NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘फ्रान्स त पृथ्वीनारायण शाह र भीमसेन थापाले नै चिनिसकेका थिए’

पुरानो मित्र फ्रान्सबाट धेरै सिक्न सक्छ नेपालले

नेपालभन्दा फरक देश हो– फ्रान्स । तर, त्यहाँको कृषि र पर्यटन नेपालका लागि एउटा ‘स्कुल’ हुन सक्छ । गहुँ र जौ उत्पादन अनि गाई पालनमा त्यहाँ प्रयोग भइरहेको पद्धति र प्रविधि सिको गर्न लायक छ ।

अनि, फ्रान्सको प्रमुख आम्दानीको स्रोत हो– पर्यटन । नेपालले पर्यटनका सन्दर्भमा फ्रान्सलाई गुरु मान्न सक्ने आधार छँदै छन् । मोहनकृष्ण श्रेष्ठ १६ जुन २०१० मा त्यही देश पुगे, एघारौं आवासीय राजदूतको जिम्मेवारी लिएर ।

सरकारी सेवामै जीवन बिताएका उनका बुवालाई पनि युरोपका प्रमुख देश फ्रान्स तथा जर्मनीबारे निकै ज्ञान थियो । आफ्नो ज्ञान छोरालाई सुनाइराख्थे । त्यसबाट पनि उनलाई फ्रान्सबारे प्रशस्तै जानकारी मिलेको थियो ।

काठमाडौंको असननजिकै त्यौडमा जन्मिएका श्रेष्ठलाई पेरिस उडिहरँदा नौलो अनुभव भने भएको थिएन । विभिन्न सन्दर्भमा पाँच–छ पटक पुगिसकेको ठाउँ थियो । त्यसबेला मात्रै फरक थियो– जिम्मेवारी ।

फ्ल्यासब्याकदेखि फ्रान्ससम्म
पढाइमा अब्बल श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०३८ सालमा उनले लोकसेवा आयोगबाट प्रशासनको शाखा अधिकृतमा नाम निकालेका थिए । त्यहीबेला उनको मनमा परराष्ट्र सेवामा जाने रहर भने पैदा भइसकेको थियो । त्यसैले ०३९ सालामा परराष्ट्र सेवाको लागि जाँच दिए ।

६ चैत्रमा उनको सपना साकार भयो, उनी परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतको रूपमा प्रवेश पाए । उनलाई सम्झना छ– लोकसेवामा दुवै पटक उनको नाम पाचौं नम्बरमा निस्किएको थियो ।

समयक्रममा उनले जापान, थाइल्यान्ड र यूनाइटेड अरब इमिरेट्स (यूएइ)का नेपाली दूतावासमा काम गरे । नेपाली र नेवारी भाषा आफ्नै भाषा भइहाल्यो । त्यसै क्रममा उनले हिन्दी, अंग्रेजी, जापनिज, फ्रेन्च तथा स्पेनिस भाषामा दखल बनाए । ३१ वर्षे परराष्ट्र सेवामा उनी सबै महादेश पुगे, ७४ मुलुकको भ्रमण अवसर पाए ।

नेपाल सरकारले उनलाई सन् २०१० को फेबु्रअरी महिनामा फ्रान्सका लागि आवासीय राजदूत नियुक्त गर्यो । त्यसका साथै ग्रीस, मोनाको, पोर्चुगल र स्पेनका लागि गैरआवासीय राजदूत तोक्यो । साथै, उनी संयुक्त राष्ट्र संघअन्तर्गत पेरिसमा रहेको युनेस्कोका लागि स्थायी प्रतिनिधि पनि बने ।

उनी भन्छन्, ‘परराष्ट्र सेवामा लामो समय काम गरेको अनुभव थियो नै । राजदूत नियुक्त भएपछि नेपाल र सम्बन्धित देशबीच सम्बन्ध थप सुमधुर एवं बलियो बनाउन झन् बढी उर्जा पाएको महसुस भएको थियो ।’
फ्रान्सका लागि पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ

प्रक्रिया पार गर्दै पेरिस
परराष्ट्र सेवामा कार्यरत अधिकृत सह–सचिवको तहमा पुगेपछि राजदूत पदमा नियुक्ति हुन योग्य मानिन्छ । विदेशस्थित नेपाली राजदूतावासमा परराष्ट्र सेवाका ५० प्रतिशत र अन्यबाट ५० प्रतिशत नियुक्ति गर्ने एकप्रकारले नियमजस्तै बनेको छ । ठ्याक्कै ५० प्रतिशत हुन्छ भन्ने त छैन, तर अनुपात यसकै आसपास हुन्छ ।

