NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रविधिले बदलेको बजार प्रणाली : दैलोमै पुग्छन् खाद्यान्न, तरकारीदेखि डाक्टर नर्ससम्म

अनिता मगर/काठमाडौं । समय यस्तो थियो, नेपालकै एक ठाउँबाट अर्को ठाउँमा सन्देश आदानप्रदान हुन हप्तौं लाग्थ्यो । यातायात पहुँच र प्रविधिको विकास नहुँदा मौखिक वा हुलाकबाटै खबर आदानप्रदान गर्नुपथ्र्यो ।

ग्रामीण क्षेत्रका अघिल्लो पुस्ताका अधिकांशसँग नुनका लागि भोट पुगेको, तेल, मरमसला र लत्ताकपडाका लागि कयौं दिनको पैदल यात्रा गरेर काठमाडौं तथा तराई पुगेर फर्केका अनुभव छन् ।

तर, अब समय फेरिएको छ । देशभित्रको त कुरै छाडौं सात समुद्रपारीका मुलुकको खबर निमेषभरमै आइहाल्छ । रोजगारीका लागि पृथ्वीको अर्कै गोलार्धमा पुगेका आफन्तजनसँग प्रत्यक्ष कुराकानी हुन्छ ।

सञ्चार तथा सूचना प्रविधिको विकासले भौतिक दूरीलाई नामेट गरिदिएको छ । संसार एउटै गाउँजस्तो बनेको छ ।

रेडियो, टेलिभिजन, टेलिफोन, फ्याक्स, इमेल जस्ता सञ्चार प्रविधि अब पुराना भइसके । सञ्चार तथा सूचना प्रविधिको अभूतपूर्व विकास अब तपाईंको दैनन्दिन जीवनसँग जोडिसकेको छ ।

धेरै हदमा प्रविधिको प्रयोग अहिले अत्यावश्यक भइसकेको छ । अब नचाहेरै पनि यसलाई अंगाल्नुपर्ने बाध्यकारी परिस्थिति आइसकेको छ ।

स्रोत र प्रविधिको सामान्य ज्ञानमात्र हुनुपर्छ, भौतिक रुपले तपाईंको दुःखका दिन सकिएका छन् । भौतिक रुपमा निकै कष्टसाध्य र झन्झटिला काम पनि प्रविधिको सहायताले सहजै सम्पन्न हुने भएका छन् ।

प्रविधि र इन्टरनेटमा आधारित कयौं काम गरेर तपाईं घरै बसीबसी लाखौं आम्दानी पनि गर्न सक्नुहुन्छ ।

लुगा धुने, खाना बनाउने, किनमेल गर्ने जस्ता घरायसी कामदेखि, कतै टाढाको यात्राका लागि सवारी व्यवस्थापन गर्नुपर्ने, आर्थिक कारोबारसम्मका लागि दौडधुप गर्नै पर्दैन ।

अझ पछिल्लो समय त व्यापार÷व्यवसायका लागि कम्पनी खोल्नुपर्ने, लेखापरीक्षण गर्नुपर्ने, कर तिर्नुपर्नेदेखि स्वास्थ्य उपचारका लागि घरैमा स्वास्थ्यकर्मी उपलब्ध हुनेसम्मका सुविधा सहजै प्राप्त हुन्छन् ।

सबैखालका सेवासुविधाको भएको खासगरी शहरी क्षेत्रमा यस्ता ‘होम सर्भिस’ उपलब्ध छन् । यहाँ पछिल्लो समय फस्टाएका नवप्रवर्तनमुखी र ‘होम सर्भिस’का व्यवसायका बारेमा चर्चा गरिएको छ :

