NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बिएण्डसी अस्पतालमा होला प्रचण्ड–ओलीको लगानी ?

काठमाडाैं । झापाको विर्तामोडस्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज र त्यसका कार्यकारी निर्देशक दुर्गा प्रसाईंमाथि लाग्दै आएको सबैभन्दा गम्भीर आरोप हो, त्यहाँ माओवादी/एमालेको लगानी छ । त्यसैले त्यस मेडिकल कलेजलाई सम्बन्धन दिनुहुन्न ।

चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले त खुलेआम भन्ने गरेका छन्, बिएण्डसी मेडिकल कलेजमा माफियाको लगानी छ । माफियाको लगानी भएको कलेजलाई सम्बन्धन दिनु हुन्न ।

भौतिक पूर्वाधारका हिसावले बिएण्डसी मेडिकल कलेजको संरचनामाथि प्रश्न उठाउने ठाउँ छैन । बिएण्डसी मेडिकल कलेजको १६ बिगाहाभन्दा बढी जमिन छ । तीन सय बेडको अस्पताल सञ्चालनमा छ । एमबिबिएस अध्यनका लागि वेसिक साइन्सको पूर्वाधार सबै तयार छ । वेसिक साइन्सको लागि चाहिने ‘अडिटोरिएम हल’ आधुनिक टिभी च्यानलको स्टुडियो जस्तो छ ।

सम्बन्धन नपाएको कारणले फ्याक्ट्री भने चालू हालतमा छैनन् । उपकरण, ल्याव आदिमा फोहोर र माकुराको जालो लागेको छ । त्यतिको भौतिक पूर्वाधार निर्माण गर्न, उपकरणहरु भित्र्याउन प्रसाईं एक्लैको मात्र लगानी होला वा बजार हल्ला जस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि गोप्य लगानी गरेका होलान त ?

बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको औपचारिक अध्ययन एसएलसीसम्म पनि छैन । अनौपचारिक अध्ययनका माध्यमबाट पनि प्रसाईंले ज्ञान, बाैद्धिकता उच्च बनाएको उनको शैलीबाट झल्कँदैन । आफ्नो स्वभाव अनुसार उनले धेरैलाई चिढ्याएका छन् । औपचारिक शिक्षा पनि धेरै नभएको, ठाडो र खस्रो स्वभावका प्रसाईंले अस्पताल, मेडिकल कलेजको अध्ययनको पूर्वाधारमा अर्बौं लगानी गरेकाले त्यो रकममाथि संशय उत्पन्न भएको देखिन्छ ।

तर, खोजिनीति गर्दा प्रचण्ड, ओली वा अरु कुनै नेताहरुको गोप्य लगानी भने भेटिन्न । त्यसो भए बिएण्डसीले कहाँको रकमले अर्बौंका जग्गा तथा पूर्वाधार निमार्ण गरेको होला त ?

मुख्य लगानी बैंक

बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंका अनुसार साविक जनता बैंक (हाल ग्लोवल आइएमई) लिमिटेडको अगुवाइमा ७ वटा बैंकले सात अर्ब रुपैयाँभन्दामाथि सहवित्तीयकरण कर्जा लगानी गरेका छन् । ग्लोवल आइएमई बैंक एक्लैले डेढ अर्ब रुपैयाँभन्दा माथि ऋण लगानी गरेको प्रसाईंको भनाइ छ ।

ग्लोवल आइएमइ बैंकले बिएण्डसी मेडिकल कलेजलगायत धेरै ठाउँमा लगानी गरेको र त्यस्ता लगानी कहाँ, के, कति गरेकाे छ विरण भने दिन नमिल्ने त्यस बैंकका एक उच्च अधिकृत बताउँछन् । आफ्नो नाम समेत उल्लेख नगरि दिन उनको आग्रह छ ।

प्रसाईंका शब्दमा ग्लोवल आइएमई बाहेक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, एनसिसी बैंक, लुम्बिनी विकास बैंक, गुडवील फाइनान्सले बिएण्डसीका लागि ऋण लगानी गरेका छन् । ७ वटा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा कम लगानी गुडवील फाइनान्सले ५० करोड जति गरेको छ ।

बैंकहरुलाई वार्षिक ब्याजमात्र ३५ देखि ४० करोड रुपैयाँ बुझाइरहेको प्रसाईंको दावी छ । उनका अनुसार बिएण्डसीले सरकारलाई वार्षिक कर ९ देखि १० करोड बुझाउँदै आएको छ ।

बिएण्डसी मेडिकल कलेजको नाममा रहेको १६ बिगाहभन्दा बढी जमिन र त्यो जमिनमा बनेको भौतिक पूर्वाधार, परियोजना हेरेर बैंकहररूले लगानी गरेका प्रमाणहरुले देखाउँछन् । प्रसाईंका शब्दमा बिएण्डसी अस्पतालमा वार्षिक ९० करोडदेखि १ अर्बको कारोबार भइरहेको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालले ४० देखि ५० करोडको कारोबार गर्छ । त्यही रकमले बैंकको व्याजदेख राज्यलाई कर तिरिरहेको प्रसाईं बताउँछन् ।