राजदूतले विदेशमा आफ्नो देशको हित प्रबद्र्धन गर्नुपर्ने हुँदा सदाचारयुक्त पृष्ठभूमि र अन्तर्राष्ट्रिय कूटनीति बुझेको हुनु जरुरी हुन्छ । अन्तर्राष्ट्रिय कूटनीति क्षेत्रका व्यक्तित्वबारे अध्ययन गर्ने हो भने धेरैजसो परराष्ट्र सेवाकै उच्च पदस्थहरू राजदूत भएको पाइन्छ ।

नेपालको सन्दर्भमा परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त हुन योग्यता पुगेका व्यक्तिको फेहरिस्त तयार पार्छ । सचिव र परराष्ट्रमन्त्रीमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिन्छ । त्यहाँबाट पास भएपछि संसदीय सुनुवाइको लागि पठाइन्छ । त्यहाँ प्रस्तावित राजदूतको उमेद्वार आफैं उपस्थित भई आफ्नो कार्ययोजना प्रस्तुत गरी उठेका प्रश्नको जवाफ दिनुपर्छ । त्यसपछि एग्रिमो (सहमती)का लागि सबन्धित देश (होस्ट कन्ट्री)मा पठाइन्छ । त्यहाँबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ । यो सबै प्रकृया सम्पन्न हुन दुईदेखि चार महिना लाग्न सक्छ ।

यही प्रक्रिया पार गर्दै फेब्रुअरीमा राजदूत नियुक्त भएका मोहनकृष्ण जुनमा पेरिस पुगे । त्यहाँ रहेका नेपाली नागरिकको हक–हितलाई ध्यानमा राख्दै सेवा–सुविधा बढाउने र सुरक्षित रोजगारीको पहल गर्ने प्रतिबद्धता उनको थियो ।

पेरिसमा गरिएका प्रयत्न
फ्रान्सका लागि राजदूत भएर प्लेनमा उडिरहँदा श्रेष्ठको मनमा थियो– एउटा मिसनमा जाँदै छु, मेरो काँधमा धेरै जिम्मेवारी छ ।

सघन सोचाइ र उत्सुकताको रोमाञ्च थियो यात्राभर मस्तिष्कमा । तर पेरिस पुगेपछि उनलाई दिक्क लाग्यो । उनी सम्झन्छन्, ‘नेपाली राजदूतवासको अवस्था र भौतिक संरचाना देख्दा दिक्क लाग्यो ।’

पहिलो कुरा त फ्रान्समा १० वर्षको अवधिमा दुई पट्क गरी छ वर्षसम्म राजदूत पद खाली थियो । कार्यवाहक गर्न सक्ने सीमित कामले नै धानिएको थियो । २ जुलाइ २०१० मा उनले त्यहाँका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र बुझाए ।

फ्रान्स नेपाल भन्दा पाँच गुणा ठूलो अनि अति विकसित देश । श्रेष्ठले ‘नोटिस’ गरेको कुरा सम्झिए, ‘अरू कुरा त छाेडाैं, चिजमात्र चार सय प्रकारका उत्पादन हुँदोरहेछ ।’ फ्रान्समा राजदूत हुँदा उनले बुझे– फ्रान्सेलीहरू नेपाल र नेपालीलाई धेरै माया गर्छन् । फ्रान्सेलीहरू हिमाल आरोहण गर्न रुचाउँछन् । लामो समयदेखि दुई देशबीचको सम्बन्ध प्रगाढ थियो नै । तथापि गर्न बाँकी धेरै काम थिए ।

‘धेरै काम पेन्डिङ थिए । त्यहाँ पुगेपछि सबै टिमसँग मिलेर सकेसम्म नेपालको हित हेर्दै कूटनीतिक, व्यापारिक र सांस्कृतिक पक्षको प्रबद्र्धनका लागि काम गरें’, उनी भन्छन्, ‘त्यसका लागि स्थानीय निकायहरूसँग मिलेर काम गरेँ । फ्रेन्च भाषा पनि सामान्य आउने भएकाले कार्य सम्पादन गर्न केही सहज नै भयो । फ्रान्समा रहेका नेपाली, सम्बन्धित संघसंस्थाका साथै गैर आवासीय नेपाली संघ (एनआरएनए)सँग निरन्तर सम्पर्कमा रहेर सहकार्य गरेँ ।’