अस्पताल जानै पर्दैन, घरमै आउँछन् स्वास्थ्यकर्मी

कोभिड–१९ को संक्रमण फैलिएसँगै अस्पताल जान पनि जोखिम छ । त्यसमाथि नियमित औषधि लिनुपर्ने दीर्घरोगी, सिकिस्त बिरामी तथा वृद्धवृद्धाका लागि नियमित अस्पताल जान तथा लैजानु उस्तै कष्टसाध्य हुन्छ ।

तर, अब यसको पनि विकल्प आइसकेको छ । नेपाल मेडले यस्तो सेवा प्रदान गर्छ । संस्थाले बिरामीहरूलाई घरघरमा औषधि पुर्‍याउने, औषधि सकिएको जानकारी दिने, कुन औषधि कतिपटक प्रयोग गर्ने, रगत जाँच गर्ने, प्रयोगशाला परीक्षण, औषधि उपकरण लगायतका सुविधा घरमै पुर्‍याइदिन्छ ।

‘अस्पतालको प्रेस्क्रिप्सनको आधारमा हामीले स्वास्थ्यकर्मीसमेत बिरामीका घरमै पठाएर सेवा प्रदान गर्छौं,’ नेपाल मेडकी अध्यक्ष सुप्रिया शाक्य भन्छिन् । यस्ता स्वास्थ्य सेवा प्रदान गर्नका लागि संस्थाको आफ्नै प्रयोगशाला र फार्मेसी पनि रहेको उनको भनाइ छ ।

शाक्यका अनुसार अहिले महिनामै हजार÷१२ सय जतिले संस्थाबाट यस्तो सेवा लिइरहेका हुन्छन् । साढे चार वर्षदेखि यस्तो सेवा प्रवाह गर्दै आएको उनले बताइन् । संस्थाले हाल काठमाडौं उपत्यकामामात्र यस्तो सुविधा दिन्छ ।

घरमै तरकारी खेती : माटोदेखि बिक्रीसम्मको प्रबन्ध

शहरी क्षेत्रमा पर्याप्त जमिन नहुँदा खेती गर्ने ठाउँ अभाव छ । सामान्य करेसाबारी पनि नहुँदा मामुली तरकारी पनि किनेर खानुपर्छ । बजारमा किन्न पाइने तरकारी पनि स्वस्थकर हुँदैन ।

तर, तपाईंको घरको छतमा पर्याप्त खाली ठाउँ छ । यसको उपयोग गर्न सकिन्छ । तर, रुखो र सिमेन्टेड छतमा कसरी तरकारी फलाउने भन्ने उपाय थाहा छैन । यो झन्झट व्यहोर्न पनि चाहनुहुन्न ।

आम शहरी क्षेत्रको यही समस्यालाई हल गर्ने उपाय एग्री नेपालले सुझाएको छ । यसले कौशी खेती गरी तपाईं र परिवारलाई आवश्यक पर्ने गोलभेँडा, प्याज, लसुन, खुर्सानी लगायतका मामुली तरकारीमात्र फलाउन सघाउँछ ।

यसले तपाईंको तरकारी किन्ने खर्चको बचत गर्नुका साथै घरको छतलाई सुन्दर बनाउनेदेखि बजारमा पाइने विषादीयुक्त तरकारी किनेर खानुपर्ने बाध्यतालाई अन्त्य गरिदिन्छ ।

संस्थाकी अध्यक्ष सुनिता न्हेमाफुकीका अनुसार एग्री नेपालले कौसी खेतीका लागि आवश्यक पर्ने माटो, बिउविजन, विषादी, औजार, भण्डारण लगायतका सम्पूर्ण सुविधा उपलब्ध गराउँछ ।

यतिमात्र होइन कौशी खेतीका लागि आवश्यक पर्ने आर्थिक सहायताका लागि बैंक तथा स्थानीय तहसँगसमेत जोडिदिन्छ ।

‘एग्री नेपालमार्फत् हामीले स्वेल टू सेल अर्थात् माटोदेखि बिक्रीसम्मको प्रबन्ध मिलाइदिन्छौं,’ न्हेमाफुकी भन्छिन् ।

