथ्यांकमा उल्लेख गरेअनुसारका स्वास्थ्य सामग्री पुगेका छैनन् । अस्पतालका प्रवक्ता रामहरी कार्कीले हालसम्म त्रिविमा स्वास्थ्य मन्त्रालयअन्तर्गत विभागबाट ३ वटा भेन्टिलेटरमात्रै उपलब्ध भएको जानकारी दिए ।

अस्पतालमा रहेका ६० वटा भेन्टिलेटरमध्ये ३ वटा मन्त्रालयबाट आएको उनी बताउँछन् । उनले भने, ‘हामीलाई मन्त्रालयमार्फत आउँदा तीन वटा भेन्टिरलेटर आएको हो । विभागमार्फत अक्सिजन सिलिन्डर आएको छैन ।’

विभागको गैरजिम्मेवार जवाफ, बाटोमा ढिलो भयो की ?

महामारी नियन्त्रणमा आएका स्वास्थ्य सामाग्री गायब भएको सन्दर्भमा विभागले गैरजिम्मेजार जवाफ दिएको छ ।विभागका प्रवक्ता महेश पाण्डेले वितरण भएका ती सामाग्री प्रदेश वा स्थानीय तहमा रोकिएको हुनसक्ने बताए । स्वास्थ्य महामारी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएको विभागले उपलब्ध स्वास्थ्य सामाग्री सम्वन्धित निकायमा समयमा पुर्याउनु उसको जिम्मेवारी हो ।

कुन सामग्री कहाँ पुगे भन्ने जानकारी समेत नराखेको विभागले एक हप्ताअघि पठाएको सामाग्री वीचबाटोमै रोकिएको होला भनेर गैरजिम्मेवार जवाफ दिएको हो । प्रवक्ता पाण्डेले भने, ‘हामी यहाँबाट पठाएको हो । उता अस्पताल पुगेको छैन भने बीचमा कुनै निकायबाट वितरण गर्न ढिलाई भएको हुनसक्छ ।’

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८, ०८:२२:००