फ्रान्सका विभिन्न शहरका मेयरसँग मिलेर छलफल गरेर दुई देशबीचको सम्बन्ध बढाउने खालका कार्यक्रम गर्नुलाई उनी आफ्नो कार्यकालको सफल कार्यमध्ये मान्छन् । त्यसैगरी नेपालका साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता तथा नेपालको अन्य रोचक पक्ष प्रचार–प्रसार गर्नमा श्रेष्ठले समय खर्च गरे ।

भन्छन्, ‘कूटनीतिक समुदायसँग निकट सम्बन्ध राखेर नेपालको पर्यटन र अन्य पक्षलाई बढावा दिएँ । समग्रमा चार वर्षे कार्यकालमा मैले सकेको र स्रोतसाधनले भ्याएसम्म आफ्नो देशको हित प्रबद्र्धन गर्न हरतरहले प्रयास गरेँ ।’

त्यस्तै नेपाली राजदूत निवास भवनको जिर्णोद्वार पनि उनको कार्यकालमा भएका राम्रा कामको सूचिमा राख्छन् उनी । उक्त भवन सरकारले ३ जुलाइ १९७९ मा खरिद गरेको थियो । तर समयमा नै जिर्णोद्वार नहुँदा काम नलाग्ने अवस्थामा पुगिसकेको थियो । श्रेष्ठले त्यसलाई मर्मत गराएर उपयोग गर्न सकिने अवस्थामा पुर्याए ।

त्यसो त उनको जिम्मामा ग्रीस, मोनाको, पोर्चुगल र स्पेन पनि थियो । गैरआवासीय राजदूतका हैसियतमा उनले ती देशसँग नेपालको सम्बन्ध विस्तारका लागि काम गरे ।

कृषिमा पद्धति र प्रविधि, नेपालले फ्रान्सबाट सिक्नै पर्नेछ । पर्यटकलाई पल्काउने कलामा पनि फ्रान्स माहिर छ । त्यहाँको अभिलेख राख्ने प्रणाली हाम्रा सरकारी कार्यालयले सिके त धेरै फरक पथ्र्यो सेवामा । नागरिकलाई राज्यले गर्ने व्यवहार त झन् सिक्न लायक हुने नै भयो ।

फ्रान्स–नेपाल कनेक्सन
त्यतिबेला फ्रान्समा करिब चार हजार नेपाली थिए त्यसबेला । उच्च शिक्षाका लागि गएका विद्यार्थी, व्यापार–व्यवसायमा संलग्न व्यक्ति र वैवाहिक सम्बन्ध जोडेकाहरू । केही नेपाली त फ्रान्सको टेलिकम कम्पनीमा कार्यरत पनि थिए ।

फ्रान्सको प्रहरी सेवामा केही सय नेपाली रहेका छन् । त्यहाँ काम पाउन क्षमताबाहेक अरू कुनै कुराले काम गर्दैन । आम्दानीमा कर धेरै लगाइन्छ तर बुढेसकालमा राज्यले राम्रो हेरचाह गर्छ । सामाजिक सुरक्षाअन्तर्गत निश्चिन्त जीवन जिउन सकिन्छ । श्रेष्ठले अनुभूत गरे कि त्यहाँ रहेका नेपालीका समस्या पनि नगन्य नै छन् ।

२० अप्रिल १९४९ मा नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको हो। नेपालमा फ्रान्सको राजदूतावास सन् १९६७ र फ्रान्समा नेपाली दूतावास १९६५ मा स्थापना भयो । तर, त्यसअघि नै दुई देशबीच सम्बन्ध बनिसकेको थियो ।
श्रेष्ठ भन्छन्, ‘पृथ्वीनारायण शाहले फ्रान्सबाटै सैनिक विशेषज्ञ बोलाई आफ्नो सेनालाई तालिम दिन लगाएको र साना हतियार उत्पादन गरेको इतिहास भेटिन्छ । प्रधानमन्त्री भीमसेन थापाले पनि फ्रान्सका सैनिक विषेशज्ञ झिकाइ नेपाली सैनिकलाई तालिम दिलाएका थिए । १५ अगस्ट १८५० देखि १० अक्टोबरसम्म प्रधानमन्त्री जंगबहादुरले फ्रान्स भ्रमण गरेको इतिहास छ ।’ उनका अनुसार फ्रान्सको मुलुकी ऐनको नेपालले अनुसरण गरेको देखिन्छ ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा करिब पाँच दशकअघि नै फ्रान्सेली विद्वान सिल्भा लेँभीले ‘ल नेपाल’ भन्ने पुस्तक लेखेका थिए । पुस्तकका कारण त्यसबेला नै नेपालबारे विश्वमा प्रचार–प्रसार भएको मानिन्छ ।

