NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कुवेत हिँडेकी मनकुमारी पुगिन् श्रीलंकाको जेल ! घरेलु कामदार ‘सप्लाई’ गर्ने तस्करले यसरी फसाए

काठमाडौं । गरिखान जग्गाजमिन थिएन, गरिब माझी परिवारमा जन्मिएकी उनले पढ्ने अवसर पनि पाइनन्, हातमा कुनै सीप थिएन, काठमाडौंको महंगीमा श्रीमानको दैनिक ज्यालादारी कमाइले दुई छोराछोरीसहितको चार परिवारको गर्जो टार्न धौधौ थियो।

चिनेजानेकाहरू विदेश गएर कमाएको देखेपछि उनलाई सुर चल्यो, म पनि जान्छु। जम्मामा उनको सपना यतिमात्र थियो – विदेश गएर कमाउने अनि भविश्यमा घरपरिवारसँग रमाउँदै सुविस्ताको जीवन जिउने।

वैदेशिक रोजगारीका नाममा मानवतस्कर गर्ने दलालहरूलाई यत्ति नै काफी थियो, यो मामिलामा कि उनी फसाउनका लागि उपर्युक्त पात्र थिइन । र, अन्ततः तिनै दलालहरूको पञ्जामा उनी परिन्।

परदेशको भूमिमा उनको इहलिला नै समाप्त हुन पनि सक्थ्यो, भाग्यबस् १७ महिनापछि आफ्ना प्राणप्रिय श्रीमान र छोराछोरीको समिपमा आइपुगिन्।

सोझासाझा, अशिक्षित र गरिब महिलाहरूलाई आकर्षक रोजगारीको ‘ललिपप’ मा फसाएर कुवेत पुर्‍याउने मानव तस्करहरूको जालोमा फसेकी मनकुमारीको कहानीले समाजवादी (उन्मुख) देशमा नागरिकको गरिबी, बेरोजगारी, अभावमिश्रित नारकीय जीवन, शान्तिसुरक्षा र मानवतस्करको रजगजीको कहानी एकैसाथ छताछुल्ल पारिदिन्छ।

हिँडेको कुवेतका लागि, पुगिन् श्रीलंकाको जेल

९ फागुन २०७६ मा घरबाट हिँड्दा मनकुमारीलाई यस्तो हुन्छ भन्ने लागेकै थिएन । उनले सेचेकी थिइन् — सजिलैसँग कुवेत पुगिन्छ । काम र दाम भनेजस्तै हुन्छ।

तर, जे नहुनु थियो त्यही भइदियो । कतार जान हिँडेकी उनी श्रीलंकाको जेलमा परिन्। जेल जानु अघि उनलाई तीन महिना एउटै कोठामा बन्धक बनाएर राखिएको थियो।

जेलमा पनि उनले पाउनसम्मको दुःख पाइन् । ‘त्यहाँको दुःख सम्झिँदा पनि मन चिथोरिन्छ,’ मनकुमारी जेलमा बस्दा भोगेका पीडा पोख्छिन्, ‘जेलको सरसफाइदेखि त्यहाँ थुनिएका आरोपी र प्रहरी अधिकारीहरूको समेत जुठा भाँडा र कपडा धोइदिनुपथ्र्यो, लाए/अह्राएको काम गर्न नमान्दा गालिगलौज र कुटपीटमै उत्रिन्थे।’

श्रीलंका जेलमा आधा पेट खाएर र एकसरो लुगा लगाएर उनले १३ महिना गुजारिन्। श्रीलंका जेलमा मनकुमारीमात्र थिइनन् । उनीसहित २९ नेपाली र एक जना भारतीय महिला पनि थिइन्।

मनकुमारीसँगै जेल परेका अन्य महिलाको पीडा पनि उस्तै थियो। फरक ठाउँ र परिवेशका भएपनि त्यहाँको दुःख र परिवारको याद आउँदा सबै जना एकैसाथ भक्कानिन्थे।

जसरी जेलमा पर्नु कल्पनाबाहिरको कुरा थियो, जेलबाट बाहिर निस्कनु पनि मनकुमारीहरूका लागि कल्पनातीत थियो।
कुवेत पुगेकी उनी श्रीलंका पुग्नुपर्ने जरुरी नै थिएन । भारतबाट सीधै कुवेत उडान हुन्थ्यो । तर, मानव तस्करको गिरोहले उनलाई श्रीलंका पुर्‍याइयो ।