हालसम्म पाँच हजारलाई कौशी खेतीका लागि प्रोत्साहन गरेको तथा १५ हजारजतिलाई सेवा दिएको उनी बताउँछिन् ।
१० वर्षदेखि यस्तो काम गर्दैआएपनि अघिल्लो लकडाउनयता सेवा विस्तार गरिएको संस्था बताउँछ ।

गिफ्ट चाहियो ? घरमै आइपुग्छ

शहरको व्यस्त दैनिकीका बीच आवश्यकीय सामान किन्न जाने फुर्सद् सबैलाई हुँदैन । त्यमाथि रोजेखोजेकै सामान पाउन पसल चहारिरहनुपर्ने झन्झट उत्तिकै हुन्छ ।

अझ विशेष अवसरहरूमा उपहार (गिफ्ट) का सामान जहाँ पायो त्यहिँ सजिलै उपलब्ध हुँदैनन् ।

यस्तो झन्झटबाट मुक्त गराउनेगरी अनलाइन गिफ्ट डेलिभरीको सुविधा पनि शहरमा छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । यस्तै सुविधा उपलब्ध गराउँछ, गिफ्टमाण्डूले ।

गिफ्टमाण्डूमा अर्डर गरेर राखी, बर्थ डे केक, पुस्तक, कस्मेटिकका सामान, घडी, मोवाइल, विद्युतीय सामग्री, फूलमाला, ग्रिटिङ कार्ड, गरगहना, कपडा, बच्चाका सामान, विशेष अवसरमा अवसरअनुसारका उपहारका सामग्री घरमै पाउन सकिन्छ ।

किराना सामान घरघरमै

घरमा दैनिक केही न केही सामान आवश्यक परिरहन्छ । बिहान–बेलुका खाना पकाउन आवश्यक पर्ने तरकारी, नुन, तेल, चामल, मरमसला, दूध, तयारी खाजा जस्ता खाद्य तथा पेय पदार्थ किनिरहनुपर्छ । यसका लागि पसलै धाउनुपर्ने बाध्यता हुन्छ ।

तर, पसल नगई घरै बसेर पनि यी सामान खरिद गर्न सकिन्छ । हाम्रो ग्रोसरीजस्ता अनलाइन विजनेस ‘प्ल्याटफर्म’हरूले यस्तो सेवा प्रवाह गर्दै आएका छन् ।

हाम्रो ग्रोसरीले दैनिक उपभोगका खाद्य तथा पेय वस्तु, विद्युतीय उपकरणहरू, सरसफाइका सामग्रीहरू, भाँडाकुँडा लगायतसम्म पनि घरघरमा पुर्‍याइदिन्छ ।

कपडा धुने चिन्तै छैन

शनिबारको दिन लुगा धुने कि फिल्म हेर्न जाने ? साथी नभेटेको पनि धेरै भयो, शनिबारको दिन छोराछोरीलाई घुमाउन लाने कि लुगा धुने ? शनिबारको दिन लुगा धोएरै जाने भयो !

काठमाडौंमा लुगा धुने ‘लन्ड्री सर्भिस’ सेवा प्रदान गर्दै आएको नेपाली धोबी डटकमले आफ्नो वेवसाइटमा राखेको विज्ञापन हो यो । उक्त संस्थाले तपाईंको घरमै आएर लुगा लिएर धोएको सफाचट लुगा ढोकैमा पुर्‍याइदिन्छ ।

तपाईंको घरमा पर्याप्त पानी छैन र पानी भए पनि जाडो मौसममा चिसो पानीमा कपडा धुन सक्नुहुन्न भने तपाईं फोहोर कपडा लगाएरै हिँड्नुपर्छ भन्ने छैन । यसको विकल्प आइसकेको छ ।