हिमाल अन्नपूर्णमा मानव पाइला प्रथमपटक राख्ने आरोही मौरिस हर्जोग पनि फ्रान्सकै थिए । ३ जुन १९५० मा अन्नपूर्ण आरोहणपछि उनले ‘ल अन्नपूर्ण’ नामक पुस्तक प्रकाशन गरे । उक्त पुस्तक फ्रेन्चबाहेक अन्य १७ भाषामा प्रकाशित भएकाले नेपालको प्रचार–प्रसारमा धेरै सहयोग पुगेको श्रेष्ठ बताउँछन् ।

फ्रान्सबाट हवाइजहाज, हेलिकप्टर, केमिकल्स, भ्याक्सिन, औषधी, डेरी आइटम्स, ह्विस्की, वाइनका साथै औद्योगिक कच्चा पदार्थ नेपाल आयात गरिन्छ । त्यस्तै नेपालबाट पस्मिना, हस्तकलाका सामान, कफी, चियालगायत सामान निर्यात भइरहेको र अझ बढाउन सकिने श्रेष्ठको आँकलन छ ।

फ्रान्सले अहिले नेपाललाई सिधै सहयोग नगरे पनि युरोपियन युनियनमार्फत विकास निर्माणमा लगानी गर्न सक्ने श्रेष्ठ बताउँछन् ।

धेरै सिक्न सकिन्छ फ्रान्सबाट
कृषि र पर्यटनमा त भइहाल्यो, अन्य धेरै कुरा नेपालले फ्रान्सबाट सिक्ने श्रेष्ठले देखेका छन् ।

‘त्यहाँ हरेक अफिसियल कुरा लिखित चाहिने ! नेपालको सरकारी कार्य सम्पादनमा सिक्नै पर्ने कुरा हो यो । यदि सबै कुरा लिखित भयो भने कोही व्यक्ति रहे पनि, नरहे पनि अभिलेख रहिरहन्छ’, उनी भन्छन्, ‘उनीहरू समयसीमा र नियमलाई एकदमै मान्छन् । त्यसैले होला फ्रान्सको छिट्टै विकास भएको ।’

पर्यटनमा भनाइ छ नि– एक पटक नै पूर्ण हुँदैन अर्थात ‘वान्स इज नट इनफ’ । श्रेष्ठले पर्यटकलाई फेरि आउने बनाउने कला फ्रान्सेलीमा अनुकरणीय देखे । त्यसबाट नेपालले धेरै सिक्न सक्ने उनी बताउँछन् ।

र, अन्त्यमा
फ्रान्सका लागि एघारौं आवासीय र ग्रीस, मोनाको, पोर्चुगल र स्पेनका लागि गैरआवासीय राजदूतका रूपमा काम गरेको समय श्रेष्ठका लागि पनि अविस्मरणीय रह्यो । उनी भन्छ्न्, ‘तीन दशकको कुटनीतीक सेवामा रहदा जहा–जहा रहेँ, हृदयबाटै काम गरेँ । फ्रान्स त्यसमध्येको एउटा सुन्दर अनुभव हो ।’

त्यसो त, उनले कूटनीतिक सेवाका क्रममा गरेका अनुभवलाई किताबमा उतारेका छन्– ‘कूटनीतिमा तीन दशक’ शीर्षकमा ।
भन्छन्, ‘धेरै अनुभव त त्यसमा अभिव्यक्त गरेको छु । कूटनीतिक अनुभव तथा काम निरन्तर जारी राख्न मैले सेवाबाट बाहिर निस्केपछि कुटनिती र सेवा भन्ने संस्था स्थापना गरेर साढे तीन वर्षदेखि काम गरिरहेको छु ।’
०००

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८, ०९:१५:००