यसको अनेकौं ‘नेक्सस’ छ ।

मनकुमारी यसरी पुगिन श्रीलंका

मनकुमारी र उनकी दिदीकी देउरानी रेवतीदेवी मुम्बइ आइपुगेका थिए। त्यहाँ उनीहरूलाई ‘रिसिभ’ गर्ने एक जना दलाल थिए । ती दलालको काम उनीहरूलाई ‘रिसिभ’ गरेर श्रीलंका उडाइदिनु थियो।

उनीहरूलाई ‘रिसिभ’ गरेर पूर्वयोजनाबमोजिम नै तिनले मनकुमारी र रेवतीदेवीलाई श्रीलंका पठाउन लागे। यसको सबै बन्दोबस्त दलालहरूले गरिसकेका थिए।

श्रीलंका गएर कसलाई भेट्ने भन्नका लागि पनि यसअघि दिल्लीमै रहेका दलालले उनीहरूलाई श्रीलंकाका स्थानीय दलालको फोटो दिइसकेका थिए भने ती श्रीलंकन दलाललाई पनि मनकुमारी र रेवतीदेवीको फोटो पठाइसकिएको थियो । ताकी एकअर्कामा अपरिचित भए पनि फोटोका माध्यमबाट चिन्न सकियोस्।

यही योजना मुताविक मुम्बइमा रहेका दलालले मनकुमारी र रेवतीदेवीलाई विमानस्थलको गेटबाट बिदावारी गरे। र, यसको खबर दिल्ली र श्रीलंकामा प्रवाह गरिदिए ।

बाटोमा कसैले सोधे श्रीलंकामा आफन्त भेट्न जान लागेको भन्नु भनी दलालहरूले दुवै जनालाई सिकायत गरेका थिए ।
दलालहरूको योजना बमोजिम नै श्रीलंका विमानस्थलमा ती महिलाहरू पुगे। नेपालबाट हिँडेको १३ औं दिनमा उनीहरू श्रीलंका पुगेका थिए ।

श्रीलंका पुगेपछि त्यहाँका अर्का स्थानीय दलालले उनीहरूलाई कोलम्बोस्थित निलपनागोडामा भाडामा लिइएको एउटा फ्ल्याटमा लिएर गए । त्यहाँ उनीहरूजस्तै थुप्रै नेपाली महिलाहरू थिए ।

एउटै फ्ल्याटमा खाँदेर राखिएको महिलाहरूको नाम, थर र ठेगाना फरक भएपनि पिर, व्यथा र सपना भने एउटै थियो । सबैका एउटा गतिलो रोजगारीको कामना थियो, पैसा कमाउने अनि भविश्यमा परिवारसँग बसेर अभावरहित सुखको जीवन जिउने ।

श्रीलंका पुगेको एक सातापछि रेवतीदेवीलाई कुवेत उडाइयो। नेपालदेखि सँगै आएकी रेवतीदेवी छुटेपछि आफू पनि कुवेत जाने दिनगन्ती गर्दागर्दै मनकुमारी जेल परिन् ।

श्रीलंका पुगेर जेल पर्नुअघि दलालहरुले मनकुमारीसहित उनको समूहलाई १२ दिन दिल्लीमा झुलाएको थियो।

‘ट्रान्जिट’ दिल्ली

आकर्षक रोजगारीको प्रलोभनमा पारेर दलालहरूले मनकुमारीसहित झन्डै एक दर्जनलाई दिल्ली पुर्‍याएका थिए।
मनकुमारीसँगै सप्तरीको कुनौली नाका हुँदै दिल्ली पुगेका ५ जना महिला मध्ये तीनसहित चार जनालाई भने दिल्लीबाटै उडाइएको थियो।

कुवेत जान भनेर आएका उनीसहितका आठ जना महिलामध्ये चार जना उडेपछि अब चार जनामात्र बाँकी थिए।

पछिल्लो समय भारतको विमानस्थल हुँदै खाडी मुलुकमा घरेलु कामदारका लागि महिलाहरू पठाउने गरेको खुलेपछि दूतावासले ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) अनिवार्य गरेको छ । यसका बावजुद पनि दलालहरुले चार जनालाई उडाउन सफल भएका थिए। सेटिङले काम गर्ने सम्भावना नदेखिएपछि अब भने दिल्ली विमानस्थलबाट महिलाहरूलाई घरेलु कामदारको रुपमा खाडी मुलुक पठाउन उनीहरूले असम्भव देखे ।