नेपाली धोबीमात्र होइन अहिले अनलाइन अर्डर लिएर घरमै डेलिभरी गरिदिने थुप्रै यस्ता अनलाइन ‘प्ल्याटफर्म’ छन् ।

वासमाण्डू, चम्किलो डटकम लगायतले पनि यस्तो सेवा प्रदान गर्दै आएका छन् । यस्ता विकल्पहरूले सेवा लिन चाहनेका लागि लुगा धुने झन्झटबाट मुक्त गराएको छ ।

किताब किन्न पसल जानैपर्दैन

अध्ययनशील मानिसहरूका लागि किताबबिनाको दिनचर्या खल्लो लाग्छ । नयाँ प्रकाशित र बजारमा आएका किताबहरू किनेर पढिहाल्ने उनीहरूको शोख हुन्छ ।

तर, बजारमा अक्सर पुस्तक पसलहरू भेटिँदैनन् । भएका पुस्तक पसलहरू पनि टाढा हुँदा जान आउनको उत्तिकै झन्झट हुन्छ ।

यसका विकल्पहरू पनि आइसकेका छन् । हुन त डिजिटल समयमा ‘ई–बुक’ र ‘ई–लाइब्रेरी’ मा झुम्मिनेहरूको संख्या बढ्दै छ ।

तपाईंलाई कागजी किताबै किनेर पढ्न मन लागे पनि यसका विकल्पहरू छन् । तपाईं किताब किन्न पुस्तक पसल नै धाउनुपर्दैन ।

किताबको अनलाइन डेलिभरी गरिदिने थुप्रै विकल्पहरू छन् । किताब यात्रा डटकम, थुप्रै डटकम जस्ता अनलाइन ‘प्ल्याटफर्म’ हरूले तपाईंले चाहेको किताब घरमै पुर्‍याइदिन्छन् ।

व्यवसायसँग सम्बन्धित काम पनि घरबाटै

तपाईं कुनै व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ तथा चलिरहेको व्यवसायमा कर तिर्ने, लेखापरीक्षण गर्ने, परामर्श सेवा लिने, कम्पनी खारेज गर्ने जस्ता काम गर्नुछ भने यी काम निकै झन्झटिला छन् ।

त्यसमाथि नेपालजस्तो प्रविधिमैत्री नभएको प्रशासनीक संरचनामा सेवा सरकारी निकायबाट सेवा लिन सजिलो छैन । यसमा तपाईंको ठूलो समय र परिश्रम खर्च हुन्छ ।

तर, यस्तो दौडधुपबाट मुक्त हुने उपाय पनि आइसकेका छन् । उपाय डटकमको सहायता लिएर तपाईंले यी सबै सेवा घर वा अफिसमै प्राप्त गर्न सक्नुहुन्छ ।

उपायले नयाँ कम्पनी दर्ता, व्यवसायको सुरुवात, संशोधन कार्य, वार्षिक विवरण दाखिला, कम्पनीको खारेजी, उद्योगसँग सम्बन्धित सेवा, लेखा, फर्म तथा करसम्बन्धी सेवा र व्यवसायीक परामर्श, कम्पनी नवीकरण, व्यवसायीक योजना लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

सम्पूर्ण आर्थिक कारोबार मोवाइलबाटै

इसेवा मोबाइल वालेट प्रविधि हो । एप डाउनलोड गरेर प्रयोगकर्ताले आफ्नो मोबाइल फोन र इन्टरनेटबाट घरमै बसेर बिल भुक्तानी गर्न तथा पैसा पठाउन वा पाउन सक्छन् ।

यी दुवै प्रविधिको सहायताले प्रयोगकर्ताले सहज र सरल तरिकाले विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्छन् । जस्तो कि मोबाइलमा रिचार्ज गर्ने, बिजुली तथा खानेपानीको बिल तिर्ने, एयरलायन्स टिकट, बस टिकट, अनलाइन सपिङ गर्ने लगायतका आर्थिक कारोबार गर्न सक्छन् ।