‘प्रचण्ड–ओलीको त के ! बैंक तथा वित्तीय संस्था, म र मेरो ससुरालीको बाहेक कसैको पनि एक रुपैयाँ लगानी छैन । कसैले प्रचण्ड, ओलीको एक रुपैयाँ लगानी प्रमाणित गरिदिन्छ भने म जुनसुकै सजाय भोग्न तयार छु,’ आफू अाध्यात्मिक भएको बताउँदै पटक–पटक पाथीभरादेवीको कसम खाँदै प्रसाईं नेपालवाचसँग भन्छन्, ‘बिएण्डसी मेडिकल कलेजमा प्रचण्ड–ओलीको लगानी छ भनेर लगाइएको आरोप बेकार हो । हो, म प्रचण्ड–ओलीसँग नजिक भएँ । केन्द्रमा प्रचण्ड–ओलीसँग मात्र होइन, झापामा नेपाली कांग्रेसका सभापति उद्धव थापालगायतसँग नजिक छु । बिएण्डसी मेडिकल कलेजमा प्रचण्ड–ओलीको लगानी छ÷छैन छानविन गरेर रहेछ भने ममाथि कारबाही गरे भइहाल्यो नि त ।’

निरीह सरकार

बिएण्डसी मेडिकल कलेजले ०६८ मा एओआइ (मनसाय पत्र) पाए यता यो १० वर्षमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा सबै पार्टीका सरकार बनिसकेका छन् । सरकार बनेपिच्छे अर्थ मन्त्री पनि फेरिएका छन् । बीएण्डसीले एलओआइ पाउँदा झलनाथ खनाल प्रधानमन्त्री थिए । खनाल सरकारमा सुरेन्द्र पाण्डे अर्थ मन्त्री थिए । खनालपछि बाबुराम भट्टराई प्रधानमन्त्री भए ।

भट्टराई सरकारमा वर्षमान पुन अर्थ मन्त्री बने । भट्टराईपछि संविधान सभाको दोस्रो निर्वाचन गराउन दलहरुले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए । यस मन्त्रिपरिषद्मा शंकर कोइराला अर्थ मन्त्री थिए । मंसिर ०७० मा संविधान सभाको निर्वाचन भएपछि असोज ०७२ मा संविधान जारी नहुन्जेल शुशिल कोइराला प्रधानमन्त्री भए । कोइराला सरकारमा अर्थमन्त्रीको जिम्मेवारी रामशरण महत (विद्यावारिधि) ले पाएका थिए । संविधान जारी भएपछि केपी ओली प्रधानमन्त्री बने । यस सरकारमा विष्णु पौडेललाई अर्थमन्त्री बनाइयो ।

ओली पछि २० साउन ०७३ मा प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड सरकारमा कृष्णबहादुर महरा अर्थ मन्त्री बने । २४ जेठ ०७४ मा शेरबहादुर देउवा प्रधानमन्त्री चुनिए । अर्थ मन्त्रीका रुपमा त्यसबेला देउवाका सारथी ज्ञानेन्द्रबहादुर कार्की थिए । देउवापछि ३ फागुन ०७४ मा प्रधानमन्त्री भएका केपी ओलीले झापाकै युवराज खतिवडा (विद्यावारिधि) र विष्णु पौडेललाई अर्थ मन्त्री बनाए । गत २९ जेठमा बनेको देउवा सरकारमा माओवादी कोटाबाट पुनः जनार्दन शर्मा अर्थमन्त्री भएका छन् । अर्थात यो १० वर्षमा ९ जना प्रधानमन्त्री फेरिदा १० जना अर्थ मन्त्री बनेका छन् । ती कुनै पनि प्रधानमन्त्री तथा अर्थ मन्त्रीले प्रसाईंको लगानीमाथि छानविन गरेर कारबाही गर्न राष्ट्र बैंकलाई निर्देशन दिएका छैनन् ।

प्रसाइको लगानी संदिग्ध हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान विभागले समेत छानविन गर्न सक्छ । उनीविरुद्ध अख्तियारमा उजुरी पनि परेको थियो । अख्तियारले लामै छानविन गरेर ०७४ सालमा उनलाई सफाइ दिएको थियो ।

सम्पति शुद्धीकरण विभाग स्रोतका अनुसार यस विभागमा पनि प्रसाई विरुद्ध उजुरी परेको थियो । तर, अनुसन्धान गर्दा कुनै लगानी र कारोबारमा कुनै कैफियत भेटिएको छैन । यद्यपि बिएण्डसी मेडिकल कलेज र प्रसाईंमाथि आफूहरुले सुक्ष्म निगरानी भने राखिरहेको सम्पति शुद्धिकरण विभागका एक उच्च अधिकारी बताउँछन् ।

