NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जसले माधव नेपाललाई उचाल्नुसम्म उचाले अनि थचारे

माधव नेपाललाई ओलीविरुद्ध उकास्ने दोस्रो पुस्ताले साथ नदिनु रहस्यमय

काठमाडौं । नेकपा (एमाले) को विवाद मिलाउन गत २ जेठमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरू सम्मिलित कार्यदल बन्यो । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए भने नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।

कार्यदलले एमालेभित्रको विवाद मिलाएर २ जेठ ०७५ मा फर्काउने खाका तयार पार्ने जिम्मेवारी पाएको थियो । कार्यदल गठन हुनुअघि त्यही दिन नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले भेट गरेका थिए । एउटै पार्टीका रुपमा त्यही भेट नै ओली र नेपालको अन्तिम बनेको छ ।

कार्यदलले १० बुँदे खाका पनि तयार पार्‍यो । तर, त्यसलाई नेपालले स्वीकार गरिदिएनन् । वरिष्ठ नेता नेपालले हिजो २ भदौमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएका छन् । तर, २ जेठमा उनका तर्फबाट कार्यदलमा सम्मिलित ५ मध्ये एक जनाले पनि साथ दिएनन् ।

भनिरहनै परेन, ओली र नेपालबीच एकअर्कामा शत्रुतापूर्ण सम्बन्ध छ । ‘दुश्मन’ सँग वार्ता गर्न गएको टोली उसैसँग सामेल भइदिएको यो घटना राजनीतिक रुपमा दुर्लभ र अपवादपूर्ण बनेको छ ।

विश्लेषक हरि रोकाका अनुसार माधव नेपालका तर्फबाट वार्ता गर्न जाने अनि ओलीकै मान्छे भइदिनेहरूको चरित्रले राजनीतिमा नैतिकता हुन्छ कि हुन्न भन्ने प्रश्न खडा भएको छ ।

खासगरी दुई कारणले उनीहरू ओलीकै पछि लागेका रोकाको ठम्याइ छ । जसमध्ये पहिलो हो, उनीहरूसँग नैतिकता र आदर्श भन्ने नै छैन । नैतिकता नभएकैले प्रतिगमनकारी भनेर लगाएको आरोप ओलीले स्वीकार नगर्दै उनीहरू उनै ओलीको टाँङमुनि छिरेका हुन् । दोस्रो, नयाँ पार्टी बनाउन, नयाँ विचार प्रवाह गर्न चुनौती मोल्नुपर्छ । त्यो चुनौती मोल्ने आँट नभएकाले आफैंले सत्तोसराप गरेका ओलीसँगै टाँसिन पुगेका हुन् ।

‘नेकपा एमालेभित्र माधव नेपाललाई साथ दिँदै आएका दोस्रो पुस्ता भनेर उचालिएका नेता चुनावमा बाहेक अरुबेला ग्रास रुटमा कहिल्यै गएका छैनन् । गाउँमा बसेर किसान, मजदुर, गरिबलगायतलाई कमिटीमा, पद्दतिमा कहिल्यै बसालेनन् । पढ्न भनेर काठमाडौंलगायत सहरमा आएर विद्यार्थी राजनीति गर्दा ह्वात्तै माथी आए । विद्यार्थी संगठनमा काम गरेकाले भाषण गर्न जान्दथे,’ रोका भन्छन्, ‘उनीहरूमा नेताको वरिपरी घुम्ने गणेश प्रवृति हावी भयो । ग्रामीण तहका मानिसहरूका दुःख, कष्टबारे उनीहरूलाई थाहा नै छैन । उनीहरू माथिकाले जे भन्दा रुचाउँछ, त्यही भनिदिने भए । त्यसैले नम्स, भ्यालु नभएका मान्छेलाई पछ्याएर जानु नै उनीहरूको नैतिक पतन हो ।’

नेपाल समूहमा रहेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नयाँ दल दर्ता गर्ने दिन भने नेपालको साथ छाडे । जसमध्ये शाक्य, रावल, भुसाल, भट्टराई र पाण्डे ओली विरुद्ध निकै आक्रामक ढंगले प्रस्तुत हुँदै आएका थिए ।

अझ आश्चर्य त यो छ कि, ओलीसँग नेपालको दूरी फराकिलो हुनुमा उनीहरूकै भूमिका प्रमुख थियो । रावल, भुसाल, भट्टराई र पाण्डेले निकट भविश्यमै एमालेबाटै बढी लाभ पाउने आशमा नेपाललाई धोका दिएका छन् भने शाक्यले नेपालको साथलाई मुख्यमन्त्री पदसँग साटेकी छन् ।