त्यसमध्ये पनि दुई जनालाई दिल्ली, मुम्बइ र श्रीलंको विमानस्थलबाट चार पटकसम्म उडाउने प्रयास गर्दा दलालहरू सफल भएनन्। अथक प्रयासका बावजुद पनि उड्न नपाएपछि ती महिलाहरू हैरान थिए। तैपनि दलालहरूले आश्वासन दिन छाडेका थिएनन्। अन्ततः आजित भएर ती महिलाहरू श्रीलंकाबाट कुवेत उडाइदिने भनी त्यहाँका दलाललाई दिन भनी दिल्लीका दलालहरूले दिएको सय डलर साँटेर दिल्लीबाटै टाप कसेर नेपाल आइपुगे।

यसपछि मनकुमारी र रेवतीदेवीमात्र बाँकी रहे। उनीहरूलाई दिल्लीको विमानस्थल हुँदै मुम्बइ र मुम्बइबाट श्रीलंका पुर्‍याइयो। उनीहरूले दिल्ली र मुम्बइबाटै उडाउन चाहन्थे । तर, त्यहाँबाट कटाउन असहज देखेपछि दलालहरूले श्रीलंकाको रुट प्रयोग गरेका हुन।

अब उनीहरूको टोलीमा मनकुमारी र उनकी दिदीकी देउरानीमात्रै बाँकी रहे ।

उनीहरूलाई दिल्लीबाट कुवेत पठाउने सम्भावना नरहेपछि श्रीलंकाको रुट प्रयोग गर्ने मानसिकतामा दलालहरू पुगे। र, श्रीलंका जान उनीहरूलाई मुम्बइ पुर्‍याइयो। मुम्बइ पुगेर उनीहरूले भेट्ने मान्छेको फोटो मनकुमारी र उनीसँगैकी महिलालाई दिइयो भने मुम्बइमा उनीहरूलाई ‘रिसिभ गर्ने’ मान्छेलाई पनि मनकुमारी र अर्की महिलाको फोटो दिइएको थियो । ताकि चिन्न सकियोस्।

कसैले परिचय र कहाँ जान लागेको भनेर सोधे आफन्तलाई भेट्न जान लागेको भनेर दिल्ली एयरपोर्टमा पनि उनीहरूलाई सिकायत गरिएको थियो।

मुम्बइको विमानस्थलमा पुगेपछि सम्बन्धित व्यक्ति उनीहरूलाई रिसिभ गर्न आएका थिए।

सोझासाझा फकाउने दलालका अनेक जुक्ति, दिल्लीमा घरै भाडामा

मनकुमारीजस्ती खानलाउन पनि धौधौ पर्ने अशिक्षित महिलालाई फकाउन दलालहरूलाई खासै गाह्रो काम थिएन। किनभने यसरी नै फकाएर मनकुमारीजस्ता सयौंलाई विचल्ली पार्नेसम्ममा उनीहरू अभ्यस्त भइसकेका थिए।

उसैगरी मनकुमारीलाई पनि कुवेत लैजाने कुरामा राजी गराउन दलालहरू सफल भए। यसका लागि उनीहरूका अनेक जुक्ति थिए।

फकाउन सफल भएपछि दलालहरूले मनकुमारीको पासपोर्ट पनि आफैं बनाइदिएका थिए। उनीहरूले १२ हजार रुपैयाँ तिरेर मनकुमारीको पासपोर्ट तीन दिनमै तयार गरिदिए। गाउँमा भएकी मनकुमारीलाई काठमाडौं आउँदासम्मको खर्च पनि व्यहोरे।

अन्ततः छोराछोरी श्रीमानको साथमाछाडेर मनकुमारीले सामान प्याक गरिन्। ९ फागुन २०७६ मा मनकुमारी र उनकी दिदीकी देउरानी काठमाडौंबाट हिँडे । भोलिपल्ट काठमाडौंबाट दिल्ली जाने बसमा उनीहरू सप्तरीको राजविराज पुगे।

कुवेत लैजान दलालहरूले जोरजाम गरेका अन्य तीन जना महिला पनि राजविराजबाट मनकुमारी चढेकै बसमा चढे। राजविराजको कुनौली नाका हुँदै त्यसको अर्को दिन उनीहरू दिल्ली पुगे।

