NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बेथितिमाथि निगरानीका लागि नयाँ प्रयोगको प्रस्तावना

सन् २०१९ को अन्त्यमा देखिएको कोभिड–१९ महामारीबाट नेपाल अछुतो रहेन । यसबाट राज्यका सबैजसो क्षेत्र प्रभावित बने । यही प्रतिकूल परिस्थितिमा हामीले नेपालवाच डटकमको यात्रा तय गरेका थियौं । जुन साँच्चै दुस्साहसी निर्णय थियो ।

हुनलाई हाम्रो प्रवेशपूर्व नेपालमा अनलाइन मिडिया नभएका होइनन् । तर हामीलाई सधैं बढ्दो बेथिति र कुशासनको निगरानी गर्ने दायित्वबोध महसुस भइरह्यो ।

त्यसैले ‘बेथितिमाथि निगरानी’ नाराका साथ जन्मियो–नेपालवाच डटकम ।

एकातिर कोरोना महामारी, अर्कातिर त्यसले आर्थिक क्षेत्रमा निम्त्याएको मन्दी । साँच्चै हाम्रा अगाडि चुनौतीका पर्खाल खडा थिए ।

पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सी, हाम्रा शुभेच्छुकका कारण यो चुनौतीको पहाड पार गर्न मात्र हामी सफल भएका छैनौं, सयौं वर्ष यात्रा गर्ने हिम्मतसमेत हामीले बटुलेका छौं ।

नेपालवाच डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा सबैभन्दा पहिले हामी सबै–सबैमा हार्दिक आभार एवं शुभकामना व्यक्त गर्न चाहन्छौं । अनि यस्तै साथ, सदभाव र सहयोगको पनि अपेक्षा गर्दछौं ।

यो एकवर्षे दौरानमा कैयौं मुद्दामा नीतिगत तहमै हस्तक्षेप सम्भव हुँदा अनेकौं हण्डर–ठक्कर भोग्नुपर्‍यो। तथापि, हामी विचलित भएनौँ। बरु, यो एक वर्षको भोगाइ, बुझाइ र सहकार्यबाट हामीले आफ्नो लक्ष्य र पाठकप्रतिको उत्तरदायित्वलाई थप परिस्कृत र स्पष्ट बनाएका छौँ।

अझ भनौं, करिडोरमा पसेका हामी अहिले राजमार्गमा पुगेका छौँ । बाटो चौडा भएको छ । तर हामी सावधानीपूर्ण यात्राका लागि उत्तिकै सचेत छौँ।

राज्य संयन्त्र र त्यसमा रहेका अधिकारीहरूबाट लुकाउन खोजिएका वेथितिका घटना उधिन्नु, त्यसको सत्यतथ्य केलाउनु र नागरिकले बुझ्ने भाषामा त्यसलाई प्रस्तुत गर्नु आफैँमा जटिल काम हो। पत्रकारितामा हुनुपर्ने त्यही जटिल कामलाई हामीले आफ्नो गन्तव्य बनाएका छौँ।

गहन मुद्दामा पत्रकारिता गर्ने हाम्रो रुचि र मिसन दुवै हो । यसका लागि हामीले संस्था र जनशक्तिलाई त्यही किसिमले विकसित गर्दै लगेका छौँ।आग्रह–पूर्वाग्रहलाई हामीले सकेसम्म टाढा राखेर काम गर्यौं, जुन हाम्रो शक्ति बन्यो ।

बितेको एक वर्षमा राज्यकै निकायहरूबीच बेथिति लुकाउन हुने लेनदेन, न्यायालयभित्रको भ्रष्टाचार अनि कतिपय राजनीतिक मुद्दामा विदेशी दूतावाससँग राजनीतिक नेतृत्वको अस्वभाविक साँठगाँठविरुद्ध हामीले खरो प्रश्न उठायौं।

हामीले राजनीतिक नेतृत्वको अस्वाभाविक आम्दानी र जीवनशैलीमा प्रश्न उठायौं। सामाजिक अभियानको भेषमा भएका बेथितिमाथि एकपछि अर्को प्रश्न उठायौँ र समाचारमार्फत नै उनीहरूलाई आफ्नो कामप्रति जिम्मेवार र स्रोतप्रति पारदर्शी बन्न दबाब दियौं। बेथितिको अध्याय यही टुंगिदैन। देशमा यीलगायत जे–जस्ता बेथिति मौलाइरहेका छन्, त्यसबारे नागरिकलाई सूचित गराउनु हाम्रो मुख्य दायित्व हो। यसबाट कहिल्यै पछि नहट्ने दृढता वार्षिकोत्सवको अवसरमा दोहोर्‍याउन चाहन्छौं ।