जब कि फागुन ०७४ मा ओलीले नै शाक्यलाई मुख्य मन्त्रीबाट अपमानपूर्वक वञ्चित गराएका थिए । करिब डेड महिना अघि बागमती प्रदेशका तत्कालीन मुख्य मन्त्री डोरमणि पौडेलले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न साथ दिँदै शाक्यले आफूले मुख्यमन्त्री नखाने घोषणा गरेकी थिइन् । नेपालको साथ छाडेको समूहले शाक्यलाई मुख्यमन्त्रीको आसनमा बसाल्नुले ओलीलाई गलाएको अर्थमा त लिएको छ नै, आफ्नो ‘फेस सेभिङ’ को आधार पनि पाएको छ ।

यद्यपि, नेपालको नयाँ पार्टी दर्ता भयो भने उनको सहयोगबिना शाक्य मुख्यमन्त्रीको कुर्सीमा लामो समय बस्न पाउने छैनन् । किनभने बागमती प्रदेशको राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपालको समूहले जसलाई साथ दिन्छन्, उही नै मुख्यमन्त्री चुनिन्छ । तत्काल ओलीकै समर्थनमा मुख्यमन्त्री बने पनि त्यो पदमा टिकिरहन शाक्यले नेपाल समूहलाई साथ दिने योजना बनाएकी जानकारको दावी छ ।

अध्यादेशमा व्यवस्था गरे अनुसार नेपाल अध्यक्ष रहेको दल औपचारिक रुपमा दर्ता भएको २१ दिनभित्र ‘जनप्रतिनिधि’ हरूले स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म एमालेमा नै रहने वा नयाँ पार्टीमा जाने रोज्न पाउँछन् । २१ दिनभित्र एमाले त्यागेर नेपाल नेतृत्वको पार्टी रोजे पनि उनीहरूको पद गुम्दैन ।

कुनै समय विवेकशील साझा पार्टीका प्रवक्तासमेत रहेका पूर्वाधार विज्ञ सूर्यराज आचार्य (विद्यावारिधि) का शब्दमा उनले एमालेभित्र हड्याङ्हुडुङ गर्ने, आफूलाई लागेको कुरा फाटफुट बोलीहाल्ने, सर्वसाधारणले खासै मन नपराउने, सामाजिक छवी राम्रो नभएका एवं एमालेको दोस्रो पुस्तामा दार्शनिक, वौद्धिक जस्तो देखिने, सार्वजनिक रुपमा मिठो बोल्ने, निष्ठा, इमान भएका जस्ता देखिने दुवै पक्षसँग छुट्टाछुट्टै संगत गरेका छन् ।

जसमध्ये दार्शनिक, बौद्धिक जस्तो देखिने, सार्वजनिक रुपमा मिठो बोल्ने, निष्ठा, इमान भएका जस्ता देखिने लोकरिझ्याँईमा रहेकाहरू सबैभन्दा अवसरवादी पाएको आचार्य बताउँछन् ।

‘एमालेको दोस्रो पुस्ताको सार्वजनिक छवि पानीमाथिको ओभानो जस्तो थियो । उनीहरू बाहिर देखिँदा दार्शनिक जस्तो आदर्शका कुरा गर्दथे । तर, वास्तविक उद्देश्य र धरातल अघिल्लो पुस्ताले बनाइदिएको राज्य दोहनको संयन्त्रमै बसेर शक्ति, वैभव आर्जन गर्नु थियो । हिजो २ भदौमा त्यो ढाँटको उद्योग पटापेक्ष भएको मात्र हो,’ आचार्य नेपालवाचसँग भन्छन्, ‘समाजले भरोसा गरेका पात्रहरूको विरोधाभाष शैली र दोहोरो चरित्र पुष्टि भएको छ । यो पात्रहरू चिन्ने अवसरका हिसावले ठिकै हो । तर, दुःखको कुरा चाहिँ के हो भने गलत प्रवृति विरुद्ध कसरी लड्नुपर्छ । आफूलाई कसरी स्थापित गर्नुपर्छ भनेर उनीहरूले मलेसियाका महाथिर मोहम्मदलाई समेत पढेका रहेनछन् ।’

दोस्रो पुस्ता भनिनेहरूले अहिले देखाएको चरित्रले उनीहरूको छवि फेरि उठ्छ जस्तो आफूलाई नलागेको आचार्य बताउँछन् । ‘एमाले पार्टी परिणाम दिनभन्दा पनि राज्य दोहन गर्न मात्र बलियो रहेछ भन्ने केपी ओलीजीको तीन वर्षे शासनले पुष्टि गरेको छ । त्यही एमालेको विरासतमा बस्दा चाँडै र सजिलै राज्य दोहन गर्न सकिन्छ भन्ने दोस्रो पुस्ता भनिनेहरूले देखे,’ आचार्य थप्छन्, ‘त्यसैले उनीहरू आफूले बदनाम र कलंकित भनेको पात्रलाई नै बोकेर एमालेमै टाँसिन पुगेका हुन् ।’