यी पाँचै जना महिलाको जोरजाम सुनसरीकी सावित्रीदेवी मल्लले गरेकी थिइन् । जो आफैं वैदेशिक रोजगारीका क्रममा लामो समय कुवेत बसेकी थिइन्।

दिल्लीमा सावित्रीले एउटा घरमा फ्ल्याट नै भाडामा लिएकी थिइन्। उनको व्यवसाय नै कुवेत लगायतका देशमा अवैध रुपमा महिला कामदार पठाउने भएपछि उनले दिल्लीमा फ्ल्याट लिएकी थिइन्। महिलाहरू ल्याइरहने र पठाइरहने नियमित कामका लागि होटल महंगो हुने भएपछि सस्तोमा फ्ल्याट भाडामा लिइएको थियो ।

मनकुमारी छक्क त त्यतिखेर परिन, जतिखेर उनले देखिन्–उनलाई राखिएको फ्ल्याट भएको पूरै घर नै यसरी अवैध रुपमा विदेश पठाउन ल्याइएका महिलाले भरिएको थियो। घरमा करिब तीन सयको संख्यामा त्यस्ता महिलाहरू थिए। विदेश जाने त्यो समूहमा २५ देखि ५० वर्षसम्मको उमेर समूहका महिलाहरू थिए।

दिल्ली पुगेपछि दलालहरूले अर्को चलाकी लगाए । प्रक्रियाका लागि भन्दै सावित्रीहरू सबैको पासपोर्ट लगायतका सबै कागजात नियन्त्रणमा लिइयो। यति गरेपछि सावित्री घर फर्केकी थिइन् ।

गरिबी र विपन्नताले डोहोर्‍याएर बाटो

माछा मार्ने र बेच्ने मनकुमारीको पुख्र्यौली पेशा हो। यो काम गरेर खान नपुगेपछि सप्तरीबाट ८ वर्षअघि श्रीमान, एक छोरा र छोरी सहित उनी काठमाडौं आएकी थिइन् । परिवार पाल्नकालागि श्रीमानले फर्निचर उद्योगमा काम सुरु गरे। मनकुमारी छोराछोरी हुर्काउँदै बस्नि।

फर्निचर उद्योगमा काम गरेको मासिक तलवले चार जना परिवारलाई हातमुख जोर्न धौधौ भएपछि उनका श्रीमान कतार गएका थिए । तर, त्यहाँ उनलाई राम्रो भएन । कमाइ नै भएन।

गतिलो कमाइ नभएपछि एक वर्षको पारिश्रमिक नै नलिइ उनी अढाइ वर्षमै नेपाल फर्किए । नेपाल फर्केपछि उनले ठेला चलाउने काम सुरु गरे । जसोतसो गर्जो टरिरहेको थियो।

श्रीमानको एक्लो कमाइले नधानेपछि मनकुमारीले ऋण जोरजाम गरेर माछा पसल सुरु गरिन् । तर, कमाइ राम्रो भएन । बल्लतल्ल तीन वर्षसम्म त धानिन् । पसल घाटामै जान थाल्यो । घाटा खाएर चलाउन भन्दा बेच्नु नै वेस भएपछि उनले पसल नै बेचिदिइन्।

तीन वर्षसम्म चलाउँदा उनले व्यवसाय गर्न लिएको ऋणसम्म तिर्न सकिनन् । माछा व्यवसायबाटै उनी दुई लाख ५० हजार रुपैयाँ ऋणमा गइन्।

फेरि पनि जिन्दगीसँग हार खानु त भएन ! आफूमात्र होइन हुर्कंदा छोराछोरीको भविश्यको सवाल पनि थियो । माइतमै हुँदा होस् न विहे गरेर आएपछि, बस्ने गतिलो घर थिएन । जम्मामा उनको सपना थियो – एउटा घर बनाउने र छोरोछोरीलाई सुनौलो भविष्य दिने।

तर, न उनीसँगै पढाइ थियो, न कुनै सीप। देशभित्र उनले सम्भावना देखिनन् । अनि निरास हुँदै उनले विदेश जाने योजना बनाइन् ।

विदेश जाने योजना मनमा पालिरहेकी थिइन्। सुनसरीमा रहेको दिदीको घरमा गएको बेला उनको भेट सावित्रीदेवी मल्लसँग भयो । जो दिदीकै गाउँतिरकै थिइन्।