एक वर्षको अनुभवबाट हामीले दुई निष्कर्ष निकालेका छौँ । पहिलो, सेवा प्रवाहका लागि राज्यबाट जति पनि संरचना खडा गरिएका छन्, ती संरचना एवं निकायको जरासम्म भ्रष्टाचार, अनियमितता र अपारदर्शिता मौलाएको छ। त्यहाँभित्रका बेथिति सञ्चार–संस्थाले उधिनेर मात्रै सुशासन कायम हुने स्थिति छैन।

हाम्रो दोस्राे निष्कर्ष छ, राज्यका निकायभित्र हुने भ्रष्टाचारविरुद्ध लड्दा निजी क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध पनि सँग–सँगै लड्नुपर्छ। कैयौ यस्ता आर्थिक अपचलनका मुद्दा छन्, जहाँ राजनीति नेतृत्वसँगै निजी प्रतिष्ठान वा व्यापारिक घराना जोडिएका छन्।

ती कार्यालय सञ्चालन गर्न बनेका नीतिमा सुधारबिना जति ठूलो स्वरमा चिच्याउँदा पनि सुशासन कायम कठिन हुन्छ। सचेत जनतासँगै उत्तरदायी राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रबाट मात्र हामी ‘राम राज्य’ को परिकल्पना गर्न सक्छौँ ।

स्पष्ट छौं– हाम्रा विद्यमान अधिकांश नीतिहरूमा बहस र सुधारको खाँचो छ। यही निष्कर्षसहित हामीले ‘नेपाल नीति सम्मेलन–२०७८’ को सुरुवात गरी हाम्रा विद्यमान नीतिमाथि बहसको थालनी गरेका छौँ । प्रथम वार्षिकोत्वमा हामीले राष्ट्रिय नीतिहरूमाथि समीक्षा गर्ने विषय छान्यौं। आगामी एक वर्षसम्म हामीले हरेक साता राज्यका नीतिहरूमाथि यस्तै बहस गर्नेछौं। हाम्रो उद्देश्य नीतिगत सुधारबाट सुशासनका लागि योगदान गर्नु हुनेछ।

हाम्रो दोस्राे निष्कर्ष छ, राज्यका निकायभित्र हुने भ्रष्टाचारविरुद्ध लड्दा निजी क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध पनि सँग–सँगै लड्नुपर्छ। कैयौ यस्ता आर्थिक अपचलनका मुद्दा छन्, जहाँ राजनीति नेतृत्वसँगै निजी प्रतिष्ठान वा व्यापारिक घराना जोडिएका छन्।

यसकारण राज्यका संरचना र जनताप्रति उत्तरदायी बन्ने गरी लाइसेन्स प्राप्त नीति निर्माण गर्ने तहको अघोषित साठगाँठमाथि पनि निगरानी जरुरी छ । त्यसका लागि हामी आमपाठकसँग सूचना संकलनमा सहकार्यको कोसिस गर्ने योजनामा छौं ।

निजी क्षेत्रबाट हुने कर छली, गलत काम गराउन सरकारी कर्मचारीसँग हुने अवैध लेनदेन र सम्बन्धित कम्पनीभित्र विभिन्न रूपमा हुने अनियमिततालगायतका सूचनामा हामीले सहकार्यको नीति लिन खोजेका छौँ। यस्ता सूचना नेपालवाच डटकमको पहुँचसम्म पु¥याउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछौँ।

सुशासन वृद्धिका लागि सूचना प्रवाहलाई प्रोत्साहन गर्न हामीले तपाईंले उपलब्ध गराएको सूचनाको मूल्य तिर्ने नयाँ प्रयोग गर्न चाहेका छौं। तपाईंले उपलब्ध गराउनु भएको सूचनाको स्रोत गोप्य राख्नु हाम्रो कर्तव्य हुनेछ। स्रोतको गोपनीयता कायम राख्ने कुरामा हामी प्रतिबद्ध छौं । यस्तो प्रयोगपूर्व हामीले यसका जटिलता र सम्भावनाबारे पत्रकारिताका विज्ञसँग परामर्श गर्नेछौं र सूचनादातालाई कुनै अप्ठ्यारो नहोस् भन्ने कानूनी पक्षमा पनि उत्तिकै सचेत रहनेछौँ ।