बनिबनाउ संगठन नछाड्ने नीति

यसबेला कमजोर बनेको नै सही, नेकपा (एमाले) मा देशभर चुस्त संगठन सञ्जाल छ । ७७ वटै जिल्लामा आफ्नै पार्टी कार्यालय छ । केन्द्रीय रुपमा पार्टीको खातामा मात्र २० करोड रुपैयाँ भन्दा बढी रकम सञ्चित छ । लुरुलुरु मासिक लेवी तिरिदिने कार्यकर्ताहरूको ठूलो पंक्ति छ । २०४८ सालदेखि नै स्थापित सूर्य चिन्ह छ । तर, माधव नेपालसँग पुरानो विरासतबाहेक केही पनि छैन ।

पार्टी निर्माण गर्न ठूलो आर्थिक जोहो आवश्यक पर्छ । पुरानो र स्थापित पार्टीलाई उद्योगी, व्यापारीहरूले जसरी सजिलै आर्थिक सहयोग गर्छन्, त्यस्तो सहयोग नयाँ पार्टीलाई पक्कै गर्दैनन् । ७७ वटै जिल्लामा नयाँ संगठन सञ्जाल विस्तार गर्नुपर्ने चुनौती उत्तिकै छ । एमाले फुटाएर किन आयौं ? भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन ।

उमेरका हिसाबले केपी ओली उत्तरवयमा चढिसकेका छन् । उनले बढीमा एक कार्यकाल अर्थात् पाँच वर्ष भन्दा बढी पार्टीको नेतृत्व गर्ने अवस्था छैन । त्यसैले ओलीको उत्पीडन बढीमा पाँच वर्ष सहेपछि आफ्नै ढलीमली चल्छ भन्ने बुझाइ नेपाललाई साथ नदिएका दोस्रो पुस्ताको छ ।

एमालेभित्र ओली निकटहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रद्रीप ज्ञवालीलगायत थोरै व्यक्तिसँगको उत्तराधिकारीको दौडमा समीकरण मिलाउँदा आफूहरू चाँडै नेतृत्वमा पुग्न सक्ने निश्कर्ष निकालेको बुझ्न कठिन छैन ।

एमालेभित्रको दोस्रो पुस्ताले आफूलाई अघिल्लो पुस्ताको तुलनामा पारदर्शी, निष्ठावान, दलाल पुँजीवादविरुद्ध लडिरहेको दावी गर्ने गरेको छ । तर, यो पंक्ति कति अवसरवादी र ढोंगी छ भन्ने ठम्याउन उनीहरूको दैनिकीलाई नियाल्दा प्रष्टै बुझ्न सकिन्छ ।

कोरोना–१९ को कारण देखाउँदै करिब एक वर्ष अघि संघीय राजधानीका सबै सञ्चारगृहहरूले श्रमजीवी पत्रकारहरूको गाँस खोसे । त्यसविरुद्ध श्रमजीवीहरू आन्दोलनमा उत्रिए । गाँस खोसुवामा परेका श्रमजीवीहरू बानेश्वरमा रिले अनसनमा बसेका थिए । श्रमजीवीको आन्दोलनलाई ऐक्यवद्धता जनाउन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगे ।

तर, दलाल पुँजीवाद, विचौलिया तत्व मुलुकको मुख्य समस्या हो । यसले श्रमजीवीको श्रमको शोषण त गरिरहेको छ नै, राज्य संयन्त्र कब्जा गरेको छ भनेर व्याख्या गर्ने एमालेका दोस्रो पुस्ताका स्थापित भनिएका कुनै नेताले पनि श्रमजीवी अनसनकारीलाई साधारण सहानुभूतिसमेत दिएनन् ।

संचित नाफा जोगाएर श्रमजीवीलाई जबर्जस्त श्रमबाट बञ्चित गर्ने कुनै पनि मालिकलाई त्यसो नगर्न उनीहरूले दवाव दिएनन् । यसको कारण एउटै थियो, श्रमजीवीको पक्षमा वकालत गरे मालिकबाट सञ्चालित सञ्चारमाध्यमले आफूलाई ठाउँ दिँदैनन् ।