पछिल्लो समय डिजिटल कारोबारको लोकप्रियता बढेसँगै इन्टरनेटको पहुँच पुगेका स्थानमा यस्ता डिजिटल कारोबारले लोकप्रियता पाएको छ ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीलाई प्रशय दिँदै बैंक तथा वित्तीय संस्थाका अतिरिक्त इसेवा, खल्ती, स्मार्टकार्ड लगायतका भुक्तानी प्रदायक कम्पनीलाई आर्थिक कारोबारका लागि अनुमति दिएको छ ।

यसले आर्थिक कारोबारलाई जोखिम र झन्झटबाट मुक्त गराएरसजिलो र सुरक्षित डिजिटल बनाइदिएको छ ।

घरमै रेष्टुराँका स्वादिला परिकार

तपाईंलाई खाना पकाउने फुर्सद् छैन र आफूले चाहेको होटल÷रेष्टुराँको स्वाद चाख्न चाहेको खण्डमा तपाईंको घरमै यस्ता पाक्य परिकार उपलब्ध हुन्छन् ।

नेपालमा यस्तो सुविधा सुरु भएको धेरै भइसकेको छ । फुडमाण्डू डटकमले सुरु गरेर स्थापित गरेको यस्तो सेवा थुप्रैले प्रवाह गरिरहेका छन् ।

खासगरी कोरोना संक्रमण फैलिएसँगै सरकारले होटल/रेष्टुराँमा भिडभाड बन्द गर्न भनेपछि अधिकांशले यस्तो होम डेलिभरीको विधि अपनाएका छन् ।

फुडमाण्डूसहित अहिले भोज डटकमले पनि यस्तै सेवा प्रवाह गरिहेको छ । अझ अहिले त ठूलो होटल/रेष्टुराँहरूले आफैं डेलिभरी दिन थालेका छन् ।

यातायातको सहज विकल्प

काठमाडौंमा अहिले अत्यधिक जाम हुन्छ । व्यवस्थित सवारी प्रणाली नहुँदा भनेको समय र स्थानमा सवारी साधन पाइँदैन ।

कुरिबस्ने फुर्सद पनि हुँदैन । बस, माइक्रो, टेम्पो जस्ता सार्वजनिक सवारीको विकल्पमा ट्याक्सी भए पनि महँगो र आफूखुसी भाडा असुल्ने हुँदा यो सबैले ‘अफोर्ड’ गर्न सक्दैनन् ।

यसैलाई सम्बोधन गर्नेगरी नेपालमा बंगलादेशी ‘राइड सेयरिङ’ कम्पनी पठाओ २०१८ मा नेपाल भित्रिएको थियो ।

पठाओपछि नेपालमै स्थापना भएको कम्पनी ‘टूटल’ ले पनि यस्तै सेवा प्रवाह गर्दै आएको छ । यसबाहेक थुप्रै कम्पनीहरूले यस्तो सेवा प्रवाह गर्छन् ।

सस्तो, सहजै उपलब्ध हुने र भनेको ठाउँमा जान पाइने भएपछि अहिले लाखौंले यस्तो सेवा लिँदै आएका छन् ।

शहरमा अहिले सार्वजनिक सवारीकै हाराहारी वा अझ त्योभन्दा बढीले यस्तो राइड सेयरिङ सेवा लिन्छन् । यसले उपभोक्तालाई सेवामात्र दिएको छैन, हजारौंलाई रोजगारी पनि दिएको छ । आफ्नो निजी सवारी साधन हुने कतिपयले त अहिले यसलाई पेसाकै रुपमा पनि अंगालेका छन् ।

घरमै बसेर अर्डर गरेर अनलाइनबाटै भुक्तानी गरी सेवा लिन सक्ने भएपछि यसले समय र पैसाको बचतका साथै झन्झटबाट पनि मुक्त गराएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८, १३:१८:००