सबा तीन अर्ब खर्चेर बनाएको नारायणगढ–मुग्लिन सडकमा तीन वर्ष नपुग्दै पहिरैपहिरो
भौगर्भिक अध्ययनमा त्रुटीदेखि, स्थानीय सरकारको हेरचक्रयाईं

काठमाडौं । साँघुरो सडकमा पहिरो लगायतका प्राकृतिक विपत्ति निम्तिरहने भएपछि त्यसलाई रोक्न भन्दै सरकारले २०७२ देखि नारायणगढ–मुग्लिन सडक स्तरोन्नतीको काम अघि बढायो । विश्व बैंकको दुई अर्ब ९० करोड ऋण सहायतामा नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालन गरियो ।
नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म ३३ किलोमिटर दूरीको सडक स्तरोन्नतीको काम सक्न तीन वर्ष लाग्यो । ठेक्का पाएका तीन निर्माण कम्पनीले ढिलासुस्ती गरेर आयोजना लामो समय त्यत्तिकै झुलाइरहे, पाँच पटक त म्याद नै थप गरियो । दुई वर्षमा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता पनि निर्धारित समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना सकियो ।
समय बढेअनुसार लागत झन्डै ४० करोड बढी लाग्यो । एसियन मापदण्डमा बनेको भनिएको यो सडक सुरुताका खुब झकिझकाउ देखिन्थ्यो । तर, यति धेरै समय र लगानी खर्च भएको यो आयोजना फेरि उस्तै समस्याग्रस्त भएको छ ।
निर्माण सकिएको तीन वर्ष नपुग्दै यो सडकमा साविकझैं समस्या निम्तिएको छ । वर्षाका कारण सडकमा पहिरो खस्न थालेको छ । तारन्तर पहिरो खस्न थालेपछि विगत एक सातादेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका छन् ।
कैयौं स्थानमा पहिरो
अहिले नारायणगढ–मुग्लिन सडक खण्डका धेरै स्थानमा तारन्तर पहिरो खसिरहेका छन् । सडक डिभिजन चितवनका अनुसार पहिरो खस्ने मुख्य समस्या २० किलोमा देखिएको छ भने ४ किलो र ५ किलोमा पनि पहिरो खसिरहेको छ । सडकको माथिल्लो भागबाट सडकमा पहिरो खसिरहेको छ भने तल्लो भागबाट पनि पहिरो बग्ने क्रम उस्तै छ । लगातारको वर्षाका कारण पहिरो थामिन सकेको छैन ।
अहिले पहिरोको सबैभन्दा ठूलो समस्या देखिएको २० किलोमा यो वर्ष अचानक पहिरो बग्न थालेको सडक डिभिजन कार्यालय चितवनका प्रमुख बाबुराम सापकोटा बताउँछन् । ‘माथिबाट हेर्दा केही देखिन्न, बीचमा पानीकाे मूल फुटेको देखिन्छ, त्यसैले पहिरो ल्याएको छ,’ सापकोटा भन्छन्, ‘त्यो स्थानमा धेरै पहिले पहिरो बग्दो रहेछ, बीचमा रोकिएर अहिले पुनः मूल फुटेर पहिरो ल्याएको छ ।’
अहिले नयाँनयाँ स्थानमा पहिरो बग्न थालेको उनी बताउँछन् । निरन्तर पहिरो खस्न थालेपछि सम्हालिनसक्नुको स्थिति बनेको सडक डिभिजन बताउँछ ।
‘अहिले त आयोजना बनाउनुपूर्वकै स्थिति देखिन थालेको छ,’ डिभिजन प्रमुख सापकोटा बताउँछन् । कार्यालयले पहिरो रोक्ने प्रयास गरे पनि थामिन नसकेको उनको भनाइ छ । ‘पहिरो गएको ठाउँमा नियनत्रणको प्रयास गर्यो फेरि अचानक अर्को पहिरो आइदिन्छ ।’
निर्माणमै त्रुटी