२१औं शताब्दीमा कैयौं देशले समाजवादी र जनताप्रत्ति उत्तरदायी राज्य व्यवस्था लागू गरेका छन्। तर हामी अनेकौं बेथितिको महासागरमा डुबिरहेका छौँ। महासागरबाट उम्केर सुशासन, पारदर्शीता र भ्रष्टाचारमुक्त राज्य संयन्त्र निर्माण सहज छैन। तर देशमा जे–जस्ता बेथिति भइरहेका छन्, त्यसलाई थाहा पाउनु जनताको अधिकार र कर्तव्य दुवै हो। जनताको यही अधिकार सुनिश्चित गर्ने प्रयासमा हामी निरन्तर लागिरहने प्रण पाठकसमक्ष दोहोर्‍याउँछौं ।

हाम्रो प्रतिबद्धता छ– आत्मविश्वास र निष्ठामा कमी आउन नदिई समाजप्रति सदैव उत्तरदायी रहनेछौं। हाम्रो मनोविज्ञान छ– आइपर्ने उकाली–ओराली र समस्याहरू कुशलतापूर्वक हल गर्दै हरेक असामान्य परिस्थितिको सामना गर्न तयार छौं।

जनताको अभिभावक राज्य हो। अहिलेको विषम् अवस्थामा जनताले राज्यको थप अभिभावकत्वको अपेक्षा गरेका छन्। तर राज्यले अभिभावकीय भूमिका निभाउन सकिरहेको छैन। सबैभन्दा ठूलो समस्या राज्यसँग उत्तरदायित्व र जवाफदेहिताको अभाव छ। जनताले बुझाएको करको पारदर्शी खर्च छैन। बेथिति कहाँ मात्र छैन ? वडा कार्यालयदेखि न्यायालयसम्म यसले संस्थागत रूप लिइसक्यो । अधिकारको विकेन्द्रीकरणसँगै बेथिति पनि तलतल पुगेकै छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भर्खंरैको प्रतिवेदनले भ्रष्टाचार मौलाएको डरलाग्दो तस्बिर देखाएकै छ।

बेथितिको नियन्त्रण गर्ने निकायलाई राजनीतिक स्वार्थपूर्तिका लागि कमजोर बनाइँदैछ। राजनीतिक नेतृत्वमाथि प्रश्नैप्रश्न छन्। कर्मचारीतन्त्रको छवि धूमिल छ। जनतालाई विश्वास दिलाउने संयन्त्रको अभाव छ। यस्तोमा सही र तथ्यपरक सूचनाले मात्रै जनताको आत्मबल बढाउन सम्भव छ। राज्यलाई उत्तरदायी बनाउन यस्तै भूमिका पूरा गर्ने सञ्चार जगतको खाँचो छ। यही भूमिका र खाँचो पूरा गर्ने प्रयासमा नेपालवाच हरपल रहनेछ।

जनतालाई सुसूचित गर्ने र राज्यलाई जवाफदेही बनाउनु नै हाम्रो प्रमुख दायित्व ठानेका छौं। आगामी दिनमा राज्यका हरेक निकायमा हुने बेथितिमाथिको निगरानी र पर्दाफासलाई हामीले प्राथमिकता दिनेछौं। बढेको नीतिगत भ्रष्टाचारमा हाम्रो सुक्ष्म निगरानी रहने नै छ ।

पत्रकारिताका स्थापित असल मान्यतालाई पछ्याउँदै नयाँ मानक स्थापित गर्दै हामी यो यात्रामा अघि बढेका हौं । यात्रामा आइपर्ने हरेक चुनौती पाठकको बल र हाम्रो खोजबाट नै सामना गर्नेछौं। तर, हामी कहिल्यै पनि कुनै पनि मुद्दामा आफैं न्यायाधीश बनेर फैसला गर्नेछैनौं मात्र अवस्था देखाउँछौं। सदैव जनताका पक्षमा उभिन्छौँ। यो प्रतिज्ञा फेरि पनि दोहोर्याउन चाहन्छौं।

हाम्रो प्रतिबद्धता छ– आत्मविश्वास र निष्ठामा कमी आउन नदिई समाजप्रति सदैव उत्तरदायी रहनेछौं। हाम्रो मनोविज्ञान छ– आइपर्ने उकाली–ओराली र समस्याहरू कुशलतापूर्वक हल गर्दै हरेक असामान्य परिस्थितिको सामना गर्न तयार छौं। समग्रमा हामीले नेपालको पत्रकारितामा अलग पहिचान बनाउने उद्देश्य लिएका छौं। त्यसैले हामीले नारा दिएका छौँ– बेथितिमाथि निगरानी ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८, १२:३९:००