उनीहरूले ठाउँ दिएनन् भने ‘असल, निष्ठावान’ नेताका रुपमा प्रचारित हुन पाइन्न भन्ने डर उनीहरूमा थियो । एमालेका दोस्रो पुस्ताका सबै नेताहरूको ठूला सञ्चार माध्यमका मालिक र सम्पादकहरूसँग मजबुत सम्बन्ध र पहुँच छ । श्रमजीवी पत्रकारलाई साथ दिए मालिक र सम्पादकहरूसँगको त्यो पहुँच टुट्छ भनेर उनीहरू कुना पसेका थिए ।

यति मात्र होइन्, कोभिडले आक्रान्त सर्वसाधारणले प्रताडना पाउँदा पनि उनीहरू मौन नै बसे । राहतको कार्यक्रम ल्याउन न त सरकारलाई दवाव दिए । न कुनै योजना अघि सारे । कोभिड विरुद्धको खोप ल्याउन समेत दवाव दिएनन् । अर्बौका भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा दोस्रो पुस्ताका भनिने नेताहरूले अनियमितकारीमाथि कारबाही हुनुपर्ने माग राखेर एउटा वक्तव्य जारी गरेका छैनन् ।

उनीहरूमाथि छानबिन हुनुपर्ने भनेर ठूलो स्वरले बोल्न समेत हच्किने गरेका छन् । तर, भ्रष्टाचारको कारण के हो ? भनेर कसैले सोध्यो भने सजिलै दलाल पुँजीवादलाई देखाइदिन्छन् । आफूले मन्त्रालय सम्हाल्दा उनीहरू कसैले पनि राम्रो काम गरेको पहिचान स्थापित गर्न सकेका छैनन् । त्यसैले उनीहरू भइरहेको एमालेमै रजगज गरेर खाने योजनामा नेपालका पछि नलागेका सहजै बुझ्न सकिन्छ ।

एमाले निकट अनेरास्ववियुका पूर्व उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालका भनाइमा नेपालका पछि रहेका दोस्रो पुस्ताका नेताहरूले अन्तिममा उनलाई साथ नदिनुमा एमाले पार्टी केपी ओली एक्लैले बनाएको होइन, ओली आजीवन पार्टीमा रहने पनि होइनन्, त्यसैले ओलीलाई एमाले छाडिदिएर अर्को पार्टी गठन गर्नु हुन्न भन्ने हो ।

‘उहाँहरूलाई २०५४ मा त्यत्रो एजेण्डा लिएर विभाजित भएको नेकपा माले स्थापित भएन । अहिले त एजेण्डा पनि ठूलो छैन । सामान्य इस्युमै फुटेर अर्को पार्टी बनाउन सकिन्न भन्ने पनि लागेको होला,’ लम्साल भन्छन्, ‘त्यसमाथि प्रतिगमन हार्‍यो । जसले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्न दिएका थिएनन्, अहिले उनैको प्रस्तावमा शाक्य मुख्यमन्त्री बनिन् । त्यसैले ओलीसँग भित्रै बसेर लड्नुपर्छ भनेर पनि दोस्रो पुस्ताका नेताले नेपाललाई साथ नदिएका होलान् ।’

राजेन्द्र विमल (विद्यावारिधि) जनकपुरका बसेर बौद्धिक कर्ममा सक्रिय विश्लेषक हुन् । उनै विमलका शब्दमा मूल्यमा आधारित राजनीति नगर्ने, सत्ता र शान प्राप्तिका लागि आफूले एकछिन अघिसम्म एकदमै घृणा गरेको पात्रसँग पनि मिल्न तयार हुने अवसरवादी चरित्रका कारण एमालेको दोस्रो पुस्ताका पात्रहरूले नेपाललाई साथ नदिएका हुन् ।

‘राजनीतिमा स्थायी शत्रु र मित्र हुन्न भन्ने भनाइ हाम्रो देशमा हुबहु लागू भइरहेको छ । एमालेको दोस्रो पुस्तामा पनि चपाउँने र देखाउँने दाँत फरक–फरक छ । एमालेको दोस्रो पुस्तालाई जनताले उनीहरूकै सामुन्ने केही भन्न नसक्लान् । तर, उनीहरू सबैको चरित्र उदांगो भएको छ,’ विमल नेपालवाचसँग भन्छन्, ‘एमालेको दोस्रो पुस्ता पनि सिद्धान्त, विचार अडान लिने पक्षमा छैन । गुटबन्दीभित्र पनि गिरोहमा रमाउन थालेको छ । त्यसैले उनीहरू वचन र व्यवहारमा पक्का हुन नसकेका हुन् । वचन र व्यवहारमा पक्का नहुने चरित्र मुलुकका लागि ठूलो त्रासदी हो ।’
सम्बन्धित समाचार

ओली र नेपालतिर नलागेका एमालेका यी ९ नेताको राजनीति : तेस्रो धार कि अवसरवाद ?

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८, १७:५७:००