सावित्रीले उनलाई घरायसी काममा कुवेत पठाइदिने कुरा गरिन्, मासिक तलव ३५ हजार रुपैयाँमा। कुवेत जाँदा लाग्ने खर्च उनले व्यहोर्न नपर्ने कुरा मल्लले बताएपछि मनकुमारी हौसिइन्।

अन्य महिलाहरूलाई पनि विदेश पठाइदिएको कुरा थाहा पाएकी मनकुमारी मल्लसँग ढुक्क भइन। मनकुमारीसँगै दिदीकी रेवतीदेवी पनि कुवेत जान राजी भएकी थिइन् । यसले दुवैजनालाई एकअर्कामा भरोसा थपिदिएको थियो।

१३ महिना जेल बसेकी मनकुमारी यसरी छुटिन्, १७ महिनापछि नेपालै

मनकुमारीले ती सबै सुन्दर भविश्य र सपनाले ठग्यो । कुवेतका लागि हिँडेकी उनी १७ महिनापछि अन्ततः नेपाल नै फर्किइन् । तर, यो १७ महिना उनले नारकीय जीवन भोगिन् ।

कुवेत लैजाने भनी श्रीलंका पुर्‍याइएका उनीहरूको भिसा सकिएपछि त्यहाँको अध्यागमन कानून अनुसार प्रहरीले पक्राउ गरी जेल लगेको थियो । उनीहरू जेल परेपछि त्यहाँ लैजाने दलालहरूको भागाभाग नै भयो ।

दलालले राखेको कोठामा सँगै बसेकी एक भारतीय महिलाले झगडा गरेपछि यो केस प्रहरीसम्म पुगेको थियो। तर, प्रहरीकोमा पुगेपछि विषय अन्तै मोडियो । भिसा अवधिभन्दा दुई महिना बढी बसेको भन्दै उनीहरूलाई जेल हालिएको थियो।

दिल्लीबाट कतार छिराउन नसकेपछि दलालहरूले झुक्काएर उनीहरूलाई पर्यटक भिसामा श्रीलंका पुर्‍याएका थिए।
श्रीलंका जेलमा पुगेपछि उनमा नेपाल फर्किने आशा लगभग मरिसकेको थियो। किनभने परदेशको भूमिमा त्यहाँ उनका लागि सहयोग गरिदिने कोही थिएन। न उनको हातमा पासपोर्ट थियो, पर्यटक भिसामा कुवेत लान लगिएको उनीहरूको भिसाको म्याद पनि सकिएको थियो । त्यही पनि हातमा केही कागजात थिएन । सबै दलालले खोसेर राखेका थिए।

यो विषयमा श्रीलंकामा रहेको नेपाली दूतावास जानकार भएर पनि उद्दार नगरेको मनकुमारी बनाउँछिन् । उल्टो दूतावास नै दलालहरूसँग मिलेको उनको आरोप छ।

तर, अन्तिममा उनका लागि एउटा यस्तो संयोग मिल्यो । जसले उनीमात्र होइन, त्यहाँ रहेका सबै नेपाली जेलको अँध्यारो छिँडीबाट बाहिर निस्किन सफल भए।

मनकुमारी रहेकै जेलको कोठामा एक जना श्रीलंकन महिला थिइन्। उनी लागूऔषध ओसारपोसारको आरोपमा जेल परेकी थिइन् । तिनै महिलालाई मनकुमारीले साथी बनाएकी थिइन्।

ती महिलाले आफूलाई भेट्न आउने आफन्तीबाट चलाखीपूर्ण तरिकाले मोवाइल हात पारेकी थिइन् । त्यही मोवाइलबाट जेलभित्र लुकीछिपी गरेर उनी फोन गर्थिन्।

तिनै महिलासँग मोवाइल मागेर नेपालमा फोन गर्न पाए हुन्थ्यो भन्ने उनले सोचिन्। घरमा कुराकानी नभएर न्यास्रिएकी उनलाई आफू श्रीलंका जेलमा परेको खबर नेपालमा पु¥याउन पाए छुटाउन सरकारले पहल गरिदिन्थ्यो कि भन्ने आश पनि थियो।

यही सोचेर मनकुमारीले उनको लुगा धोइदिने सर्तमा ती महिलासँग श्रीमानलाई एक कल फोन गर्न मोवाइल मागिन्। फोनमा भक्कानिँदै उनले आफू जेलमा परेको कुरा श्रीमानलाई सुनाइन् । परिवारलाई उनी श्रीलंका पुगेको कुरा त थाहा थियो, तर त्यसपछिको खबर पाएको थिएन । उनी जेलमा परेको कुरा कसैलाई थाहा थिएन । होस् पनि कसरी !