त्यसो भए प्रसाईंले बैंकहरु डुबाउने गरी त लगानी गरिरहेका त छैनन् ? आफूले कुनै पनि ठाउँमा लगानी गर्नुअघि बैंकहरुले धितो, त्यस धितोमा बनेको भौतिक पूर्वाधार, परियोजना पटक–पटक अध्ययन गर्छन । बैंकका प्रतिनिधिहरु ‘फिल्ड’ मै पुगेर समेत लगानी गर्नु उपयुक्त छ/छैन ? अनुगमन गर्छन । त्यसपछि मात्र उनीहरु लगानीका लागि तयार हुन्छन ।

राष्ट्र बैंकले समेत आफू मातहत बैंकहरुले लगानी गरेका ठूला परियोजनाहरुमा प्रत्येक वर्ष आन्तरिक र बाह्य लेखापरीक्षण गर्छ । लगानी सुरक्षित छ कि छैन ? जोखिम कति छ ? जस्ता विषयहरुमा टेकेर राष्ट्र बैंकले अडिट गर्छ । बैंकहरुको लगानी बाहेक काहीँबाट कालो धन ल्याएर लगानी गरेको रहेछ भने खोजेर प्रसाईंलाई कारबाही गरे स्वीकार्य हुने बिएण्डसीका जन सम्पर्क अधिकृत प्रमिश गिरी बताउँछन् ।

पारिवारिक विरासत

प्रसाईंकै शब्दमा उनी २०२८ सालमा झापामा जन्मिएका हुन् । उनका बाबु, बाजे २००७ सालतिरै तेह्रथुमको आठराई फुलबारीबाट झापा झरेका थिए । झापा झरेपछि जंगल र खोरिया फाँडेर हजुर बुबा तिलकचन प्रसाईंले दुई सय बिगाहभन्दा बढी जमिन जोडेको प्रसाईं बताउँछन् । त्यो जमिन बुबाहरु ६ दाजुभाईमा बाँड्दा अन्तरे उनका बुबा कृष्णप्रसादको भागमा ३५ बिगाह जति परेको थियो । दुर्गा प्रसाईंहरु ५ दाजुभाई छन् । जसमध्ये दुर्गा साँइलो हुन् । ५ जना दाजुभाइबीच अंशबण्डा गर्दा आफ्नो भागमा ७ बिगाहा जमिन परेकोमा राजमार्ग विस्तार भएपछि बिर्तामोड अर्कै बनेको प्रसाईंको भनाइ छ ।

०६१ सालमै प्रसाईंकै अगुवाईमा सर्वोच्च अदालतबाट उनीहरुका ससुरालीले बिर्तामोडमा १३ बिगाहा जमिन जितेका थिए । ससुरालीमा प्रसाईंका एउटा सालो रामबाबु गिरी मात्र छन् । जो मेडिकल डाक्टर हुन् र बिएण्डसीमै कार्यरत छन् । बिएण्डसीको मुख्य भवन सर्वोच्च अदालतबाट प्राप्त बिर्तामोडको त्यही जमिनमा छ । झापाको बिर्तामोडमा यसबेला एक धुर जमिनको मूल्य २० देखि २५ लाख पर्छ । २० धुरको १ कठ्ठा हुन्छ भने २० कठ्ठाको १ बिगाह हुन्छ ।

१६ वर्षको उमेरदेखि नै आफूले व्यापार/व्यवसायको काम गर्न थालेको प्रसाईं बताउँछन् । २०४४ सालमा नेपाल बैंक लिमिटेडबाट १४ लाख रुपैयाँ ऋण लिएर भैंसी पालन व्यवसाय सुरु गरेको उनको जिकिर छ । बैंकको ऋण स्वीकृतिका लागि झापाबाट रात्री बस चढेर काठमाडौं आउने र दिनभर काम सकेर पुनः बेलुकी घर फर्कने गरेको उनी बताउँछन् । २०४५/४६ सालमा झापामा ग्रिल उद्योग, फलामका दराज उत्पादन सुरु गरेको उनको भनाइ छ ।

‘बैंकसँग यति लामो काराबार गर्दा म एक दिन पनि खराब ऋणी र कालो सूचीमा परेको छैन । मेरो लामो ट्रयाक रेकर्ड र परियोजनाहरु हेरेर बैंकहरुले लगानी गरेका हुन्,’ प्रसाईं भन्छन्, ‘बिएण्डसीको लगानी पनि कुनै हालतमा डुब्दैन । बिएण्डसीको पूर्वाधार, भौतिक संरचना सबै सरकारले नै लिएर बैंकको ऋण तिरिदियो भने पनि म तयार नै छु ।’

प्रसाईंप्रति नेपालवाचको कुनै विशेष सदाशयता वा आग्रह छैन । सवाल प्रसाईसँग व्यक्ति विशेषको होइन । राज्यको पद्दति/प्रणाली, थितिको हो । राज्यलाई पद्दतिमा हिँडाउन सकिएन भने एउटा सम्वन्धन पाउन मात्र के–के अवरोधहरु खडा गरिन्छन् भन्ने अब्बल उदाहरण बनेको छ बिएण्डसी ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८, ०९:०९:००