राजधानी काठमाडौंलाई तराइसँग जोड्ने प्रमुख सडक सञ्जाल अन्तर्गतको नारायणगढ–मुग्लिन खण्डमा किन यसरी पहिरो खसिरहेको छ त ? सडक डिभिजन कार्यालय चितवनका प्रमुख सापकोटा उक्त सडक खण्डमा पहिरो आउने कुरा कल्पनै नगरिएको बताउँछन् । ‘नयाँ-नयाँ स्थानमा पहिरो गइरहेको छ,’ उनी भन्छन्, ‘कतिपय स्थानमा पहिले पनि पहिरो जान्थ्यो, तर अहिले नसोचिएका स्थानमा पनि पहिरो खसिरहेको छ ।’
३३ किलोमिटर सडक स्तरोन्नतीका लागि खर्च गरिएको सबा तीन अर्बको लगानी ठूलो हो । रकममात्र होइन यसमा साढे तीन वर्षको समय पनि लगानी भएको छ । त्यति ठूलो लगानी भएको सडक यति छोटो समयमा नै पहिरो बग्नुले आयोजना निर्माणमै त्रुटी भएको स्पष्ट छ ।
चितवन सडक डिभिजनका प्रमुख सापकोटा आफूहरू सडक इन्जिनियर भएकाले भौगर्भिक र जैविक पक्षहरूका विषयमा जानकार नहुने बताउँछन् । ‘यसका लागि भौगर्भिक र जैविक अध्ययन आवश्यक हुन्छ, किन पहिरो खसिरहेको छ भन्ने विषय हामी भन्न सक्दैनौं ।’
कुनै पनि पूर्वाधार आयोजना निर्माण गर्दा त्यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआइए), भौगर्भिक अध्ययन गरेर भविश्यमा निम्तिनसक्ने जोखिमको आकलन गरिन्छ । तर, नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएदेखि नै समस्या देखिएको हो ।
निर्माणकै क्रममा सम्भाव्य भौगोलिक चुनौतिका विषयमा अनुमान गर्न किन नसकिएको भन्ने विषयमा उनी भन्छन्, ‘पोहोरपरार सामान्य पहिरो खस्ने भए पनि यो तहको जोखिम देखिएको थिएन ।’ अब यसको पुनः भौगर्भिक र जैविक अध्ययन आवश्यक रहेको सापकोटा बताउँछन् ।
सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिव नेपाल यो वर्ष औसतभन्दा बढी वर्षा भएकाले पनि बढी पहिरो बगेको बताउँछन् ।
पहिरोको समस्या बढ्नुमा बिना अनुमति जथाभावी पहुँचमार्ग खोल्नुलाई उनी प्रमुख कारण औंल्याउँछन् । ‘स्थानीय स्तरमा जथाभावी सडक खन्ने प्रवृत्तिले पहिरो निम्त्याएको हो ।’ उनी भन्छन् । सडकमा निम्तिनसक्ने जोखिमको बेवास्ता गरेर कतिपय स्थानमा घडेरी प्लटिङ समेत गरिएको उनी बताउँछन् ।
‘२० किलो भन्ने स्थान जहाँ सबैभन्दा बढी पहिरो बगेको छ, त्यसको माथिल्लो भागमा प्लटिङ भएको देखिन्छ, यस्ता गैरजिम्मेवार कामले जोखिम निम्त्याउने नै भयो नि !’ स्थानीय तह र प्रदेश सरकारहरूले जथाभावी सडक र पहुँचमार्ग खोल्ने तथा भइरहेका त्यस्ता गतिविधि रोक्नतिर ध्यान नदिँदा त्यसले राजमार्गलाई असर गरेको उनी बताउँछन् ।
आयोजना निर्माणको त्रुटी औंल्याउँदै उनी भन्छन्, ‘आयोजना निर्माण गर्नुपूर्व पर्याप्त अध्ययन नपुगेको पनि हुनसक्छ ।’ महालेखापरीक्षक कार्यालयले गरेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनले पनि आयोजनाको विस्तृत सर्वेक्षण, डिजाइन र लागत अनुमान यथार्थपरक नभएको भन्दै प्रश्न उठाएको थियो ।
संघीय राजधानी काठमाडौंको ‘लाइफलाइन’ मानिने यो सडकमा समस्या आउँदा त्यसले आवतजावतमा असर गरेको छ । यो सडक हुँदै दैनिक १० हजार सवारीसाधन आवतजावत गर्छन् ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८, १९:५९:००
प्रतिक्रिया