आफूलाई जेलबाट छुटाउन पहल गरिदिन उनले श्रीमानसँग रोइकराइ गरिन् । यो गत फागुनको कुरा थियो । श्रीमतीको हाल थाहा पाएपछि उनका श्रीमानले उद्दारका लागि माइती नेपालमा निवेदन दिए।

त्यसको करिब पाँच महिनापछि उनीहरूको उद्दार भयो। माइती नेपाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र श्रीलंका स्थित नेपाली दुतावासले मनकुमारी सहित २५ महिलालाई गत १० असारमा श्रीलंकाको जेलबाट निकालेको थियो। मनकुमारीसँगै जेल परेका अन्य चार नेपाली महिला भने १० महिनाअघि नै जेलबाट निस्किसकेका थिए।

‘जेलमै मर्छु जस्तो लागेको थियो,’ मनकुमारी भन्छिन्, ‘बाँचेर फर्किएँ, अब नेपालमै केही गर्छु ।’

अवैध रोजगारीमा पठाउने दलालका अनेक चोरबाटो

मानव बेचविखनकै शैलीमा खाडी मुलुकहरूमा नेपाली महिलाहरूको ‘सप्लाई’ हुन थालेपछि सरकारले घरेलु कामदारका रुपमा महिलाहरूलाई खाडी पठाउन रोक लगाएको थियो।

पछिल्लो पटक २०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालहरूले ‘चोरबाटो’ समातेका हुन्।

त्यसो त नेपाल–भारतबीच स्थलमार्गबाट आवतजावत गर्दा राहदानीलगायत परिचय नखोजिने भएकाले पनि नेपाली महिलाहरूलाई विभिन्न वहानामा भारत पुर्‍याउन अप्ठ्यरो छैन । दलालहरूले अनेकौं विकल्प खोजेर विभिन्न तहमा ‘सेटिङ’ गरेका हुन्छन्।

दिल्लीस्थित आफन्त नेपालका उद्धार अधिकृत नवीन जोशीका अनुसार नेपाली महिलालाई भारतको कुनै ठाउँमा राखेर खाडीको कुन मुलुकमा, कहिले र कसरी पठाउने भन्ने ‘सेटिङ’ हुने गरेको छ । दलालहरूले दिल्लीलाई नै ‘ट्रान्जिट प्वाइट’ बनाउदै आएका छन्।

दिल्लीको विमानस्थलमा एनओसी माग्न थालिएपछि अप्ठेरोमा परेका दलालहरूले मुम्बइ, हेदरावाद, चेन्नई, जयपुरको विमानस्थल प्रयोग गरेर बंगलादेश, म्यानमार,थाइल्याण्ड, दुवई र धार्मिक पर्यटकका रूपमा श्रीलंका हुँदै खाडीलगायत अन्य मुलुक पु¥याउने गरेको जोशीको भनाइ छ । उनका अनुसार यो रुट प्रयोग गरेर वार्षिक हजार भन्दा महिला तथा किशोरीलाई घरेलु कामदारका रुपमा खाडी लैजाने गरिएको छ।

मानव बेचविखन तथा अनुसन्धान ब्यूरोको तथ्यांक अनुसार २०७५।७६ देखि २०७७।७८ साउन २० गतेसम्म तीन वर्षको अवधिमा तीन सय ६० महिला र बालिकाको उद्धार गरिएको छ । उद्धार हुनेमा एक सय ७२ जना पुरुष छन्।

मनकुमारीसहित गत असारमा सरकारले श्रीलंकाबाट एकैपटक उद्धार गरेको यो सबैभन्दा ठूलो संख्या हो। त्यसको एक महिनापछि २ जना महिलालाई उद्धार गरिएको छ । एक वर्षअघि ४ महिलाको उद्धार गरिएको थियो।

लैजाने रुटको सेटिङ मिलाउन नसक्दा र पक्राउ पर्ने अवस्थामा दलालहरूले महिलाहरूलाई बीच बाटोमै अलपत्र छाडेर भाग्ने गरेको ब्यूरोका प्रवत्ता तथा प्रहरी उपरिक्षक अनुरागकुमार द्विबेदी बताउँछन्। उनका अनुसार पीडित महिलाको विवशता र अज्ञानताको फाइदा उठाउँदै वैदेशिक रोजगारीको आवरणमा महिला बेचबिखन धन्दा चलिरहेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचविखनसम्बन्धी तयार पारेको विभिन्न वार्षिक प्रतिवेदनमा महिलाहरू घरेलु कामका लागि खाडी मुलुक जानुको कारण ‘घरेलु हिंसा’ भएको उल्लेख छ।

प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने महिलामध्ये ८० प्रतिशत श्रीमान् र परिवारबाट पीडित भएको बताइएको छ। श्रीमानले खानलाउन नदिने, कुटपिट गर्ने, छोराछोरीलाई नहेर्ने भएकाले छोराछोरीको भविष्यका लागि उनीहरू विदेश जान बाध्य हुन्छन् । यसको फाइदा दलालहरूले उठाउँछन्। दलालहरूले ‘चोरबाटो’ बाट पठाउँदैछन् भन्ने थाहा हुँदाहुँदै पनि महिलाहरू विदेश जान तयार भएको प्रतिवेदनमा भनिएको छ।

महिलाहरू परिवारको हिंसा र सन्तानको जिम्मेवारीका कारण जोखिम मोलेरै भए पनि विदेशिने गरेका छन् । कति महिलालाई त सरकारको प्रतिबन्धबारे पनि थाहा छैन।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक द्विबेदी पनि घरेलु हिंसाबाट पीडित महिला नै ‘दलाल’को प्राथमिकतामा परिरहेको बताउँछन् । उनी भन्छन्, ‘हिंसाबाट छुटकारा पाउने र पैसा कमाउने लोभले झन् ठूलो जोखिम निम्तिन सक्ने कुरामा महिलाहरू चनाखो हुनुपर्छ।’

वैदेशिक रोजगार विभागका अनुसार, २०५०/५१ सालदेखि २०७७/०७८ साउनसम्म दुई लाख ८३ हजार पाँच सय ८२ महिला श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्, जसमध्ये अधिकांश खाडी मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, कतारमा छन्। यी महिलाहरूले केयर टेकर, क्लिनर, सेल्स, क्याटेरिङ, हाउस मेड, सेक्युरिटी गार्डलगायतका काम गरिरहेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बताउँछन्।

उजुरी गर्दैनन् पीडित

कानूनी जटिलता, बेचबिखनमा आफन्तकै संलग्नता, अशिक्षा र अज्ञानता जस्ता कारण बेचबिखनका मुद्दा कमैमात्र प्रहरीसमक्ष पुग्ने गरेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा गत आर्थिक वर्ष २०७५/०७६ मा बेचबिखनका दुई सय ५८ वटा मुद्दा दर्ता भएको थियो । २०७६/७७ मा दर्ता भएको मुद्दाको संख्या एक सय ३६ मात्रै छ ।०७७/०७८ मा भने एक सय ३४ मुद्दा दर्ता भएका छन्।

ब्यूरोका प्रवक्ता द्विबेदीका अनुसार धेरैजसो बेचबिखनमा संलग्न पीडित र पीडकबीच नातागोता वा चिनाजानी हुने भएकाले पीडित मुद्दा दर्ता गर्न हिच्किचाउँछन् । अर्कोचाहिं पीडित राजीखुशीले विदेश गएकाले पनि मुद्दा दायर गर्दैनन्।

जस्तो कि, यही १० असारमा श्रीलंकाको जेलबाट उद्धार गरिएका २५ महिला मध्ये ५ जानाले मात्रै उजुरी गरेका छन्। उनीहरूले १२ दलालविरुद्ध उजुरी गरेका छन् । त्यसमध्ये हालसम्म एकजनामात्र पक्राउ परेका छन्।

५ फागुन २०७५ मा भारतको मणिपुर र म्यानमार बीचको सीमा मौर्य र इम्फालबाट उद्धार गरिएका एक सय ४६ नेपाली महिलामध्ये कसैको पनि दलालविरुद्ध उजुरी गरेनन् । यो घटनाबाट पनि पीडितहरू मुद्दा दर्ता गर्न हिच्किचाउँछन् भन्ने कुरा बुझ्न सकिन्छ।
(पीडितको नाम परिवर्तन गरिएको छ ।)

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८, ०८:५८:००